शीर्षक हेरेरै प्रश्न उठ्न सक्छ-‘के वास्तविकता यही हो?’ शतप्रतिशत यो जवाफलाई सही नठहर्याए पनि यसभित्र कहीं न कहीं वास्तविकता लुकेकै छ। साँच्चै नै, नेपाली साहित्यले आजको मितिमा कत्तिको गरिमा बोकेको छ? यो एउटा सोचनीय विषय हो।
लगभग चालीसको दशकको सेरोफेरोसम्म युधीर थापा र प्रकाश कोविदका उपन्यास एक्लैले वा दीर्घबाहुलगायतका जासुसी उपन्यासहरूले नेपाली पाठकको माहोल तताउँथे। त्यो परिवेशमा पाठकीय दृष्टिकोणले नेपाली साहित्य भनेर पढिने आख्यान वा कविताहरूको कुनै गन्ती नै थिएन भन्दा पनि हुन्छ। तथापि गम्भीर पाठकहरूले सम, देवकोटा, बिपी, गोठाले–विजय मल्ल, भीमनिधि तिवारी, रिमाललगायतका साहित्यको चर्चा–विमर्श गरिरहेका हुन्थे।
खास गरेर २०३६ सालको सडक–कविता क्रान्तिपछि मूलतः नेपाली कविताको क्षेत्र खुलेर बजारमा देखियो। बन्द पर्दाभित्र रहेका नाटकहरू पनि सडक र डबलीहरूमा मनग्ये देखिन थाले। क्रमशः कथा, उपन्यासको बजार पनि बढ्दै गयो।
लघुकथाको विधा पनि निकै फस्टाएर गयो। गीतहरूको रेकर्डिङले रेकर्ड तोड्यो, अझ त्यसभन्दा पनि अघि बढेर गजलहरू लेखिन लागे। मुक्तक वा हाइकु लेख्नेहरूको सङ्ख्या पनि अनगिन्ती भयो।
नेपाली साहित्यमा यस्तो दिन पनि आयो, घरघरमा साहित्यकार देखिन थाले। साहित्यकार पनि यस्ता कि तिनका कलमबाट लेखिन नसक्ने भनेको कुनै विधा नै रहेन। जे पनि, जतिबेला पनि साहित्य सिर्जना गर्नमा पोख्त। यही स्थितिलाई देखेर साहित्यिक बजारमा कहिलेकाहीं हँसीमजाकमा भन्ने पनि गरिन्छ–तपाईंले आफ्नो घरको कौसीमा गएर ढुङ्गाको सानो टुक्रा जुन दिशातिर फाल्नोस्, त्यो ढुङ्गा लागेर ‘ऐया !’ भन्ने व्यक्ति एउटा कवि नै हुन्छ। अर्थात्, समाजको आज जुनसुकै स्थानमा जानुस्, त्यहाँ कवि–लेखक नै पाउनुहुन्छ।
कवि–लेखकको सङ्ख्या बढ्नु कुनै पनि मुलुकको विकासका लागि सकारात्मक पाटो हो, यसमा दुईमत हुनै सक्तैन। तर, हाम्रो देशको यही सकारात्मकताभित्र एउटा गहिरो प्रश्न भने उठिरहेको देखिन्छ– के साहित्यकारको सङ्ख्या बढ्दैमा साहित्यिकताको गुणात्मक मात्रा पनि बढेको ठहरिन्छ?
स्वाभाविक रूपमा प्रश्न उठिरहेको छ-साहित्यकारसँगसँगै के यहाँ साहित्यिक विकास भएको छ? ‘छैन’। सामान्यतः आजको साहित्यिक सिर्जनाको पठन–संस्कृति हेर्दा सहजै यही जवाफ दिन सकिन्छ।
यो कुन आधारमा भन्न सकिन्छ भने आज छापिएका किताबहरू (केही अपवाद छाडेर) का पाठक नै छैनन् भन्दा पनि हुन्छ। मुस्किलले ५ सयप्रति छापिएका किताब वर्षौंवर्षसम्म पनि सकिन्नन्, त्यो पनि बिक्री गरेर होइन, बाँडेर। जबकि मोतीराम भट्टका पालामा पनि ५ सय नै किताब छापिन्थे।
यति धेरै समयको अन्तरालमा पनि किताब छापिने सङ्ख्यामा बढोत्तरी हुन नसक्नुमा आजका किताबहरूका पाठक नरहेकै बराबरी हो भनेर मान्नुपर्छ। यहींनेर अर्को जोडिएर प्रश्न उठाउन सकिन्छ-पाठक नबढ्नुको कारण के होला? यसको जवाफ खोज्दै जाँदा सिधै आजको लेखनको गुणात्मकतातर्फ प्रश्न सोझिन्छ।
पाठकले लेखकलाई लगाउने दोष नै अहिले यही भएको छ कि आजको लेखन एकदमै हल्का छ, सतही छ। तिनको प्रस्ट आरोप छ-साहित्यले मान्छेको मन छुनुपर्छ, त्यो हृदयग्राही हुनुपर्छ।
जुन आजको साहित्यमा पटक्कै पाइन्न। साँच्चै सही नै लाग्छ पनि यो आरोप। कदाचित् आरोप सही नहुँदो हो त पाठकका मन मनमा बस्नुपथ्र्यो आजको साहित्य। एउटा प्रासङ्गिक उदाहरण-
राजधानीस्थित एक प्रकाशकले चर्चित बनाएका एक तथाकथित लेखकको एउटा प्रकाशोन्मुख नयाँ किताबको चर्चा महिनौंदेखि भइरहेको थियो। छापिएर आएपछि हो न हो चर्चाका पछि दौडिएर करिब ७ सय रूपैयाँमा सो किताब किन्नेहरूको भिडमा मेरा एक मित्र पनि परे। पढ्न लागेको केही घन्टामै सम्भवतः उनले किताब पूरै पढी नसकी फेसबुकमा एउटा मज्जाको यस्तो बेहोराको स्टाटस लेखे-‘मेरो एक हप्ताको खाजाको अपहरण भयो, यसको क्षतिपूर्ति सम्बन्धित प्रकाशकबाट गराऊँ कि लेखकबाट?’
आशङ्का पनि उठ्छ, खास गरेर अखबारले चर्चा चलाएर कथित ‘सेलिब्रेटी’ बनेका लेखकहरूले चर्चित बनिरहनकै लागि पो लेखेका हुन् कि! अथवा नवलेखकहरूले पनि लेखक हुँ भन्ने आत्मरतिका लागि पो लेखिरहेका हुन् कि! अन्यथा, केका लागि लेखिरहेका हुन्? कोही लेखकले त किताबको आयतन जति मोटो बनाउन सकिन्छ, त्यति नै ‘ठुलो लेखक’मा दरिने सोच राखेका पनि भेटिन्छन्।
अझ, रमाइलो कुरो त के छ भने, कुनै किताब लेख्नका लागि कलम समाउनेबित्तिकै अधिकांश लेखकको उद्देश्य कुनै न कुनै ‘पुरस्कार’ हुन्छ। लेखकले ‘होइन’ भने पनि यस्तो विसङ्गतपूर्ण उद्देश्यको परम्पराले नेपाली साहित्यमा नराम्रोसँग जरा गाडिसकेको छ। पुस्तकहरू सम्पादन गर्ने क्रममा मलाई यस्तो पनि अनुरोध आउने गर्छ, जसको आशय–आकाङ्क्षा एउटा निश्चित पुरस्कार प्राप्त गर्ने हुन्छ।
मलाई लाग्छ, आजका लेखकको मूल समस्या भनेको तिनमा आत्मविश्वासको कमी हो। आफ्नो लेखनप्रति पूर्ण विश्वास गर्न नसक्ने लेखकले कलम समाउनुको अर्थ के छ? र, त्यसभन्दा पनि बढी आजका अधिकांश लेखकमा धैर्यको मात्रा अत्यन्तै कम छ।
यसका अलावा कुनै किताबले पुरस्कार पाएको देखेर, किताबभन्दा पनि किताब–लेखकप्रति ईष्र्याभाव राख्ने दुश्चरित्र बोक्ने लेखकहरूको सङ्ख्या बढ्दै गएको पाइन्छ। अन्यथा, साँच्चै कुनै पनि पुरस्कार पाएका किताबभन्दा पनि गहन–गुणात्मक किताबहरूको सङ्ख्या बढ्दै जानुपथ्र्यो। तर, त्यसो भइरहेको छैन, त्यतातिर लेखकहरूको ध्यानभङ्ग भएको देखिन्छ।
एउटा गहन कुरो, कलम समाउनेहरू इमानदार हुन्छन्, हुनु नै पर्छ। कलमका प्रत्येक हरफहरू सत्य हुन्छन्। कदाचित् कुनै कुरो गलत लेखियो भने त्यसलाई गलतकै अर्थमा भनेर, सही हो भनेर लेखिन्न। अर्थात्, कलम उठाउनेले सत्यकै लागि लेख्छ। केवल पुरस्कार वा सम्मानलाई नै सबैभन्दा ठुलो ‘सत्य’ मान्नेहरू वास्तविक लेखक होइनन्, हुनै सक्तैनन्। दुर्भाग्य! वर्तमान समय यही घट्टमा घुमिरहेको छ।
प्रकाशित: १६ मंसिर २०८० ००:०२ शनिबार