कला

कवि विमल वैद्यको ‘युगको तटमा उभिएर’ गृहलोकार्पण

कवि विमल वैद्यको चौथो कृति ‘युगको तटमा उभिएर’ गृहलोकार्पण भएको छ। इलाम सदरमुकामस्थित अरनिको संग्रहालय (पुरानो दरवार) मा इलाम नगरका विशिष्ट नागरिक पूर्व क्याम्पस प्रमुख युद्धप्रसाद वैद्यको प्रमुख आतिथ्य र धर्म गौतमको अध्यक्षतामा लोकार्पण गरिएको छ।

 इलाम नगर साहित्य, कला, संगीत प्रतिष्ठानको आयोजनामा भएकाे कार्यक्रममा भाषाविद् तथा लेखक केदार शर्मा र कवि तथा समीक्षक प्रकाश थाम्सुहाङले कृतिकाे चर्चा गरेका थिए।

थाम्सुहाङले कवि विमल वैद्यले ४० वर्षदेखि निरन्तर सिर्जनामा लागिरहेकाले स्थापित सर्जक भएको बताए। वैद्यका कृति नेपाली साहित्यका लागि गर्व गर्न लायक भएको बताए।

भाषाविद् तथा लेखक केदार शर्माले कवि वैद्यले आफ्ना सिर्जनामा शब्दलाई नधुट्याईकन दिनुपर्ने कुरा दिने गरेकाले यस कृतिमा समेत अझ परिमार्जन भएको बताए। लेखनमा वैचारिक अडान हुन आवश्यक रहेको समेत शर्माले बताए।

कार्यक्रममा प्राज्ञ कोमल निरौला, इलाम नगरपालिकाका प्रमुख केदार थापा, इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए। यसअघि वैद्यको कविताकृति काठमाडौमा पुस २८ गते लाेकार्पण गरिएको थियो। पेज टर्नरले बजारमा ल्याएको ३४ कविता संग्रहित ‘युगको तटमा उभिएर’ कृतिको मूल्य २७५ रुपैयाँ रहेको छ।

साहित्यमा शब्द, शैली र उनका स्वभावले वैद्यको चर्चा इलाममा मात्र नभई देशभर र छिमेकी देश भारत दार्जिलिङ, सिक्किम, मिरिक लगायत नेपालीभाषी रहेका स्थानमा समेत छ। करिब ४० वर्षदेखि इलाममा रहेर सिर्जनामा लागिरहेका उनी देश तथा सीमापारिका विभिन्न साहित्यिक कार्यक्रममा व्यस्त हुन्छ्न्।

मोफसलमा बसेर ख्याति कमाइरहेका वैद्यको यसअघि ‘आकाश छुन खोज्ने मनहरू’,  ‘समय र सपनाहरू’  अक्षर सिम्फोनी बजारमा आइसकेका छ्न्। प्रष्ट विचार भएका कवि वैद्यले तीन सय कविता लेखिसकेका छ्न्। उनका  कवितासंग्रह, संस्मरण र मुक्त लेखनले नेपाली साहित्यको भणडार वृद्धि भएको छ।

प्रकाशित: १२ चैत्र २०८० १०:३९ सोमबार

अक्षर