कला

होली खेल्दै फिल्म प्रमोसन

फिल्म ‘शत्रु गते’को प्रचार गर्दैै मह तथा अन्य कलाकार । कान्तिपुर फिल्म एकेडेमीमा होली खेल्दै ‘मंगलम’को कलाकार टोली ।तस्बिर सौजन्य : मेरो फिल्म डटकम

काठमाडौं– रंगको पर्व होली धेरैका लागि मनोरञ्जनको माध्यम बनिरहँदा मनोरञ्जनकै लागि भनेर बनेका फिल्मले भने यही पर्वलाई प्रचार प्रसारको माध्यम बनाए।

रिलिजको संघारमा रहेका थुप्रै फिल्म तथा फिल्ममा आबद्ध फिल्मकर्मीले मनोरञ्जनसँगै यसलाई प्रचारको माध्यमको रुपमा पनि मज्जाले प्रयोग गरे ।  रिलिज हुन लागेका चार फिल्मले राजधानीका विभिन्न स्थानमा भएका होली विशेष कार्यक्रममा सहभागिता जनाउँदै प्रमोसन उचाई दिएका थिए।

आगामी फागुन २५ गते रिलिज हुन लागेका फिल्महरु ‘मंगलम’ र ‘हुर्रे तथा चैत्र २ गते रिलिज हुने ‘पञ्चायत’ र चैत्र ९ गते रिलिज हुने ‘शत्रु गते’ले राजधानीका विभिन्न स्थानमा भएको होलीका कार्यक्रममा सहभागिता जनाए । फिल्मको नाम अंकित टिसर्ट लगाएर तथा फिल्मका गीतमा नृत्य गर्दै उनीहरूले आआफ्नो फिल्म हेरिदिन आग्रह गरे। 

फिल्म ‘मंगलम्’का निर्देशक नवल नेपालले फिल्म युनिट हिमालय टेलिभिजन, अन्नपूर्ण रेडियो, टिभी फिल्मी र माउन्टेन टेलिभिजनको होली कार्यक्रममा सहभागिता जनाएको बताए । ‘यस्तो कार्यक्रम फिल्म प्रमोसनका लागि उपलब्धिमुलक हुन्छ । फिल्मकर्मीसँगै सर्वसाधारण पनि कार्यक्रममा भेटिने भएकाले फिल्म आउँदैछ है भनेर जानकारी दिन सजिलो भएको छ,’नवलले भने,‘नेपाली फिल्मप्रति आम दर्शकको रुचि बढाउनका लागि पनि यस्ता कार्यक्रम हाम्रा लागि विशेष महत्वका  छन् ।’ मोफसल दौहाडा सकेर होली मनाउनलाई नै बुधबार काठमाडौं ओर्लेको ‘मंगलम’ टिमका कलाकार शिल्पा पोखरेल, पुष्प खड्का र पृथ्वीराज प्रसाईले फिल्मको गीत ‘पर्ख पर्ख मायालु’मा नृत्य गर्दै दर्शकलाई फिल्म हेरिदिन आग्रह गरेका थिए।

फिल्म ‘मंगलम्’सँगै रिलिज हुन लागेको फिल्म ‘हुर्रे’ले पनि होलीमा फिल्म प्रमोसनको अवसरलाई छुटाएन । यसका कलाकारले पनि विभिन्न टेलिभिजनमा गई सहभागिता जनाएको थियो ।  हास्य कलाकारको बाहुल्यता रहेको फिल्म ‘शत्रु गते’ले होलीलाई प्रचारको रुपमा प्रयोग गर्न कुनै कसर छाडेन । फिल्म निर्देशक प्रदिप भट्टराई कलाकारको जम्बो टोली लिएर राजधानीका सबै ठाउँमा पुगे । फिल्मले प्रमोसनको शुभारम्भ नयाँवानेश्वरको रेडियो अडियोको होली कार्यक्रमबाट गरेको थियो । यो कार्यक्रममा फिल्मका निर्देशक प्रदिप भट्टराई, कलाकारहरु हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपाश्री निरौला, दीपकराज गिरी, किरण केसी, आँचल शर्मा, पल शाहलगायतको टोलीले आफ्नो प्रस्तुति दिएका थिए।

‘हाम्रो फिल्मको विषयमा मिडियामा मात्र समाचारहरु आइरहेका छन् । आम जनतामाझ ती सूचना पुग्न सकेका छन् या छैनन् भन्ने थाहा पाउन पनि यस्ता कार्यक्रमले सहयोग गर्छ,’प्रदिपले भने,‘दर्शकसँग प्रत्यक्ष भेट हुने भएकाले पनि फिल्मको प्रमोसनमा यी कार्यक्रम प्रभावकारी बन्छन् ।’ यो फिल्मको समूह नयाँवानेश्वरपछि एपीवान टेलिभिजन, जनता टेलिभिजन, टिभी फिल्मी हुँदै गोदावारीको टौखेलस्थित अभिनेत्री करिश्मा मानन्धरको निवासमा पुगेको थियो।

पञ्चायती शासन व्यवस्थामा समाजमा हुने न्याय प्रणालीको कथाबस्तुमा निर्माण गरिएको फिल्म ‘पञ्चायत’ले पनि होली कार्यक्रमलाई फिल्म प्रमोसनको रुपमा सदुपयोग ग¥यो । निर्देशक शिवम अधिकारीसहित अभिनेता सरोज खनाल, नायिका निता ढुंगाना, जाहान्वी बस्नेत, गणेश गिरी र कार्यकारी निर्माता रवि अधिकारी राजधानीका विभिन्न स्थानमा होली कार्यक्रममा फिल्मको प्रमोसन गर्न पुगेका थिए । ‘दर्शकसँग अन्तरसंवाद गर्न यस्ता प्लेटफर्म उपयोगी हुन्छन्,’उनले भने,‘फिल्मको विषय दर्शकलाई पनि थाहा दिनका लागि हामी कार्यक्रममा गएका हौं ।’ यो समूहले हिमालय टेलिभिजन, एपीवान टेलिभिजन, टिभी फिल्मी र गोदावरीस्थित करिश्मा मानन्धरको निवासमा होली खेल्दै फिल्मको प्रचार गरेको थियो ।

फिल्मबाहेक काठमाडौंका विभिन्न थिएटर ग्रुपले पनि आआफ्नै शैलीमा होली बनाए । अनामनगरको मण्डला थिएटरमा होली खेल्न शताब्दी पुरुष सत्यमोहन जोशी, तुलसी दिवस आदि स्रष्टा पुगेका थिए भने बत्तिसपुतलीको शिल्पी थिएटरमा पनि कलाकारले रंग खेल्दै होली मनाएका थिए ।
 

 

प्रकाशित: १८ फाल्गुन २०७४ ०३:०९ शुक्रबार

होली खेल्दै फिल्म प्रमोसन