कला

राजनीतिमा आउने सुपरस्टार रजनीकान्तको घोषणा

मुम्बई – दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तले राजनीतिमा आउने घोषणा गरेका छन्। एसियामै सबैभन्दा बढी पारिश्रमिक लिनेमध्येका एक ६७ वर्षीय अभिनेता रजनीकान्तले छिट्टै राजनीतिक दल दर्ता गरेर तमिलनाडुको सिस्टम सुधार्न राजनीतिमा आउने सन्देश आफ्ना प्रशंसकलाई दिएका हुन्। उनले आगामी भारतीय राज्य विधानसभा निर्वाचनमा भाग लिने योजना समेत सार्वजनिक गरेका छन्।

चर्चित मुख्यमन्त्री जयललिताको निधनपछि तमिलनाडुमा राजनीतिक अस्थिरता बढेको छ। जयललिता फिल्मबाटै राजनीतिमा आएकी चर्चित नेतृ थिइन्। जयललिताको निधनपछि राज्यमा बढ्दो अस्थिरताका बीच रजनीकान्त राजनीतिमा आउन लागेका हुन्।

आइतबार आफ्ना प्रशंसकलाई चेन्नईमा सम्बोधन गर्दै रजनीकान्तले आगामी चुनावमा तमिलनाडुका २३४ क्षेत्रमै आफ्नो पार्टीले चुनाव लड्ने र राजनीतिक अस्थिरता अन्त्य तथा प्रणाली सुधार गर्ने आफूहरुको लक्ष्य रहेको बताए।

‘मैले राजनीतिमा आउने फैसला गरिसके । राजनीतिलाई पारदर्शिता र इमान्दार बनाउने, राज्यमा सिस्टम बसाउने हाम्रो प्रमुख योजना छ,’ आफ्ना समर्थकलाई उनले भने– ‘मलाई लाग्छ यो काम निकै चुनौतिपूर्ण छ, तर यदि जनताको समर्थन र भगवानको आर्शिवादले यो सम्भव छ।’

बेंगलौरमा बस कन्डेक्टर हुँदै फिल्मी दुनियाँमा प्रवेश गरेका रजनीकान्तको राजनीतिमा प्रवेशले उनका दर्शक र प्रशंसकलाई उत्साहित बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित: १६ पुस २०७४ १३:१३ आइतबार

राजनीतिमा आउने सुपरस्टार रजनीकान्तको घोषणा