कला

पर्ख, म आगो सल्काउँदै छु

कविता

विश्वासको खडेरीले आत्तिएपछि

युवाहरू भौंतारिइरहेछन् सडकमा

आफ्नै औंला चुसेर भोक नमेटिएपछि

केटाकेटी चिच्याइरहेछन् आँगनमा

पहाड माथिको घाम नियाल्दै

जीवनको उचाइ नापिरहेछन् बुढाबुढीहरू

यही विवशताले थिचिएर तिमीलाई सोधेको थिएँ

बैसाखी टेकेर महलहरू कहिलेसम्म उभिएलान्?

तिमी भन्दै थियौ-

पर्ख, म आगो सल्काउँदै छु।

जङ्गलका छिचिमिराहरू

कानको जाली पड्केर बहिरो भएका छन्

ढाड भाँचिएको छ, लक्का जवानहरूको

स्वाभिमान बेचिएको छ

नजरबन्द छन् निर्भय उड्ने पन्छी

आफ्नै जरा खोतलेर हृदय च्यातिएपछि सोधेको थिएँ

कहिलेसम्म हेर्नुपर्ने हो यो अराजक व्यवस्था?

तिमी भन्दै थियौ-

पर्ख, म आगो सल्काउँदै छु।

घरघडेरी बेचेर जेट उक्लिएपछि

मुक्तिको गीत गाउँदै छ अहिलेको पुस्ता

आङ फुकालेर साहुलाई बुझाएपछि

नुनको जोहो गर्छे फूलमती

गाउँको मुटु झिकिएको छ

सहरको आँखा खोसिएको छ

विचारको दुर्गन्धले आत्तिएपछि सोधेको हुँ

यो देशमा कसले बजाउँछ स्वतन्त्रताको सारङ्गी?

तिमी भन्दै थियौ-

पर्ख, म आगो सल्काउँदै छु।

विश्वास गुमाएपछि

धैर्य टुटाएपछि

मेरा आँखामा आगो सल्किएको छ

मुठीमा

पैतालामा

नाकमा, मुखमा, कानमा

मेरो हृदयमा

आगो सल्किएको छ

मलाई सत्तल, पाटी र सालिकमा जानु छैन

घर, आँगन र जङ्गलमा पस्नु छैन

मलाई तिमीले पर्खाएको समयको लामो पर्खाल पुग्नु छ

तिमीले बनाएको विचारको अखबारसम्म पुग्नु छ

पुग्नु छ तिमीले जोगाइराखेको तिम्रो स्वार्थको दरबारभित्र

तिमीलाई सोध्न बाँकी

मसँग कुनै प्रश्न छैन,

आगो छ

म भन्दै छु, बुझ

म आगो सल्काउँदै छु। 

प्रकाशित: १० चैत्र २०८० ११:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App