कला

कू

लघुकथा

समाज रूपान्तरणले मन उलटपुलट थियो। विगतको सङ्घर्षलाई परिवर्तनले आधोपान्त सम्झे, ‘अब हाम्रा दिन पनि फिर्ने भए हगि?’ 

यही सोचाइमा उनी एकोहोरिएका थिए।

‘हैन हो परिवर्तनजी, पारिलो घाममा के सोचेर बसेको हँ?’ झुक्कल छल स्वरूपमा देखापरे।

‘हेर्नुस् तपाईहरूले गर्नसम्म गर्नुभयो। अहिले भने आकाश फाटेकाले आफ्नै माटोमा सुखको सास फेर्न पाइन्छ कि!’ परिवर्तन मुस्कुराए।

‘फेर्यौ सुखको सासस हामी नतातेर हो। तातत्यौं भने सेलाउँदैनौं नि! थाहा छैन टाउकोको मूल्य तोकेको!’

कताकता अधिकार तुहाउन खेलेको भूमिका झुक्कलको अनुहारमा देखिन्थ्यो। ‘नपत्याउने खोलाले बगायो, अब सुरु हुन्छ खेल’ भनी जाल बुन्ने सरजाम मानसिक रूपमा तयार गर्न लागे। केके काण्ड, सन्धिसम्झौता, नीतिगत योजना फत्तेबाट आर्जित राशि प्रयोग गर्ने सुरले त्यहाँबाट निस्के। उनले अब मुख्य मालिकसँग कुरा गर्ने अनि मालिकको निर्देशन अनुसार घरबाहिर चहार्दै हिंडेर आफ्नो साख फर्काउने ध्याउन्न गर्न थाले।

उनी गहन सोचाइमा थिए। अकस्मात मुख्य मालिकको फोन गरे, ‘झुक्कलजी, हाम्रो कर्तुत बाहिर आउनै लाग्यो, अब के गर्ने? छिट्टै ठुलाघरे हजुरबासँग भेट्ने काम गरौं, तुरुन्त फोन गर्नुस्।’

झुक्कल चिल्लो ‘खुकार चढी कुद्नै लाग्दा स्वाँस्वाँफ्वाँफ्वाँ गर्दै आएका चिचिलान्ते र भिजिलान्ते कराए, ‘झुक्कल साहेब, हाम्रो पोल खुल्नै आँट्यो अब त सत्ता कू गर्ने समय आएन र!’

प्रकाशित: ११ माघ २०८१ १२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App