कला

परदेशी

लघुकथा

हजारौं कोसिसपछि हरिप्रसाद अमेरिका छिर्न सफल भएको थियो। शरणार्थी बनेर बेल्जियम पसेको उसले युरोपको सबै देशमा भौतारियो र अन्तिममा अमेरिका जान सफल भयो। बेल्जियममा ऊ शरणार्थी थियो। युरोपका अन्य देशमा ऊ विदेशी नै भयो। उसको लक्ष्य नै अमेरिका पुग्नु थियो। देशका सीमाना नाघेर एउटा देश अर्को देश गरे पनि उसको मन युरोपमा स्थिर थिएन। त्यसैले ऊ सधैं अर्को देशको भयो। अमेरिकामा उसलाई उसको कपाल र छालाको रंगले कहिले मेक्सिकन कहिले अरवियन ठानियो। गोरेहरूले कहिले पनि आफ्नो ठानेन्। जीवनका ऊर्जाशील समय परदेशमा विदेशी भएर बितेको ऊ लामो समयपछि घर फर्क्यो।

“पैसा त टन्न कमाइस् नि है धेरै भयो त गएको।’’ उमेशले भन्यो।

उसले जवाफ दियो, “के कमाउनु यार, भौतारिंदै ठिक्क भयो।’’ 

उमेशले भन्यो, “भए पनि  लामो समय परदेशिएपछि त कमाइ पनि हुन्छ।’’

कुरा गर्दै उनीहरू अन्य मानिस जम्मा भएको ठाउँमा पुगे। सबैलाई पायक पर्ने गरेर नयाँ बाटो खुलाउने विषयमा टोलमा छलफल चल्दै रहेछ। सबैले आफ्नो आफ्नो भनाइ राखे। ऊ पनि केही बोल्न खोज्दै थियो।

उसलाई प्रमोदले भन्यो,“तपाइँ परदेशी मान्छे यहाँको बारेमा केही थाहा छैन चुप लाग्नुहोस्।’’

प्रकाशित: ५ माघ २०८० ०८:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App