कला

फिल्म हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बेच्न नपाइने

फिल्म हलभित्र खाद्य तथा पेय पदार्थलाई अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) भन्दा बढीमा बिक्री गर्न नपाइने भएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता डिकबहादुर कार्कीले सिलबन्दी गरिएका खाद्य तथा पेय पदार्थको प्याकेट वा बोतल उपलब्ध गराउँदा एमआरपीभन्दा बढी मूल्यमा बिक्री गरेको पाइए कानुनअनुसार कारबाही गर्ने चेतावनी दिए।

विभाग र नेपाल चलचित्र संघबिच भएको छलफल र अन्तक्र्रियापछि कानुनअनुसार कारबाही हुने उनले बताए। ‘बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने, उपभोक्ताको हकअधिकार संरक्षण गर्ने सवालको सिलसिलामा सो छलफल भएको हो,’ छलफलपछि विभागका प्रवक्ता कार्कीले भने, ‘विभागले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता प्रदान गरी बजार अनुगमन टोली उपत्यकाका विभिन्न स्थानमा परिचालन गरेको सर्वविदितै छ।

विभाग र संघबिच भएको छलफलपछि फिल्म हलभित्र प्रशोधित पिउने पानीको बिक्रीवितरण एमआरपी मूल्यमा उपलब्ध गराउने सहमति भएबमोजिम अबउप्रान्त फिल्म हलको परिसरभित्र कुनै पनि व्यवसायीले सिलबन्दी गरिएको खाद्य तथा पेय पदार्थको प्याकेज वा बोतल उपलब्ध गराउँदा एमआरपी मूल्यमै बिक्री गर्नुहुन अनुरोध गरिन्छ। एमआरपीभन्दा बढी मूल्य लिइएको पाइएमा कानुनबमोजिम कारबाही हुनेछ।’

फिल्म हलमा सिलबन्दी गरिएका खाद्य तथा पेय पदार्थको प्याकेट वा बोतल उपलब्ध गराउँदा एमआरपीभन्दा बढी मूल्यमा बिक्री गरिएको गुनासो विभागमा आएको दाबी उनले गरे। 

प्रकाशित: ८ कार्तिक २०८१ ०६:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App