कला

अजासु

लघुकथा

हजारौं मानिसको भिड लागेको थियो। शिवरात्रिको दिन त्यसमाथि पनि त्यहाँ कोटिहोम चलिरहेको थियो, भिड नहुने कुरै भएन।

“दाइ, ऊ त्यो ठूलो त्रिशूल आउने गरी हाम्रो एउटा फोटो खिचिदिनुस् न!’’ आफ्नो युट्युबका लागि भिडियो बनाइरहेको एकजना मानिसलाई एक युवतीले भनिन्।

युट्युबरले नाइँ भन्न सकेन। आफ्नो काम छोडेर उनको मोबाइल समात्यो र मोबाइलमा हेर्दै भन्यो, “एन्टिलाइट छ। फोटो राम्रो आउँदैन।’’

उसको कुरा ध्यान दिए वा दिएनन् उनीहरू उल्टो उसलाई निर्देशन दिंदै थिए, “मोबाइल यसरी ठाडो पारेर खिच्नुस्, त्रिशूल नकाटियोस् नि!’’

उनीहरू लाइन लागेर बसे।

युट्युबरले सकेसम्म एङ्गल मिलाएर दुईतीन फोटो खिचिदिए र मोबाइल फिर्ता दिए।

एउटीले हत्त न पत्त मोबाइल तानेर भनिन्, “खोईखोई कस्तो आएछ?’’

युट्युबरले सुने सुनेन् तर मैले उनको कुरो फ्याट्ट सुनिहालें अनि उनको बुध्दि देखेर उनीप्रति टिठ लाग्यो। उनले फोटो हेरेर आफ्नै औकातमा भनिन्, “त्यो मान्छेलाई खासै फोटो खिच्न आउँदो रहेनछ!’’

(नोट-अजासुः अति जान्ने सुन्ने)

-ध्रुवराज थापा ‘पुरूष’

प्रकाशित: १२ चैत्र २०८० ११:१९ सोमबार

अक्षर