ठीक ६ बजेको टिकट थियो अवधा असम एक्सप्रेसको। न्यु जलपाइगुडीको रेल्वे स्टेशनमा हामी चार घण्टादेखि त्यही समयको प्रतीक्षामा थियौँ। काकडभिट्टाबाट यहाँ आइपुग्दा चर्को घाम लागेकाले निकै गर्मी थियो। हामी रेल्वे स्टेशनमा पुग्दा सबै बत्तीहरू बलिसकेका थिए। गर्मीको हपहपी विस्तारै घट्दै गइरहेको थियो। साँझको छ बज्नै लागेको थियो। हामी हाम्रो टिकटमा लेखिएको नामको रेल चढ्न निश्चित ठाउँमा पुगेर बसिरहेका थियौँ। त्यही बेला उदघोष भएको नारी आवाजले हामीलाई एक घण्टापछि मात्र तयार हुन अनुरोध गर्छ।
हामी सत्र जना छौँ। स्रष्टा समाज नेपालबाट असमको साहित्यिक यात्रा टोलीमा। ठूला टाली भएकोले सबै जना एकै ठाउँमा छैनौँ। सानोसानो समूहमा बाँडिएका छौँ। सबैतिर मस्तले गफ चलिरहेका छन्। रेल्वे स्टेशन हो, मान्छेका भीड बढ्ने र घट्ने भइरहेका छन्। प्रत्येकका हातमा ठूलासाना झोलीतुम्बा छन्। सबै आआफ्ना गन्तव्यमा पुग्न हतारिएका छन्। ठाउँ एउटै भए पनि यहाँ अनेक यात्राका यात्रीहरूको सङ्गम बनेको छ।
‘हँ लेमन टी, हँ लाल चाय ... ’ जस्ता आवाजमा स्टेशनका मोबाइल पसलेहरू वरिपरि आएर कराइरहेका छन्।
रेल आउँछ र हामी चढ्छौँ। त्यसपछि त झन् रोटी तरकारी, पानी, खेलौना, टिसर्ट,पर्स हातमा बोकेर बेच्न आउनेहरू आएको आइनैरहेका छन्।
रातिको सात पन्ध्रमा रेल ढ्याकढ्याक गरेर अगाडि बढ्न थाल्छ। सत्र जनामध्ये हामी छ जना एउटा बोडीमा परेका छौं। चेतनाथ जोडी, गोकुल जोडी, देवकी सर र म।
बिहान तीन बजे गोहाटी पुर्याउने रेलको टिकटमा लेखिएको भए पनि ढिलो भएको कारण बिहान पाँच बज्न लाग्दा रेलबाट ओर्लन्छौँ हामी। राम्रोसँग उज्यालो भइनसकेको प्लेटफर्मले हाम्रो समूहलाई फेरि एकत्रित गराउँछ।
नेतृत्व गरिरहनुभएका राजेन्द्र भिनाजुको निर्देशनअनुसार हामी प्लेटफर्मबाट बाहिर निस्कन थाल्छौँ। उहाँले हामी बस्ने होटल स्टेशनबाट नजिकै भएकाले पैदल नै जाने बताउनुभएको थियो। हामी सत्र जना देखेर बिहान बिहानै कमाउन आएका कुल्लीहरू सामान बोक्न अघिपछि लाग्न थाल्छन्। बाहिर निस्कनासाथ ट्याम्पु र ट्याक्सी चालकहरू आआफ्ना साधनमा चढ्नका लागि बोलाउन थाल्छन्।
केही मिनेटमा नै हामी पल्टन बजारको नेपालीमन्दिर नजिकै पुग्छौं। सहारा होटलको ढोका खोलिसकेको छैन। बन्द ढोका ढकढकाउनुुहुन्छ भिनाजु। नजिकै हिजो दिनभरिको समाचार छापिएका अखबारको डुङ्गुर झारिंदै छन् गाडीबाट।
आँखा मिच्दै आएर ढोका खोल्छ एक जना केटोे। असामी भाषामा कुरा गर्नुहुन्छ भिनाजु। सामान बोकेर हामी काउन्टरमा पुग्दा अर्को स्टाफ पनि तयार भइसकेको थियो। छौँ हामी सत्र जना। सात वटा कोठा बुक गरिएको रहेछ। तर अहिले खाली मात्र चार वटा कोठा रहेछ। बाँकी कोठा बाह्र बजेको चेकआउटपछि मात्र हुने बताइयो।
यात्रामा जतिखेर जेको व्यवस्था हुन्छ त्यसैमा व्यवस्थित बन्न सक्नुपर्छ। केही गुनासाका गनगन सुन्न थालिसकिएको थियो। रेलमा रातभरि सुत्न पाएको छैन। कोठाको व्यवस्था भइहालेको भए मजाले दुई घण्टा सुत्न पाइन्थ्यो। सबैको अपेक्षा त्यही थियो।
हाम्रो होटलनजिकै थियो नेपाली मन्दिर। हामी समूहसमूहमा गएर दर्शनका लागि जान्छौँ। तीन जना टीका लगाउन बसेका युवा पण्डित बिहान बिहानै फेसबुकमा मस्त छन्। आएकाहरूलाई टीका लगाएर दक्षिणा कमाउन बसेकाहरू त्यसैलाई गौण बनाइरहेका छन्।
‘अब कामख्या मन्दिर जाऔँ यतैबाट।’
‘होटलले दिने ब्रेकफास्ट गरेर जाने हो कि?’
‘कहाँ मन्दिर जान खाएर जाने?’
‘आस्था त मनमा हुन्छ, पेटमा कहाँ हुन्छ।’
‘दुइटा गाडी रिजर्भ गर्नुपर्ने।’
‘होइनहोइन, यहींबाट बसहरू मन्दिरसम्मै पुग्छ।’
बसवालाहरू हाम्रो नजिक आएर रोक्छ र सहचालक चढ्नलाई कराइरहन्छ।
‘जाऔं न त जाऔं।’
मन्दिरसम्म पुग्छ भनेपछि हामी गुटुटु चढिहाल्छौँ।
कहाँको मन्दिर पुर्याउनु? फेरि अर्को बस चढेर जानुपर्ने रहेछ। भारत पुगेपछि कुनै कुराको पनि भर हुँदैन भन्ने नजानेको होइन तर सहचालकले भरै पारेर धोका दियो। फेरि अर्को बसमा चढ्छौं गुटुटु। सबै आआफूप्रति सचेत छन्। आआफ्नाप्रति सचेत छन्। ८० वर्षका ‘अभिव्यक्ति’का नगेन्द्र दाइ भने आफ्नै सुरमा उक्लनुहुन्छ।
निकै प्रसिद्धि कमाएको माईको मन्दिरमा पुगेपछि फेरि एकछिन हाम्रा राय बाझिन्छन्।
‘मन्दिरमा लाइन लागियो भने चारपाँच घण्टा लाग्नसक्छ।’
‘होइन, आइतबार हो यहाँ धेरै भीड हुने। आज त बिहीबार हो।’
‘लल जाऔंँ।’
मन्दिर पुग्ने भर्याङ उक्लन शुरु भएदेखि नै पशुपतिमा जस्तै ‘जुत्ता यहाँ राख्नुस्, पूजा सामान लिनुस्।’ प्रत्येक पसलेका एकनासे आवाज आइरहेका छन्।
हामी कसैलाई वास्ता नगरेर सरासर भर्याङ उक्लन्छौँ। छिनमा पानी पर्ने र छिनमा रोकिने भइरहेको छ। राताराता लुगा लगाएका मानिसहरू मन्दिर परिसरमा धेरै देखिन्छन्। पण्डितहरू होलान् शायद। अरूका लागि सङ्कल्प गरिदिने, पूजापाठ गरिदिने। कोही घण्टी बजाइरहेका छन्। कोही मन्त्र भट्टयाउँदै घुमिरहेका छन्। गन्हाउने ठूला बोकाभन्दा धेरै ससाना पाठाहरू यताउति गरिरहेका छन्। केही प्राप्तिका लागि छाडिएका हुन् कि भाकल पूरा भएकोमा कृतज्ञताका परिणाम हुन्?
मन्दिर परिसरमा पुगेपछि हामी बाँडिन्छौँ।
विभा भाउजू भन्नुहुन्छ,‘यहाँसम्म आइसकेपछि म त पाँच सयको टिकट लिएरै भए पनि दर्शन गर्छु।’
गोकुलजी काउन्टरतिर जानुहुन्छ र भगवानलाई दर्शन गर्ने टिकट किनेर ल्याउनुहुन्छ। उमा भाउजूले पनि मन गरेपछि विवशजी पनि थैली खोल्दै काउन्टरबाट भगवान्को टिकट ल्याउनुहुन्छ। सीता भाउजू पनि एकछिन अघिसम्म दर्शन जहाँबाट गरे पनि भइहाल्छ भन्दै हुनुहुन्थ्यो। उहाँ पनि हाँस्दै टिकट लिन जानुहुन्छ। भगवान् दर्शन गर्न पैसा नलाग्ने लाइन पनि छ तर निकै लामो। पाँच सयको टिकट काट्ने भक्तलाई टिकट हेर्दै भित्र छिराउँदै गर्दैछन् पाले दाइ। नजिकै अर्को एउटा पनि लाइन छ सेना र सेनाका परिवारहरूका लागि मात्र।
मन्दिरमा धन हुनेहरूलाई दिएको सुविधा ठीकै हो। तर, यस्तो पवित्रस्थलमा मन हुनेहरूले दुःख पाउनुपर्ने गरेको व्यवस्थापन भने ठीक लागेन मलाई। अन्त त भयोभयो मन्दिरमा पनि धनकै बोलावाला। पैसा भनेपछि भगवान्को पनि त्रिनेत्र भनेको यस्तै भएर होला शायद। देवीलाई साक्षी राखेर भक्तहरूप्रतिको विभेद कुनै किसिमले पनि मिलेकोजस्तो लागेन।
देवदेवीका लागि त धन हुनेभन्दा मन हुने झन् नजिकिनुपर्ने हो। यस्तो विभेदको औषधी अड्डा अदालतमा हुने कुरै भएन। मान्छेले शासन गर्ने ठाउँमा पनि सम्भावना हुने पनि कुरै भएन। तर बोल्नै नसक्ने देवदेवीको मन्दिरमा गरीब र धनीलाई गरिएको फरक व्यवहारले मन अमिलो बन्छ मेरो। आकाशबाट छिनछिनमा पानी परिरहे पनि ओत लागेर बसेका छौँ हामी। तर पनि मन भने निथ्रुक्कै भिजेकोजस्तो भइरहेको छ मेरो।
हामी विना टिकट देवीको दर्शन गर्न चाहन्छौँ। आस्थाको कुरामा पनि व्यावसायिक व्यवहार म पचाउनै सक्दिन। यही मतका हामीलाई नजिकैबाट घुमाउन लैजानुहुन्छ भिनाजुु। मन्दिरको मूर्तिभन्दा आठ फिटजति टाढाबाट दर्शन गर्न पाएपछि हामी तृप्त हुन्छौ। भगवान् सर्वत्र भएको विश्वास गर्छौँ हामी सनातनी तर तोकिएको मोल तिरेर हातैले छोएपछि बढी फल पाउने आशा गर्छौँ। किन अन्तरमा आनन्द प्राप्त गर्न खोज्छौँ हामी? त्यो पनि धर्मका नाममा?
दर्शनमा कुनै समय लाग्दैन हामीलाई तर टिकटको लाइनमा बसेका साथीहरू भने कता हो कता? हाम्रो काम उहाँहरूलाई कुर्ने मात्र हुन्छ। कहिले चिया पिएर कुर्छौं। कहिले मन्दिर बाहिर गएर कुर्र्छौँ। हामी सबैका पाका नगेन्द्र दाइ कहिले पनि मन्दिरभित्र जानु हुँदैन रहेछ। त्यसैले उहाँको न गुनासो न टिप्पणी।
मन्दिरनजिकै कुरिरहेको बस चढेर हामी ब्रह्मपुत्र नदीको किनारमा पुग्छौँ। ब्रह्मपुत्र नदी विशाल छ। किनारामा ठूलाठूला जहाजहरू बाँधिएर राखिएका छन्। सानासाना डुङ्गाहरू पनि छन्। प्रति व्यक्ति एक सय पचास तिरेपछि बग्दै गरेको ब्रम्हपुत्रको पानीमा खियाउँदै उमानन्दन मन्दिर दर्शन गराएर ल्याइदिनेरहेछ।
पोखराको फेवातालमा डुङ्गा चढेर तालबाराही मन्दिर गएजस्तै। तर,उमानन्दन मन्दिर भने टापु जस्तो ठाउँमा छ। टापुमा भएकाले डुङ्गाबाट ओर्लिएपछि केही भर्याङ उक्लनुपर्छ। उमानन्दनथान पुग्न करीब १५ मिनेट लाग्ने रहेछ।
ब्रम्हपुत्रको बीचमा एउटा स्तम्भजस्तो राखिएको छ, पानीको सतह मापनका लागि। ब्रह्मपुत्र किनारामा त्यति चलायमानजस्तो नदेखिए पनि मध्यमागमा निकै गतिमान देखिन्छ। पानीमा एकनासले जलकुम्भीहरू कुनै ठाउँमा बगिरहेका छन्। कुनै ठाउँमा भुमरीजस्तोमा परेर घुमिरहेका छन्। घडी हेर्छु चार बजेपछिको समय रहेछ।
गोहाटीको दिन तीर्थाटनका लागि मात्रै हुने भो। अन्यत्र कतै घुम्ने कार्यक्रम केही पनि भएन। तीन बजे हामी बसेकै होटलमा यहाँका लेखकहरू आउने भएकाले हामी साढे दुईतिर नै होटलमा पुगिसक्छौँ। होटलको रेष्टुरेन्टमा लीलबहादुर क्षेत्री, नव सापकोटा, गोमा शर्मा लगायतका केही लेखकसँग परिचय र विचार आदानप्रदानका लागि विमर्श गर्छौं।
२६ गते बिहान लीलबहादुर क्षेत्रीसँग अन्तर्वार्ता लिन बिहानै निस्कन्छौँ। नगेन्द्र दाइ, देवकी सर र पवनजी, भिनाजु र म। फुटपाथमा चिया पिएकै ठाउँबाट लीलबहादुरको घर पुग्ने ठेगाना सोध्नुभो भिनाजुले। हिँडेर दशपन्ध्र मिनेटमा पुगिने रहेछ।
आजै डिफु जाने कार्यक्रम छ हाम्रो। यात्राको मूल कार्यक्रम डिफुको कावरी भन्ने ठाउँमा हुनेछ। कार्यक्रमवारे विस्तृतमा अरु केही बुझिएको छैन र बुझ्न चाहेको पनि छैन। फुटपाथमा चिया पिइरहेको बेला डिफु जाने गाडीको मोलमोलाइ गर्नुहुन्छ भिनाजुले। एउटासँग सहमति पनि बन्छ। गाडीबारे गोकुलजीलाई फोनबाट जानकारी गराएपछि भिनाजु, पवनजी र म लीलबहादुर दाइको घरमा जान्छौ अन्तर्वार्ताका लागि।
हामी होटलमा फर्कंदा सबै जना डिफु जानका लागि तयार भइसकेका थिए। हामी हतारेर ब्रेकफास्ट लिन्छौँ र तयार हुन्छौँ भनिएकै समयमा। तर एक घण्टा जति कुर्दा पनि बस आइपुग्दैन।
यात्रामा निस्किदा एक प्रकारको मानसिकता तयार भएको हुन्छ। त्यसमा अवरोध हुँदा उत्साहमा ह्रास आउँछ। अरूलाई हुन्छ हुँदैन तर मलाई भने हुन्छ। बसवालाले दिएको मोबाइलको नम्बर त स्वीचअफ रहेछ। बसवाला हुँ भन्नेले धोका दिएको पक्का भएपछि भिनाजु र गोकुलजी फेरि अर्को बसको व्यवस्था गर्न जानुहुन्छ। हामी होटलको लबीमा बसेको धेरैबेर भइसकेको थियो। सडकको पेटीमा हाम्रा सुटकेशहरू थुप्रिएको पनि धेरैबेर भइसकेको थियो।
घडीको सुईसँगै घाम क्रमशः बढ्दै गइरहेको थियो। शरीरबाट चटचटी पसीना छुट्न थालिसकेको थियो। सडकमा ठेलमठेल जस्तै गरेर कुँदिरहेका ठूलासाना गाडीहरू र एकनासले बजाइरहेका हर्नको दिक्कलाग्दो आवाजले त्यसै विरह लगाइरहेको छ। झन् हामी घण्टौंदेखि यात्राका लागि गर्मीमा कुरिरहनुपरेकाले तनाव हुन थालेको छ।धन्य गाडीको व्यवस्था भइहालेछ। गाडी होटलबाहिर रोकिनासाथ हामी सामान भटाभट पछाडिका सिटहरूमा राख्छौँ।
गाडी सानो भएकाले जसोतसो मिलाएर बस्छौं। तर आयोजकलाई दिन ल्याएका पशुपति र स्वयम्भू राखिएको सिसाको बट्टा कसैले पनि नदेखेको कुरा हुन्छ। कतै पर्यो कि भनेर यताउति खोजी गर्छौं तर कतै पनि भेटिंदैन। त्यही बेला सामान ओसारिहेको वेटरले सम्झेजस्तो गरेर भन्छ,‘ए त्यो सामान त मैले २०५ नम्बरमा बस्नेको गाडीमा पो राखिदिएको थिएँ।’
होटल कर्मचारीसँगै गएर साथीहरू काउन्टरमा फोन गर्न जानुहुन्छ।
गाडीमा बीचका एक्ट्रा सिटहरू समेत गरेर सत्रै वटा मात्र छन्। त्यसरी नै टाउका र सिट गन्नुभएको रहेछ गोकुलजीले। एकातिर बसवालाले दिएको धोका,अर्कातिर ढिलो भएर ढिलै पुग्ने समस्या र गर्मीको हपहपीले सबैका दिमाग तातिसकेका थिए। बसवालासँग भाडाको कुरा मिलेपछि छतमा सामान राख्ने छ कि छैन भन्नेतिर ध्यानै गएनछ। मान्छे मात्र पनि सजिलोसँग बस्न नसक्ने मिनि बसमा २०–२० वटा सुटकेश राखेपछि बस्न के सजिलो हुन्थ्यो र? फेरि यात्रा छोटो पनि होइन झण्डै छ घण्टाको।
हाम्रो उपहार चढेको गाडी विमानस्थल जाँदैरहेछ। उनीहरूले पनि फोन आएपछि रोकेर हेर्दा मात्र अरूको सामान भएको थाहा पाएछन्। तर उनीहरू २५ किलोमिटर टाढा पुगिसकेका रहेछन्। प्लेनको समय भइसकेकाले उनीहरू फर्कने कुरो भएन। त्यसैले होटलको गाडी लिएर एकजना कर्मचारी हुइँकिहाले। त्यो सामान नआउन्जेलसम्म कुर्नैपर्ने भयो फेरि। तर असहज बसाइ, घर्केको समय, सामानको कुराइ र गर्मीले तातेका केहीले आक्रोश व्यक्त गर्न सुरु गरिहाले।
‘यस्तोमा जान सकिँदैन। अलिकति हेरेर ल्याउनुपर्छ नि।’
‘सामान राख्ने छ छैन त हेर्नुपर्थ्याे नि।’
‘बरु दुइटा सुमो लिएर जाऔंँ।’
हाम्रो टोलप्रमुख पवनजीले केही बोल्नु हुन्न। भिनाजुले भने गुनासो गर्नेहरूलाई मुखभरिको जवाफ दिनुहुन्छ। गोकुलजी तपतपी पसिना चुहाउँदै हाँसेर बोलिरहनुभएको छ। ड्राइभर सहचालक पनि अबेर भयो भनेर कराउन थालिसकेका छन्। सन्दर्भ मोड्न विवशजी र मैले साहित्यिक क्षेत्र र साहित्यकारका केही रमाइला सन्दर्भ सुनाउँछौँ। माहोल मनोरन्जक बन्छ। डेढ घण्टा जतिपछि एक झोला चिसो पेय लिएर आउनुहुन्छ गोकुलजीे। तातेको मौसम र तातेको मानसिकतालाई चिसो बोतलले राहत पुर्याँउछ।
दश बजेदेखि तयार भएका हामी पौन एक बजे हाम्रो मिनीबस मूलसडक भएर अगाडि बढ्नथाल्छ। त्यसपछि बल्ल मिनीबसका झ्यालबाट पसेका हावाले सबैलाई शीतल बनाउँछ।
असमको हाइवे ४७ मा मिनीबसको गति पनि चर्कै छ। शायद ड्राइभरले कुर्नुपरेको समय पनि व्यवस्थापन गर्न खोजिरहेको हुन सक्छ। हाम्रो कुनै गुनासो छैन। यात्रा भनेको यस्तै हो।
बसभित्र वातावरण रमाइलो बन्दै गइरहेको छ। हिजो साँझ अजन्ता कम्पनीको जुत्ता किनेको थिएँ मैले। सबैभन्दा अगाडि बस्नुभएका भिनाजु पटकपटक जुत्ताको पार्टी ख्वाउनुपर्यो भनेर पछाडि फर्किरहनुभएको छ। कसैले ठट्टै गरेर भनेको पनि थियो –जुत्ताको पार्टी जुत्तै पकाएर ख्वाउने त होला। अगाडिको सिटमा बस्नुभएका नगेन्द्र दाइले पछाडि फर्केर भन्नुहुन्छ–अहिले जुत्ता खानेबेला आएको छैन है।
डा. कार्कीले उपहार हराएको, डेढ घण्टाभन्दा बढी बसमा कोचाकाच गरेर बस्नु परेकोबाट हामीले के पाठ सिक्ने? उहाँ प्रश्न राख्नुहुन्छ। जवाफ फरकफरक आउँछन्। मैले चाहिं समूहमा हिँड्दा जसको गल्तीले जे भए पनि त्यसको सजाय सबैले भोग्नुपर्छ भन्ने पाठ सिक्नुपर्छ भनेँ।
नगाउँ पार गरेको केही समयपछि मूल सडकभन्दा तलपट्टि भएको बाटोबाट बस कुदाउन थाल्छ गुरुजीे। खानाका लागि पञ्जाबी ढावामा रोकिएको रहेछ। खानापछि रमाइलो भनेकै भाते निद्राको हुन्छ। त्यही भयो हामीहरु अधिकाँशको।
घडीमा पाँच बज्दै गरेको समयमा डबका भन्ने ठाउँमा ल्याएर रोकिन्छ मिनीबस। केही कामले रोकिएको होला भन्ने ठानेर हामी चुप लागेर बस्छौँ। केहीबेरमा निकै गर्मी हुन थालेपछि लैजानका लागि हामी कराउन थाल्छौँ। उल्टै मिनीबस सडकबाट ब्याक गरेर खाली ठाउँमा पुर्याएर स्टार्ट बन्द गर्छ गुरुजी। भिनाजु भने बाहिर निस्केर असमेहरूसँग विवाद गर्न थाल्नुहुुन्छ। हामी पनि सबै जना बसबाट ओर्लिन्र्छौँं। ढिलो भएकाले यहाँबाट यो गाडी अगाडि नजाने भनेर अर्को बसको व्यवस्था गरिएको रहेछ। यस्तो कुराको ड्राइभरले पहिले सङ्केत पनि गरेको थिएन। यस ठाउँबाट झण्डै साढे दुई घण्टाको बाटो भएकाले त्यही रुटमा चल्ने बसलाई मिलाइएको रहेछ। त्यो त ठीकै थियो। तर त्यो पहिले नै भन्नुपथ्र्यो। उल्टै उनीहरूले थप पैसा दिनुपर्छ भनेपछि भिनाजुले प्रतिवाद गर्नुभएको रहेछ।
हामी भारतको यात्रामा छौँ र सानासाना कुरामा पनि सचेत हुनुपर्छ भन्ने बिर्सन्छौंँ। भारतमा यात्रा गर्दा हुनै नपर्ने समस्याहरू पनि भोग्नै पर्छ। संयोगले त्यस्तो नभए पनि भोग्नलाई तयार हुनै पर्छ।
साँढे पाँच बजे बस अगाडि बढ्छ पहिलेकोभन्दा पनि तीव्र गतिमा। ठाउँठाउँमा देखिने घरपसलहरूबाहेक देखिने खेत र जङ्गल मात्र भएका छन्। दिन ढल्कदै गएर अँध्यारो भइसकेपछि पुग्छौँ हामी डिफु चोकमा। घडीमा साढे सात बजिरहेको समयमा रण काफ्लेजी बसभित्र उक्लँदै भन्नुहुन्छ –स्वागत छ डिफुमा स्वागत।
प्रकाशित: ९ कार्तिक २०८० ०७:१५ बिहीबार