कला

हाँसीहाँसी मृगस्थली!

व्यक्तित्व

यो लेखनीको शीर्षक देखेर तपाईंको मनमा यो प्रश्न उठ्यो कि-को हो किशोर शर्मा? के ऊ कुनै नामुद मानिस हो? किन पढ्ने उसका बारेमा? तर म भन्छु-पढ्नोस्, जीवन बुझ्ने सिको मिल्नेछ।

यो त म भन्न सक्दिनँ-उनी नामुद मानिस हुन् भनेर र यो पनि भन्न सक्दिनँ कि उनी पूर्ण उदाहरणीय व्यक्ति हुन्। पूर्ण उदाहरणीय हुन त गुणले बैगुनलाई बेसरी थिचेको हुनुपर्छ। धर्मग्रन्थले भगवान् मानेका कति पात्रमा बैगुन रहे पनि उनीबारे लेखेका ग्रन्थले देवत्वकरण गरी कमजोरीलाई ओझेल पार्छन्।

सामान्य मानिस गुणैगुणयुक्त त हुने कुरै आएन। रामचन्द्र भगवान्लाई गुणैगुणयुक्त माने पनि सीता परित्याग सही थियो? भन्ने तर्कमा असहमत हुने कति छन् कति। कुनै पात्रबाट उदाहरण लिने भनेको उसको केही कुराको हो। उसका सबै कुरा उदाहरणीय हुन मुस्किल पर्छ। पूरा व्यक्तित्वमा त कतै कुनै कमजोरी हुन सकिहाल्छ।

यति भूमिका पढेर अनुमान गर्नुभयो होला, म उनीबारे लेख्दैछु तर मेरो कुनै दाबी छैन-उनी सर्वगुण सम्पन्न थिए भनेर। उनी साधारण व्यक्ति हुन् तर यत्ति भने भन्न सक्छु कि उनका केही जीवन दृष्टिकोण उदाहरणीय थिए, जुन अपनाउन सके जोकोही खुसी हुन सक्छ, सन्तुष्ट हुन सक्छ। आखिर जीवनमा चाहिने यिनै कुरा न हुन्।

हुने हुनामी भइहाल्छ, किन चिन्ता गरिरहनु? जे पाइयो त्यसमा नै सन्तोष गर्ने हो। त्यसमा असन्तुष्ट भए त खुसी, सन्तोष मृगमरीचिका बन्छ। मृगमरीचिका याने कि गर्मीमा पानीको खोजीमा रहेको मृगले पानी नजिक रहेको अनुमान गरेर जति पानी नजिक पुग्न खोज्छ, त्यति टाढा पुग्छ पानीको मूल, पोखरीको। अनि भेटेर तिर्खा मेट्न पाउनु त कहाँ कहाँ, त्यसकै खोजीमा भौंतारिँदा भौंतारिँदै झन् तिर्खा बढाउँछ मात्र।

आज बिहानैदेखि उनीबारेको प्रसङ्ग बग्रेल्ती मनमा उर्लेको छ फिल्ममा फ्ल्यासब्याक दृश्यहरू तँछाडमछाड गर्दै आएझैं। हिजो राति दुई बजे यानेकि २०८१ सालको जेठ २५ गते आर्यघाटमा उनको दाहसंस्कार सकेर फर्केको। निद्रा पुग्दैन भनेर बिहान अलि ढिलो उठ्ने चाहना भए पनि शरीरको घडी, जसलाई वैज्ञानिकहरू ‘सिकार्डियन क्लक’ भन्छन्, त्यसले सुत्नै दिएन, निद्रा खुलाइदियो। अनि उनलाई सम्झँदै लेख्न खोज्दैछु। यसलाई मृतकको सम्झना (ओबिच्युरी) भन्नोस् वा व्यक्तित्वपरक निबन्ध।

कुरो उही हो-उनीकेन्द्रित लेखन। यो लेखन आफ्नो डायरी वा सम्झनाकापीमा मात्र राखे हुने हो तर उनको जीवनदृष्टि उनीसँग अपरिचितका लागि पनि रुचिकर हुन सक्छ भन्ने लागेर सार्वजनिक माध्यमबाट सबैको पहुँचमा पुर्‍याउन चाहेको हुँ।

हिन्दी फिल्म निर्देशक हृषिकेश मुखर्जीले निर्देशन गरेको ‘आनन्द’ मा मुख्य पात्रले जीवन र मृत्युलाई सहज रूपमा लिएको, मृत्युसम्म पनि हाँसीखुसी रहेको देखाइएको थियो। त्यो देख्दा लाग्थ्यो-आख्यान, नाटक वा फिल्ममा मात्र हुन्छन् यस्ता पात्र तर उनी साक्षात् त्यस्तै पात्रझैं लाग्थ्यो मलाई। यो भनाइ मेरो मात्र होइन, अरू धेरैले पनि यसै भन्थे।

उनी भन्थे, ‘म संसार घुमेँ। एन्टार्कटिकाबाहेक कुनै महादेश नगएको छैन। कैयौं देश घुमेँ, सबै देश नभए पनि। यो देश जाऊँ भन्ने लागेको कुनै छैन। अब भने म जाने ठाउँ दुई मात्र छन्- वनस्थली र मृगस्थली।’ यो भनाइको आशय थियो -डायलाइसिस गर्न बालाजुनेर वनस्थलीमा रहेको राष्ट्रिय मिर्गौला केन्द्र जाने अनि त्यो काम नलागेपछि मृगस्थली वा आर्यघाट जाने। यो भनाइमा निराशा झल्केको जस्तो लाग्ला, तर होइन-उनी सन्तोष लिएर, खुसी भएर नै भन्थे, ‘धेरै घुमेँ, जीवनमा जे गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो सबै गरेँ। अब अन्त नगएर यत्ति ठाउँ मात्र जान सके भैगयो नि!’

यही प्रसंगमा थप भन्थे, ‘वनस्थली कतिन्जेल जाने भन्ने डाक्टर र कालबीचको लडाईंमा डाक्टरले कतिसम्म जित्छन्, त्यतिन्जेल हो। अन्ततः जित्ने त कालले नै हो।’

उनले दुःखी भएर यसो भनिरहेको भन्ने कत्ति लाग्दैनथ्यो। अनुहार र शरीरको भंगिमा देख्दा बरू लाग्थ्यो-यो रोगले दिएको गुन हो। धेरै ठाउँ जानुपर्ने आवश्यकता नै छैन। बस्, जम्मा दुई ठाउँ गए पुग्ने भयो।

उनको भनाइमा सिकायत वा पीडा व्यक्त भएको होइन भनी मान्ने उनको अर्को अभिव्यक्ति थियो, ‘कति मलाई मात्र गुन गरिराख्नु भगवानले पनि ! रोग त मलाई लाग्यो, लाग्नु नै थियो। यो त हाम्रो खानदानमा लाग्ने नै रोग हो। बुबा यसैले बितेको, कान्छो भाइ बन्धुले यो रोग लागेर मिर्गौला प्रत्यारोपण गर्नुपर्‍यो। त्यो पनि फेरि बिग्य्रो र बित्यो नै।

माहिलो विष्णुको पनि पटकपटक मिर्गौलाको पत्थरी फाल्नु परिरहन्छ। रोग लाग्यो मलाई यस्तो बेलामा कि मैले जीवनमा जे–जे गर्न चाहन्थेँ, सबै गर्न भ्याएँ-कमाउन, मोज गर्न, देश विदेश घुम्न। सेवामा रहँदै लागेको भए कहाँ पाइन्थ्यो। जति पाएँ, त्यति गर्न। सेवानिवृत्त भई घरकाजी भएपछि न रोग लागेको हो। खास गर्न पर्ने केही बाँकी छैन। दिन कटाउने त हो। मिर्गौला बिग्रेपछि काम निस्केको छ बरु डायलाइसिस गर्न जाने। छोरीजस्ता नर्सहरू छन्, उनीहरूसँग गफ गर्ने। माया गरेर बुबा भन्छन्। घरमा र डायलाइसिस गर्न सुतेको बेला पत्रिका पढ्यो। यसले दिन बिताउन सजिलो भएको छ।’

रोगका कारण पैसा बढी चाहिने भएकोबारे उनी भन्थे, ‘रोग लाग्यो, त्यो पनि कस्तो भने सरकारले उपचार गरिदिने, आफूले खासै खर्च गर्न नपर्ने! अरू खाले रोग लागेको भए त आफूले खर्च गर्न पर्छ नि। यसमा त सरकारले डायलाइसिसको खर्च बेहोर्छ। प्रत्येक पटक २५ सय बेहोर्छ बाँच्दासम्म। अरू खर्चका लागि पैसा छोरीले अस्ट्रेलियाबाट पठाउँछे। कान्छी श्रीमतीले पनि दिन्छिन्। जेठी र ऊपट्टिका छोराबुहारीले स्याहार गरेका छन्। रोग लागे पनि आनन्द छ, कुनै पिर छैन।’

जे हुनु भइगयो, आफ्नो नियन्त्रणमा कतिपय कुरा हुँदैनन्। त्यसमा पिर गरेर के गर्नु ! त्यसलाई हाँसी–हाँसी स्विकार्नुले नै जीवन सहज र सुखी बनाउने हो, नत्र दुःखी बन्छ जीवन र यसबाट उम्कन केही गर्न सकिन्न पनि। यो थाहा छ-तर अधिकांशले यो स्विकार्न सक्दैनन् तर उनले स्विकार्न सकेका थिए। त्यसैले मिर्गौला बिग्रनुलाई र बिग्रने समयलाई सहज रूपमा लिए। असाध्य रोग लागेका उनलाई भेट्न जाँदा रुन्चे वातावरण बनेन। उनी बिरामीलाई भेट्न जाँदा हँसमुख देखिन्थे।

‘म बिरामी देखेर खुसी भएको? मेरो श्रीमान्, बा बिरामी हुँदा खुसी भएको?’ भन्लान् भनी भेट्न जानेले गम्भीरताको, रुन्चे मुकुन्डो अनुहारमा लगाउनुपर्छ। त्यो कहिल्यै पर्दैनथ्यो उनीकहाँ। उनी हँसाउँथे, हामी हाँसेर नै बस्थौं, फर्कंथ्यौं। सिकिस्त बिरामी भेट्न जाँदा हाँसेर फर्कन पाइनु-बिरलै अनुभव हुने कुरा हो।

उनी भन्थे, ‘जन्मेको २२ दिनमा आमा बितेर टुहुरो भएको मानिसले यति गरेँ। यसमा पनि दुःखी हुनु? के पाइनँ, के गरिनँ मैले? अनि के गुनासो गर्नु, दुःख मान्नु?’

हुन पनि हो, उनका बा बिचारी हुनुहुन्थ्यो अदालतको। बिचारी मुखियासरहको पद अदालतको। उनी २०१२ सालका। काठमाडौंको ठमेलमा डेरा रहेछ बाआमाको। आमा सुत्केरीबाट नतङ्ग्रिई बित्नुभएछ। कतिले ‘आमा टोकुवा’ पनि भने होलान्। उनका बालाई २२ दिनको बच्चा स्याहार गर्न कम मुस्किल भएन। उहाँको र बच्चाको दुःख देख्न नसकी सँगै डेरा गरी बस्ने आमा, छोरा र बुहारीले स्याहारसुसारमा सघाउनुभयो।

उहाँहरूले सघाए पनि सानो बच्चा स्याहार्न र घरजम गर्न दुई वर्षपछि नै बाले अर्की केटी बिहा गर्नुभएछ मात्र १२–१३ वर्षकी। त्यति सानी बच्चीले उनको स्याहार गर्न सक्ने कुरा भएन। तर आफूले भने बच्चा जन्माउन थाल्नुभयो। एक बच्चा नजन्मी खेर गयो, अर्को जन्मेर केही समयपछि बित्यो।

बाको डडेलधुरा अस्पतालमा सरुवा भएछ उनी ४–५ वर्षको हुँदै गर्दा। सानिमा स्याङ्जा घर गएपछि दयावान मात्र होइन, देवताका साक्षात् रूपका आमा, छोरा र बुहारीले पूर्णतः उनको स्याहारसुसारको जिम्मा लिनुभयो। त्यो परिवार आर्थिक रूपमा सम्पन्न थिएन तर मानवीयता र दयाभावले पूर्ण थियो। त्यसैले आर्थिक टेवा पुगोस् भनी बाले केही रकम पठाइदिनुहुन्थ्यो।

सानी आमाबाट भटाभट सात बच्चा जन्मे, पाँच जना बाँचे पनि। बा पनि उनी १६/१७ वर्षको हुँदा नै बित्नुभयो। उनले प्रवेशिका गरेपछि काम गर्न थाले र कलेज पढ्दै गए। वायु सेवा निगममा दोस्रो जागिर भेटे। जहाज उडान हुँदा यात्रु सेवा गर्ने स्टेवार्ड हुन पाएपछि वैदेशिक उडानमा जान पाउने भए।

त्यसताक लन्डन, जर्मनी, जापानलगायत विभिन्न ठाउँमा उडान थियो नेपालको। उनी गइरहेका हुन्थे। राम्रो भत्ता पाउने, पाँच तारेहोटलमा बस्न पाउने, खान पिउन राम्रो पाउने र विदेशबाट फर्कंदा केही सामान ल्याउन पाउने हुँदा उनको ठाँटबाँट फेरियो।

आर्थिक हैसियत स्वाट्टै उचालियो। यति मात्र भएन, बियर पिउने आदत बन्यो। यतिसम्म कि उनी दिनमा नै एक घैंटो जति बियर पिउँथे। खाना एकदम कम, बियर अति बढी। फेरि जति पिए पनि मात नलाग्ने! गजब शरीर थियो उनको। त्यति बियर पिए पनि कलेजो बिग्रेन।

त्यही बेला गाउँमा बिहे गरी ल्याइएकी जेठी श्रीमती हुँदाहुँदै विद्यार्थीकालमा ‘इलुइलु’ चलेकीसँग दोस्रो विवाह गरे। दुईतिर गरी पाँच बच्चा भए। काठमाडौंमा दुई वटा घर बनाए। आफ्नो लालनपालन गर्ने परिवारलाई आर्थिक सहयोग गर्दै रहे। यसलाई जीवनमा गरेको उपलब्धि भनूँ वा मोज, त्यो भोगे र जब सेवानिवृत्त भए, अनि रोग देखियो। यसलाई उनले सहजरूपमा लिए। त्यसैले त भन्थे, ‘के पाइनँ, के गरिनँ मैले? अनि किन असन्तोष गर्नु?’

उनको जीवन जन्मदेखि नै असहज रहेको हो-२२ दिनमा टुहुरो भए। जीवनका अन्तिम दस वर्ष मिर्गौला बिग्री डायलाइसिस गर्दै बाँचे। तर कुनै गुनासो जीवन, भाग्य, भगवान् वा कसैसँग नगरी, बरू सबैलाई हँसाई, नजिकका मानिसलाई सहयोग गरेर नै गए जेठ २५ गते (२०८१ साल) साँझ।

तारादेवीले गाएको एक गीतलाई अक्षरशः पालन गरेर गए उनी:

जस्तो भोग्यो उस्तै हुन्छ,

खोजे जस्तो हुन्न जीवन! 

प्रकाशित: ५ श्रावण २०८१ १२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App