कला

सलिन डिओनको फर्किएको स्वर

यस्ताे पनि!

कमै होलान् जसले सन् १९९७ मा बनेको कालजयी चलचित्र ‘टाइटानिक’बारे थाहा नपाएका हुन्। जब यो चलचित्रको स्मरण हुन्छ, चलचित्र हेर्नेहरू अनायासै यसको गीत ‘माइ हार्ट विल गो अन’ गुन्गुनाउन थाल्छन्। वियोगान्त चलचित्रसँग असाध्यै तादाम्य राख्ने गीतको धुन र स्वरले संगीतनुरागीलाई बेग्लै संसारमै पुर्‍याउने क्षमता राख्छ।

गएको शुक्रबार फ्रान्समा शुरू भएको पेरिस ओलम्पिकमा यो गीतकी गायिका सलिन डिओनलाई देख्दा धेरैको आँशु थाम्न सकेनन्। भएको के थियो डिओन सन् २०२० देखि स्टेजमा देखिएकी थिइनन्।

स्टिफ–पर्सन सिन्ड्रोम (एसपीएस) नामक दुर्लभ स्नायुसम्बन्धी रोगबाट पीडित डिओनले आफू विगत १७ वर्षदेखि यो रोगसँग संघर्ष गर्दै आएको र अहिले आएर यसले निकै पीडा दिएको बताएकी थिइन्। ‘अब म कहिल्यै गाउन नसक्ने पनि हुनसक्छु’, सन् २०२२ मा पहिलोपटक आफ्नो रोगको खुलासा गर्दै उनले भनेकी थिइन्। त्यही भएर ओलम्पिक उद्घाटनमा डिओनको जादुमयी स्वर पुनः सुन्न, देख्न पाउदा स्रोता, दर्शक रुदैं चिच्याएका थिए।

एसपीएस रोग प्रत्येक १० लाख मानिसमा एक वा दुईमा देखिन्छ। सन् १९५६ मा पहिलोपटक पत्ता लगाइएको यो रोग लाग्ने धेरैलाई मांसपेशीको पीडा हुनेगर्छ। चिन्ता त के छ भने अहिलेसम्म यो रोग पूरै निको पार्ने औषधि पाइएको छैन। तर, यसको दुखाई कम गर्ने औषधि, थेरापीलगायतका उपचारविधिहरू भने उपलब्ध छ।

डिओनलाई पुनः कन्सर्टमा उभिनसक्ने बनाउन कोलोराडो विश्वविद्यालयको आन्सुत्ज मेडिकल कलेजकी डा. अमान्दा पिके र उनका सहकर्मीको टोली खटिएको थियो। स्वास्थ्यकर्मीको अथक प्रयासको सम्मानस्वरूप ५६ वर्षीया डिओनले हालै यो कलेजलाई २० लाख डलर अनुदान पनि दिएकी छन्।

-द सन्बाट

प्रकाशित: १४ श्रावण २०८१ ०५:२७ सोमबार

#Even this! #Celine Dion's voice returns