कला

रिलका राई माइला र रियलका ‘राई माइला’ हरू

सिनेमा

पछिल्लो समय एउटा गीत निकै चर्चित छ-राई माइलाले गाउँ छाड्यो रे। गीतको धुन, परिवेश, र संगीत मात्र होइन, यसमा उनिएका यथार्थ शब्दले धेरैको मन छोएको छ।

झट्ट हेर्दा कालीप्रसाद बास्कोटाको संगीत र श्रवण मुकारुङको शब्दले सुसज्जित यो गीत अहिले मात्र बजेको सुनिन्छ तर यो गीतको सुस्केरा समयले पहिल्यैदेखि बजाउँदै आएको प्रस्ट छ। यो गीत मात्र होइन, आजको गाउँघरको वास्तविक चित्र हो। सुन्दर आवाजमा सजिएको पीडा हो।

‘राई माइला गीत नबन्दै सात वर्षअघि नै अरूण तरेर म मलेसिया पुगेको थिएँ,’ भक्तपुरको जगातीमा भेटिएका भोजपुरका ४४ वर्षीय प्रकाश राईले भने, ‘अहिले दुई वर्ष कोरिया बसेर भर्खरै नेपाल फर्केको छु।’

काठमाडौं आएर यो गीत सुनेका राईले भर्खरै सिनेमा पनि हेरेको सुनाए। उनलाई यसमा आफ्नै कथा उनिएको जस्तो लाग्छ।

घरमा बाउबाजेले बाख्रा पालेर गुजारा चलाएको देखेपछि त्यसलाई फरक ढंगले अगाडि बढाउने उनको सोच थियो। ‘कलेज सकिएपछि गाउँमै केही गरौं भन्ने सोच थियो,’ उनले भने, ‘रिन लिएर बाख्रा पालन गरे तर व्यापार सफल भएन।’

खोरेतले भएका एक दर्जन जति खसी मरेपछि आफू निराश भएर मलेसिया हिँडेको उनले सुनाए। ‘डुबेको बेला कसैले सहारा दिएको भए काम फेरि गर्न सकिन्थ्यो,’ उनले भने, ‘तर सहयोगको अभावमा निराश भएर खाडी उडेँ।’

प्रकाश राईको मात्र होइन, देशभरका आम नेपालीको कथा यस्तै रहेको छ। स्वदेशमा केही गरेर बस्न सक्ने वातावरण नभएपछि दैनिक दुई हजारभन्दा बढी ‘राईमाइला’हरू बिदेसिँदै छन्। कोही अरूण तरेर उड्दै छन् त कोही कोसी तरेर। कोही गण्डकी त कोही कर्णाली। राईमाइलाहरू सात समुन्द्र तरेर हिँडिसकेका छन्।

‘मैले पनि राजधानीमा बसेर कुखुरा पालन गरेको थिएँ,’ दोलखा घर भएका विनय कार्कीले भने, ‘बर्डफ्लुले कुखुरा मरेपछि दुबई गएको हुँ।’ बिदामा घर आएका उनले गाउँ फर्केर त आएको तर त्यहाँ केही गर्न सकिने वातावरण अझै तयार नभएको सुनाए, ‘युवाहरूलाई रोक्ने भन्दा पनि दुःख दिने वातावरण छ। केही नयाँ काम गरौं भने पनि दशथरि झमेला हुन्छ।’

केही महिना राजधानी बसेर फेरि मलेसिया फर्कने सुर गरेका कार्कीले बाटो छेकेर युवाको यात्रा नरोकिने सुनाए। ‘गीतमा जस्तो ढाट लगाएर र खोला तर्न नदिएर राईमाइलाहरू रोकिने अवस्थामा छैनन्,’ उनले भने, ‘जब राज्यले मुलुकमा विश्वासको पर्खाल लगाउँछ, राईमाइलाहरू त्यसैमा आड लगाएर नयाँ काम गर्ने छन्।’

बाराका जितेन्द्र पासवान पनि बाध्यताले आफू बाहिरिन परेको सुनाउँछन्। सुरुमा रिन तिर्न जमिन बन्धकी राखेर साउदी हिँडेका उनी उता काम गर्न थालेको पनि १७ वर्ष भइसकेको सुनाउँछन्। ‘आफूले कमाएको पैसाले रिन त तिर्न सकेँ तर घर बनाउन सकेको छैनँ,’ छोराको पासपोर्ट बनाउन राजधानी आएका उनले भने, ‘अब यो पनि खाडी गएर कमाएर आउने रे।’

देशमा परिवर्तन आएपछि केही आशा जगाएकाहरूसमेत पछिल्लो समय निराश हुन थालेका छन्। राजनीतिक अस्थिरता र त्यही कारणले काम गर्ने वातावरण खस्कँदै जानु, औद्योगिक वातावरण बन्न नसक्नु, सरकारी कामकाजमा ढिलासुस्ती, युवा स्वरोजगारबारे सरकार गम्भीर नहुनुलगायत कारणले बिदेसिने युवाको लर्कोमा कमी आउन सकेको छैन। सरकार फेरि रहने तर जनताको स्तर सधैं उस्तै रहने गरेका कारण ‘मुलुक नै बिदेसिने’ खतरा बढेको छ।

युवा स्वरोजगार कोषको नाम सुनेर त्यहाँसम्म पुगेका युवा पनि निराश भएर फर्कने गरेका छन्। ‘रिन लिएर तरकारी खेती गरौं भनेर स्वरोजगार कोषमा पुगेको थिएँ,’ उनले भने, ‘त्यहाँ पनि पहुँच लगाउनुपर्ने रहेछ।’ केही गर्नेले भन्दा पनि पहुँच हुनेले रिन लिएर दुरूपयोग गर्ने गरेको उनको गुनासो छ।

‘त्यही भएर म पनि कतार उड्न लागेको,’ सुर्खेत घर भई राजधानीमा बस्दै आएका अमृत जिसीले भने, ‘केही समय उता काम गरेर फर्कने छु।’

चार वर्षको छोरो र बुढा बाआमालाई छाडेर बिदेसिँदै गरेका उनले जहिले मुलुकमा विश्वासको वातावरण बन्छ, त्यहिले रोकिएर काम गर्ने बताउँछन्। राजधानीमा आएका बेला राई माइलाको कथा भएको सिनेमा हेरेका उनले त्यसमा आफैंलाई पाएको सुनाए।

उनीजस्तै धेरै युवाले ‘गाउँ आएको बाटो’ सिनेमामा आफूलाई पाएको सुनाउँछन्। त्यसैले सामाजिक सञ्जालमा यो सिनेमा र गीतबारे धेरै मार्मिक टिप्पणी आइरहेका छन्। ‘चिन्दै नचिनेको एक काल्पनिक पात्रको मायाले भुतुक्कै भइयो, जति गीत सुन्यो उति आँखाबाट आँसु आउँछ,’ सामाजिक सञ्जालमा रमेश खनाल लेख्छन्, ‘फिल्म हेरेको पनि छैन, राई माइलालाई देखेको पनि छैन, चिनेको पनि छैन। उसको गाउँ कहाँ हो भन्ने पनि थाहा छैन। एउटा गीत कति प्रभावकारी हुने रहेछ भन्ने लागिरहेको छ।’

बिदेसिएका युवा स्वदेश फर्केको खबर इन्टरनेटमार्फत पढ्ने युवा नेपालमा फर्केर केही गरौं भन्ने चाहन्छन्। तर यहाँ आएकाहरूको अवस्था देखेपछि उनीहरूको मन पनि परिवर्तन हुने गरेको छ।

नयाँ कामको थालनी गरे पनि दिगो हुन नसकेको उनीहरू सुनाउँछन्। ‘साथीहरूले तरकारी खेती गरेको देखेर उनमा पनि रहर नपलाएको होइन। तर, सहुलियत ऋण दिन राज्यले चासो देखाएको छैन,’ वीरगन्ज–३२ का उमेश माझी भन्छन्, ‘त्यसैले रिन लिएर विदेश जाने तयारीमा छु।’

त्यसो त सरकार फेरिइरहने यो मुलुकमा नयाँ नयाँ बाचा र आश्वासन नआउने होइन। हरेक नयाँ सरकार बन्नेबित्तिकै युवानीति र रोजगारबारे चर्चा परिचर्चा भइहाल्छ। युवा रोजगारमा सहज वातावरण बनाउने प्रतिबद्धता वर्षौंदेखि आइरहेका छन्। तर, आश्वासनले मात्रै परिवारको मुखमा माड लगाउन नसकिने बिदेसिएका युवाको भनाइ छ।

विदेशबाट फर्केका युवासँग श्रम, सिप र स्रोत हुने भएकाले उनीहरूलाई नेपालमै टिकाउने वातावरण बनाउन लागिपरेको सरकार बताउँछ। तर फर्केर आउनेहरू यहाँ टिक्नै नसक्ने सुनाउँछन्। ‘सवारीको लाइसेन्सदेखि विदेश जाँदा श्रम स्वीकृति गराउन त पैसा खुवाउनुपर्ने यो देश,’ बुटवलका नवीन खाण भन्छन्, ‘यहाँ अहिले केही गरेर बस्न सकिने वातावरण छैन।’

राज्यले युवालाई सिप र सहयोग दिएर मात्र रोक्न सक्ने तर त्यो वातावरण नदेखिएको उनी बताउँछन्।

नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’मा बाल कलाकार प्रसन राई (बिन्द्रे) छोराको भूमिकामा प्रभावकारी देखिएका छन्। राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको चलचित्रले गाउँमा मोटर बाटो आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई चित्रण गर्छ। त्यसैले धेरैलाई यो आफ्नै घरको कथाजस्तै लाग्छ। ‘मैले त्यो बालकमा आफ्नै छोरा देखेँ,’ सिनेमा हलमा भेटिएका कल्याण घिमिरेले भने, ‘मैले आँसु थाम्न सकिनँ।’

सानो छोरालाई घरमै छाडेर बिदेसिएका उनी अबको यात्रा थप कष्टकर हुने सुनाउँछन्।

बाउ सहर गएपछि टिभी ल्याइदिन्छ भन्ने आशामा रहेको बिन्द्रेको अभिनय निकै मार्मिक छ। भित्तामा टिभीको चित्र कोरेर बाउको प्रतीक्षा गरिरहेको बिन्द्रेको आफ्नै गाउँमा आएको बाटोमा गाडीले कुल्चेर मृत्यु हुन्छ। यो दृश्यले धेरैलाई रुवाउँछ।

यो भन्दा पनि खतरनाक दृश्य अहिले राजधानीका विमानस्थलमा देखिन थालेको छ। ‘खाडी गएका बाउले ‘बिन्द्रे’लाई रङ्गिन टेलिभिजन ल्याएर आफू अर्को बाकसभित्र बन्द भएर आएको दृश्य सामान्यजस्तै भइसक्यो,’ सामाजिक सञ्जालमा अनिल थापा लेख्छन्, ‘नवीन सुब्बाले निर्देशन गरेको गाउँ आएको बाटोभन्दा पनि मर्मस्पर्शी यो मार्मिक दृश्य कसले निर्देशन गरेको होला?’

प्रकाशित: २२ असार २०८१ १०:२४ शनिबार

#Rai Maila of Reel and Real 'Rai Maila'