प्रायः आफूलाई समस्या पर्यो भने असम्बन्धित व्यक्तिबाट सल्लाह लिने गर्छौं। जसका कारण, हाम्रो समस्या समाधान हुनुको साटो अझ बल्झिने गर्छ। हामी जे समस्यामा पर्छौं, त्यसको आधा समाधान देखाइदिने बाटोले गर्न सक्छ। कुनै व्यक्तिलाई भेट्ने हुनसक्छ, कुनै ठाउँमा पुग्नुपर्ने हुन सक्छ। यस्ता आधा समस्या हाम्रा नजिकका कुनै व्यक्तिले समाधान दिन सक्छन्।
कहिलेकाहीँ हाम्रो समस्याबारे खुलेर कुरा नगर्दा आफन्तले यस्ता कुरा बुझ्दैनन्। उनीहरूले हाम्रा कमजोरी थाहा पाउने हुन् कि अथवा उनीहरूले हाम्राबारेमा गलत धारणा बनाउने हुन् कि भन्ने आशंकाले गलत व्यक्ति वा अञ्जान व्यक्तिसम्म अधिकांश मानिसहरू पुग्ने गरेको हालै गरिएको एउटा सर्भेले देखाएको छ।
समाजशास्त्री निका काबिरीले पछिल्लो समय समाजका यस्ता पाटाका बारेमा अध्ययन गरिरहेकी छन्। उनी भन्छिन्, ‘मेरो अध्ययनले के देखाउँछ भने अधिकांश मानिसहरू सहयोग माग्नै झिँजो मान्ने वा अप्ठेरो मान्ने गरेका छन्। जबसम्म तपाईंले अगाडिको आफन्त वा चिनजानका मानिसहरूसँग आफ्ना समस्याबारे सल्लाह गर्नुहुन्न भने उनीहरूले तपाईंका समस्या थाहा पाउँदैनन्।’
उनको सुझाव छ, ‘नजिकका मानिसहरूसँग आधा समस्याको समाधान हुनसक्छ। त्यसैले आफ्ना समस्याका बारेमा खुलेर कुरा गर्नुहोस्।’
कोलम्बिया युनिभर्सिटीका समाजशास्त्री मारियो स्मल भन्छन्, ‘प्रायः कुनै पनि समस्या लिएर आउनेहरूका कुरा आफन्तले राम्रोसँग नसुनी उनीहरूले मलाई यस्तो हुन्छ भन्ने पहिल्यै थाहा थियो भन्नेबाट कुरा शुरु गरेपछि अधिकांश अवस्थामा समस्यामा परेको आफन्तले खुल्नै चाहँदैन। त्यसैले आफन्त ठानेर समस्या सुनाउन थालेपछि आफन्तहरूले गम्भीर भएर कुरोको चुरो बुझ्ने प्रयास गर्नुपर्छ।’
निका भन्छिन्, ‘अधिकांश अवस्थामा आफ्ना कुरा आफन्तले नै बुझ्दैनन् भन्ने धारणा स्थापित हुने अवस्थामा आफूलाई उल्टै दोष नदिनेहरूकहाँ गएर खुलेर कुरा गर्ने अवस्था आउन सक्छ। त्यसैले परिवारले जहिल्यै गम्भीर भएर समस्याका बारेमा सुन्नु जरुरी छ।’
तपाईं समस्यामा हुनुहुन्छ भने कुनै एक जनाको कुरा सुनेर त्यसैलाई निष्कर्ष मानेर दौडिनहाल्नुस्। त्यसको साटो विभिन्न मानिसहरूलाई त्यसका बारेमा सोध्नु उपयुक्त हुन्छ भन्ने अध्ययनले देखाएको छ। खासगरी क्लिष्ट र दुविधाजनक समाधान देखिएमा धेरै जनासँग परामर्श लिनु उपयुक्त हुने अध्ययनले देखाउने वाल स्ट्रिट जर्नलमा एलिजाबेथ बर्नस्टिन लेख्छिन्।
यस्तो समस्या समाधान खोज्दा पहिल्यै भोगिसकेका व्यक्तिहरूमा भने एक किसिमको करुणा भाव हुनाले उनीहरूले राम्रोसँग प्रतिक्रिया दिन सक्ने पनि अध्ययनमा देखिएको छ। मिचिगन विश्वविद्यालयकी मनोविज्ञानकी प्राध्यापक स्टेफनी प्रिस्टन भन्छिन्, ‘उस्तै मनोदशाबाट गुज्रिएकाहरूले राम्रो समाधान दिन सक्छन् तर धेरैजसो अवस्थामा कस्तो व्यक्ति छनोट गरियो भन्नेमा पनि भर पर्छ।’
प्रकाशित: २७ असार २०८१ ०७:१७ बिहीबार