कला

बधाई

लघुकथा

हाकिम साहेब आउनुभएपछि नरबहादुर कोठाभित्र पस्यो र गिलासमा पानी खन्याइदियो।

“पानी बढी तातो भएछ अलि मिलाऊ त।’’ हाकिमले भन्नुभयो।

हातमा रिमोट कन्ट्रोलर लिएर एसी मिलाउनुभयो। बाहिर झ्यालबाट हेर्नुभयो। सेवाग्राहीको लामो लाइन लागेको थियो।

“आज अफिसमा भिड् छ त किन हो?’’ नरबहादुरलाई सोध्नुभयो।

“हिजोअस्तिदेखिका सेवाग्राही छ्न्।’’ नरबहादुरले भन्यो।

हाकिम साहेबले सोध्नुभयो, “किन?’’

“दुई दिनदेखि नन्दराम सर, उदय सर, अनन्त सर सबै आउनुभएको थिएन।’’ नरबहादुरले भन्यो।

“अग्रीम विदा स्वीकृत गर्नु नपर्ने रहेछ?’’ हाकिम साहेबको स्वरमा कडापन आयो।

नन्दराम, उदय  र अनन्त बसिसकेको  विदा स्वीकृत गर्न कोठामा आए।

हाकिम साहेबले भन्नुभयो, “तीनै जना विदा बस्नुभएछ।’’

“के गर्नु सर मेरो कलेज पढ्दाको साथी, उदय सरको गाउँको मान्छे, अनन्त सरसँग संगठनमा सँगै काम गरेको मान्छे एउटै परेपछि बधाई दिन जानुपर्‍याे।’’ नन्दराम सरले भन्नुभयो।

भरेर लगेको विदाको फारम हाकिम साहेबले डस्टविनमा मिल्काउनुभयो। हातले टेवलको घण्टी थिच्नुभयो।

नरबहादुर भित्र पसेपछि प्रशासन शाखाबाट तीनवटा भ्रमण आदेश फारम र भ्रमणभत्ता दावी फारम ल्याउन लगाउनुभयो र उहाँहरूतर्फ फर्केर भन्नुभयो,“ल एक साँझ मन्त्रीज्यूसँग डिनर मिटिङ फिक्स गरौं न।’’

प्रकाशित: १२ चैत्र २०८० ०९:३९ सोमबार

अक्षर