अनमोल पल, अनुपम दृश्य, असीमित खुसी। जिन्दगीका रहरहरू पूरा भएपछि, परिकल्पनाले यथार्थलाई भेटेपछि, भ्रमणमा भव्य सफलता मिलेपछि हर्षमा पनि आँसु स्वतः नै झर्दोरहेछ। खुसीमा बोली पनि बन्द हुँदोरहेछ। हिमाली सौन्दर्यमा शब्दहरू चुपचाप र निःशब्द मन मदहोस हुन पुग्दोरहेछ।
कैयौं समयदेखिको इच्छा पूरा भएपछि प्रसन्नताको कुनै मापन थिएन। मन हर्षित हुनुको कुनै सीमा थिएन। सन्निकट हिमाली लस्कर मुसुमुसु मुस्कुराइरहेको थियो। चिसोले आफू चिसिए पनि अतिथिलाई न्यानो स्वागतले सत्कार गरिरहेको थियो। खुलेको मौसममा हिमालले घुम्टो उघारेर हामीलाई नियालिरहेको थियो।
वास्तवमा विश्वको सर्वोच्च शिखर सगरमाथासँग आमुन्नेसामुन्ने भएको अव्यक्त क्षण जीवनकै अनुपम पल थियो। उच्च हिमालका चम्किला ज्योतिमा आँखा जुधाएर हेर्नु र हेरिरहनुको प्रेमिल अनुभूति साह्रै सुन्दर, सुखद र स्वच्छ! यसरी एकाबिहानै हिमालसँग साक्षात्कार हुँदा आफूले आफैंलाई बिर्सन पुगिँदोरहेछ।
खुसीको पृथक् उल्लास, हर्षको बेग्लै आह्लाद मिल्ने रहेछ। चिस्याउने सिरेटो र स्याँठ सबै हराउँदोरहेछ। हुस्सुको हैरानीले दृश्य नदेखिएला पनि भन्नु नपरेपछि। हेरेर अघाउँजी तृप्त हुनुको मिठास शब्दमा व्यक्तिएन, बोलीमा खुलेन। केवल आत्मानुभूतिमा गद्गद्। कति रमाउनु खुसीले, कति चिच्याउनु हर्षले।
तथापि कहाँ थाकिँदोरहेछ र रातदिन हिँडेर पनि। कस्तै कठिन यात्रामा पनि कहाँ पुगिँदैन रहेछ र पाइला चालेपछि। हेरेर थाकिन्छ बरू हेर्नुपर्ने दृश्य सकिँदैन रहेछ। हिँडिरहेको बाटै टुङ्गिन्छ हिँडेर। तर पुग्नुपर्ने गन्तव्यले झन् सौन्दर्यको बिस्कुन फिँजाइरहन्छ आँखाभरि। तैपनि हेर्नुको भोक मेटिँदैन रहेछ। देख्नुको चौचौ पनि सिद्धिँदैन रहेछ।
कति हो कति रहरका रङहरू, चाहनाका चाङहरू, गन्तव्यका ठाउँहरू। जिन्दगी नै यात्रा रहेछ। यात्रा नै जिन्दगी बनिदिँदोरहेछ। कहिल्यै नसिद्धिने, कहिल्यै नपुगिने, कहिल्यै नअघाइने यात्रा। सधैं बाँकी रहने, सधैं थाँती रहिरहने।
हिँड्दाहिँड्दा कति हिँड्नु, हिँडेर नसकिने रहेछ। भालेको डाकसँगै बिउँझिएर अन्धकारले आँखै नदेखिने भइसक्दासम्म पनि बाटो हिँडेर नसिद्धिने। दिनदिनै पैदलैपैदलको यात्रा धेरै कठिनको हुने रहेछ। तैपनि धेरै साहस मिल्दोरहेछ। धेरै आत्मबल पाइने रहेछ। यति भएपछि कहाँ थ्याच्च थचारिएर बसिरहन सकिन्छ र ! पाइला लम्किनै हतारिन्छ। प्रकृतिको दिव्य रूप देख्नै आतुर भइरहँदो रहेछ।
नचिनेका चराका नबुझिने गुञ्जनले पनि प्रेरणा दिने। हिमाली पठार, रुखो भूमिमा पनि सुन्दरताका रङ देख्न सकिने। अनाम पहाडका थुम्का, ढुङ्गाका बढेमान थुप्रा र सलल लुक्दै, देखिँदै बगिरहेका नदीले पनि उत्साह उमार्ने। बदलिइरहने बादलले पनि हिँड्ने हिम्मत थपिदिने। अरू त अरू बाटैभरि आऊ-जाऊ गरिरहेका सयौं यात्रीसँगको जम्काभेटले त झन् कहाँ थाकें भनेर बस्न मन हुने र! झटपट हिँडिहाल्न, जर्याकजुरुक उठेर बाटो छिटो छिचोलेर हेरिहाल्न हतार हुँदोरहेछ।
हिँड्नुसम्म हिँडेर पैताला दुखुन्जेल, थाक्नुको पनि पराकाष्ठा ! हिँड्नुको आनन्द अलि बेग्लै। हिँडाइको मजा पनि अलि अर्कै। हिँड्न सक्ने र नसक्नेहरू सबै हिँडिरहेका ओहोरदोहोर दोहोेरीलत। रमाउँदै उकालो चढिरहेका, ओरालो झरिरहेकाहरू। सजिलै एकपछि अर्को पाइला–पदचापका हिँडन्तेहरूको हुल भेटेपछि। यति भएपछि हिँड्ने हिम्मत कहाँ मर्छ र, हिँडुवाका कालहरू भेटेपछि। जाज्वल्यमान हिमाल देखेपछि। आँखै सामुन्ने सौन्दर्यमय छटाहरू देखा परेपछि। मन कहाँ बसिरहन मान्छ र ! आँखाले नहेरी कहाँ धर पाउँछ र !
अन्ततः थाकेको ज्यान हर्षले फुरुङ्ग भएर बुरुक्क उफ्रिँदोरहेछ, उकालोको कठिनाइ बिर्सेर। फतक्क गरेको पीडा पलभर पनि नसम्झी। रमाउनुसम्म रमाउन पाइने रहेछ चिसोलाई पनि भुलेर। मान्छे उडाउने हावालाई पनि धैर्यले रोकेर। अचम्मकै हुने रहेछ प्रकृति प्रेमको नशा !
यति भएपछि अरू के चाहियो घुमन्तेलाई। खोजेको कुरा पाएपछिको खुसी असीमित हुने रहेछ। पदयात्राको लिनुसम्म मजा लिएपछि हिँडाइ त केही हुँदैन रहेछ। केवल हिँडुन्जेलको सास्ती मात्रै। पैताला सार्नुको कठिनाइ मात्रै। जब भन्ज्याङ पुगिन्छ, देउरालीमा बिसाइन्छ, सारा थकाइका दुखाइहरू त्यहीं समाप्त हुन्छन्।
ओहो ! त्यहाँबाट प्राकृतिक सुन्दरताका नवयौवनहरू दृश्यमान। आकर्षक मुहार-मुस्कानहरूले ग्वाम्लाङ्ग अँगाल्न आउने रहेछ। चुपचाप चिनारी गाँस्न तम्सिने रहेछ। प्रेमको पराग र मायाको मिठासले भरिभराउ हिमालसँग साक्षात्कार हुन पाएपछि खुसीले सीमा नाघ्ने रहेछ। बुढ्यौली उमेर पनि तारुण्य तामझाममा ताउरमाउर गर्न थाल्ने रहेछ।
साँचो अर्थमा यो हिमालको प्रेम, मायाको प्रेम, जीवनको प्रेम, प्रकृतिको प्रेम। कुन बिरानो देशदेखि आएका विदेशी यहाँ बिरानो बन्दैनन्। नेपाल प्रेम र हिमाल प्रेमले मोहित भएर आएका पाहुना–पर्यटक हिमाल देखेर, प्रकृतिलाई भेटेर कति खुसी ! हिमालको अँगालोमा बेरिएर मायाको मिठास साट्ने, हार्दिकता बाँड्ने, नाचेर, हाँसेर, गाएर रमाउनुसम्म रमाउने।
सुरम्य पुमोरी हिमालको काखमा कालापत्थरको ज्यान खाने उकालो। तथापि वरिपरि हिमाली सौन्दर्यको मृदु स्पर्शले अघाउँजी तृप्ति दिने। मनमोहक प्रकृतिले लट्ठै पार्ने। पारिपट्टि सगरमाथा शिखरका पर्वतमालाका लस्कर। यी सुन्दरतामा चुर्लुम्मै डुबेपछि हर्षित अनुहार र अभिव्यक्तिमा जीवनकै सर्वाधिक खुसी स्वतः प्रस्फुटित भइरहँदोरहेछ।
यति प्रेमिल दृश्य देखेर भावुक म। हिमाल देखेर नतमस्तक म। आहा ! धन्य प्रकृति तिमीलाई सतत प्रणाम ! आफ्नै सामुन्ने आँखै अगाडि ज्वाज्वल्यमान सगरमाथाको शिर देखेर, कति हो कति रमाएर म उफ्रिँदै, उड्दै उत्पातको खुसीले ‘भुइँमा न भाँडोमा’ भइरहे जस्तै।
एकलासको यात्रा तर अत्यासको भएन। एक्लै पैदल तर यात्रीको भिड। त्यसमा कहिले आफैं हराएँ, कहिले भिडको भिडामभिडमा परें। आँखाले देखायो बाटो, मनले बढायो साहस, पाइलाले मार्यो फड्को अनि हिँड्यो यात्रा।
आँखाले देखाएर संसार चिनायो। आँखाले नै सौन्दर्यसँग साक्षात्कार गरायो। मृगतृष्णा पनि आँखाकै। असन्तुष्टि, अतृप्ति पनि। अनि देखेर आँखाले सौन्दर्यका तरेलीहरू। तर अपरिमित खुसीले रमाउने चाहिँ मन हुने रहेछ। आँखाले त देख्ने र देखाउने मात्र। आनन्दानुभूति गर्ने त मन नै हुने रहेछ।
प्रसिद्ध र सर्वोच्च शिखर सगरमाथा सामुन्ने पुगेर मैले जीवनकै सर्वाधिक खुसी महसुस गर्न पाएँ। फराकिलो हिमाली क्षितिजलाई भावनाको मालामा उनेर सजाउँदा आत्मिक खुसीले प्रफुल्लित हुनुको पाटो बेग्लै हुने रहेछ।
विदेशीले त सगरमाथा फेदी टेकेवापत् आफ्नो देशमा धेरै सुविधा, सहुलियत र सम्मान पाउने रहेछन्। हामी नेपालीले पाउने भनेको आत्मसन्तुष्टिका खुराकहरू मात्र। शिखर सामुन्ने पुगेको केवल आफूलाई आत्मगौरव मात्र।
प्रकाशित: २८ पुस २०८० ००:३० शनिबार