नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’ मा प्रस्तुत गरेका थिए। उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ।
मेरा इनार, न त सत्तल पाटी केही छन्
जे चिज र धनहरू छन् घरभित्र नै छन्
त्यस घाँसीले कसरी आज दियेछ अर्ति
धिक्कार हो मकन बस्नु नराखी कीर्ति।
पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए।
भानुगृह पुनःनिर्माणको पर्खाइमा
नेपाली भाषाका आदिकवि आचार्यको जन्मथलो चुँदीरम्घा शिखरकटेरीमा भानुगृह पुनःनिर्माण गर्ने भनेको आठ वर्ष पुगिसक्यो। भानु नगरपालिका–४ शिखरकटेरीमा भानुगृह पुनःनिर्माणका लागि विसं २०७३ चैत २२ गते शिलान्यास समेत भयो। तर आठ वर्ष बितिसक्दा उक्त काम शिलान्यासमै सीमित भयो।
भानुगृह पुनःनिर्माण गर्ने कुरा चर्चामै सीमित हुँदा अब भने काम अगाडि बढ्नेमा आशा जागेको छ। पश्चिमाञ्चल विकास मञ्चले शिलान्यास गरेको उक्त भानृगृहको अधुरो काम मञ्चकै सक्रियतामा अगाडि बढ्ने भएको छ।
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले भानुगृह पुनःनिर्माणको काम अगाडि बढ्ने चरणमा रहेको बताए भानुगृहको इष्टमेट तयार भएको र अब बोलपत्र आह्वानको तयारी गरिएको उनको भनाइ छ।
उनले भने, ‘विविध कारणले लामो समयदेखि भानुगृह पुनःनिर्माण हुन सकेन। यसबीचमा थुप्रै छलफल गयौ, अब कामले ठोस गति लिनेमा विश्वस्त छौँ।’
भानुगृहको लागत करिब रु एक करोड दश लाख रहेको छ। विकास मञ्चले आफ्नै लगानीमा भानुगृह निर्माण गर्न लागेको हो। त्यसका लागि मञ्चका पूर्वअध्यक्ष रामकाजी कोनेको संयोजकत्वमा निर्माण समिति गठन गरेको छ।
विसं २०७३ चैत २२ गते पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको शिलान्यास गरेको थियो। विकास मञ्चले काममा ढिलाइ गरेपछि विकास समितिले आफ्नै सक्रियतामा घर निर्माण गर्ने तयारी थालेको थियो। तर विकास मञ्चले नै घर निर्माण गर्ने भएपछि समितिको तर्फबाट आवश्यक सहयोग रहने समितिका कार्यकारी निर्देशक रानाभाटले जानकारी दिए।
विकास समितिले शिखरकटेरीमा तारबार र सिसी क्यामरा समेत जडान गर्दैछ। यही ठाउँमा रामायण भवन निर्माण भइसकेको छ। जङ्गलको बीचमा भएकाले रामायण भवन संरक्षणविहीन अवस्थामा पुगेको छ। भानुगृहको काम सुरु भएपछि यस ठाउँको थप विकास हुनेमा आशावादी रहेको रानाभाटको भनाइ छ।
यसअगाडि कच्ची बाटो, पानी र बत्तीको समस्यालगायतका कारणबाट भानुगृहको काम अगाडि बढ्न सकेको थिएन। भानुभक्तको घर पुनःनिर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ।
‘आदिकवि भानुभक्तको नाममा देश तथा विदेशमा भव्य कार्यक्रम हुन्छ तर गृह जिल्लामै भानुभक्त उपेक्षित भयो की भन्ने भान हामीलाई पनि हुन्छ। घर पुनःनिर्माण गर्न सकिए यहाँ धेरैको आगमन हुने विश्वास गरेका छौँ’, रानाभाट बताउँछन्।
विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर रु एक लाखमा पुनःनिर्माण गरेका थिए। जङ्गलबीचको खरको छानाको घरमा विसं २०६१ जेठमा आगलागी भएको थियो जसमा करिब एक लाख २७ हजारको क्षति भएको थियो।
भानु नगरपालिका–४ चुँदीरम्घामा विसं १८७१ असार २९ गते जन्मिनुभएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो। नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन्।
मोतिराम भट्टले उनलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएको बताइन्छ। भानुभक्तले ‘प्रश्नोत्तर’, भक्तमाला, बधुशिक्षालगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनाएका थिए।
प्रकाशित: २९ असार २०८१ ०७:०० शनिबार