कला

नेपाल प्रज्ञाप्रतिष्ठानले अर्पियाे प्रज्ञा पुरस्कार

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा आयोजित एक समारोहबिच ११ जना विशिष्ट स्रष्टालाई जनही एक लाख रूपैयाँ राशिको प्रज्ञा पुरस्कार-२०८० अर्पण गरिएको छ।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति राईले खगेन्द्र सङ्ग्रौलालाई प्रज्ञा अनुवाद पुरस्कार, मोहनविक्रम सिंहलाई प्रज्ञा दर्शन पुरस्कार, शान्ता श्रेष्ठलाई प्रज्ञा सामाजिक शास्त्र पुरस्कार, घनश्याम शर्मा पौडेललाई प्रज्ञा संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास पुरस्कार अर्पिएकाे थियाे।

त्यस्तै कृष्ण गौतमलाई प्रज्ञा समालोचना तथा साहित्येतिहास पुरस्कार, प्राडा देवीप्रसाद गौतमलाई प्रज्ञा भाषा पुरस्कार, बम देवानलाई प्रज्ञा साहित्य पुरस्कार (पद्य), राजवलाई प्रज्ञा साहित्य पुरस्कार (गद्य), गङ्गा कर्माचार्यलाई प्रज्ञा बाल पुरस्कार, प्रज्ञा मातृभाषा साहित्य (हिमाली र पहाडी) पुरस्कार डा. योगेन्द्र प्रधान र पदम विश्वकर्मालाई प्रज्ञा अन्तर्देशीय पुरस्कार अर्पण गरेका थिए।

स्मरण रहोस् - प्रज्ञा मातृभाषा पुरस्कार (तराई र मधेस) बाट बेचन उराँव अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा गत महिना धरानमा आयोजित कार्यक्रममा पुरस्कृत भइसकेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले विशिष्ट स्रष्टाहरूलाई पुरस्कृत गर्न पाउँदा आफू गौरवान्वित रहेको चर्चा गर्दै प्रज्ञाप्रतिष्ठानलाई सबैको साझा थलोको रूपमा आफूले अघि बढाउने बताएका थिए। यसै क्रममा उनले समाजले उत्पादन गरेको ज्ञानबारे बहस गर्दै प्रतिष्ठानले प्रतिपक्ष र विरोधी चेतनालाई समेत समेट्ने बताएका थिए।

प्राज्ञ चेतनाथ धमलाका अनुसार प्रज्ञाप्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ विमल निभाले स्वागत मन्तव्य र सदस्य सचिव डा.धनप्रसाद सुवेदीले कार्यक्रम चलाएका थिए। उक्त कार्यक्रममा प्रज्ञा पुरस्कारबाट पुरस्कृत व्यक्तित्वहरूले समेत आआफ्नो मन्तव्य राखेका थिए।

प्रकाशित: २९ चैत्र २०८० १३:१४ बिहीबार

अक्षर