कला

तीजका गीतमा वैदेशिक रोजगारीका पीडा

‘घरमा एक्लै छाडेर बुढा बाबाआमालाई बाध्य भए छोरा छोरी विदेश जानलाई’ भन्दै भरतपुर महानगरपालिका–११ दिपज्योती टोलमा महिलाहरू आइतबार यो गीत गाउँदै नाचिरहेका थिए। उनीहरूले गाएको यो गीतले नेपालको पछिल्लो वास्तविकतालाई चित्रण गरेको थियो।

पछिल्लो समय गाउँघरमा विदेश गएका छोराछोरीको सम्झनामा तीज गित गाउने गरेको सुनिन्छ। पहिलेपहिले गित मार्फत सासूबहुारीका वेदना पोख्ने महिलाहरूले अहिले छोराछोरी र आफन्त विदेशिएको कुरा गितमार्फत प्रस्तुत गर्ने गरेका छन्।

‘न त कुनै कलकारखाना न त कुनै रोजगार

युवा जति विदेश हिंडे के हो सरकार’

महिलाहरूले विदेशिनुको कारण यसरी गीतमार्फत प्रस्तुत गरे। उनीहरूले सरकारलाई प्रश्न गर्दै युवा विदेश जाँदाको पीडा घरपरिवार र समुदायलाई हुने गरेको सुनाए। देशका कलकारखाना बन्द हुँदा युवा विदेश पलायन हुनुपरेको महिलाहरूको गीतमा उल्लेख थियो।

भरतपुर-११ की सुशिला सापकोटा आफ्नो टोलछिमेकमा भएका गतिविधिलाई गीतमार्फत प्रस्तुत गरिएको बताइन्। उनले भनिन्, ‘दिदीबहिनी जम्मा भएर यसरी भाका मिलाएर गाउँदाको आनन्द नै बेग्लै छ, यसले मनका पिर व्यथा पोख्न र साटासाट गर्न सहयोग पुर्‍याउँछ।’

उनले भाका मिलाएर गाउँदा नाच्दा आफ्नो सृजनात्मक क्षमता समेत बढ्ने बताइन्। आफूहरूले गाएको गीत नेपाली समाजको साझा समस्या भएको उनको भनाइ छ।

‘दुःखसुःख गरेर बाह्र क्लास पढाइयो

कलिलो उमेरमा प्लेन चढाइयो’

अहिले कक्षा १२ पास नहुँदै कलिलो उमेरमा युवायुवती विदेशिने गरेको तितो अनुभव हाम्रो समाजमा छ। भरतपुर-१० की सविता अधिकारी वैदेशिक रोजगारीले पारिवारिक रूपमा बिछोड गराएको भन्दै हरेक घर परिवार समस्यामा रहेको बताइन्। उनले राज्यले युवाहरूलाई नेपालमै बस्ने वातावरण बनाउनुपर्ने भन्दै यस्तै अवस्था रहिरहे देश युवाविहीन हुने बताइन्।

‘एउटा छोरा एउटा छोरी सानो सुखी परिवार

पकाउनै मन लाग्दैन मिठो परिकार’

धेरै घरपरिवारमा सबै सदस्य नहुँदा चाडपर्व पहिले जस्तो रमाइलो नभएको महिलाहरूको अनुभव छ। चितवनको रत्ननगर नगरपालिका-८ की सिता पौडेल दिदीबहिनीहरू विदेश हुँदा पहिले जस्तो रमाइलो हुन छाडेको बताउँछिन्।

उनले भनिन्, ‘पहिले घरैभरि मान्छे हुन्थे, चाडपर्व आउना साथ मन खुसी हुन्थ्यो, अहिले त्यो अवस्था छैन।’

देशमा सुशासन कायम गरेर सबै परिवारसँगै हुने वातावरण बनाउनुपर्ने उनी बताउँछिन्।

‘उच्च शिक्षा हासिल गरी नाम तिम्ले कमाउ

नेपालमा केही गर्ने लक्ष्य बोकी आउ’

तीजका गीतमार्फत महिलाहरूले विदेश गएपछि उच्च शिक्षा अध्ययन गरेर नेपालमै फर्कन सुझाव दिन्छन्। महिलाहरूले वैदेशिक रोजगारीको पीडासँगै बढ्दो महँगीले घरव्यवहार चलाउनेलाई समस्या परेको गीत मार्फत प्रस्तुत गरे।  

‘महँगीले आकाश छोयो यति मन रुँदैन

हजार लेर बजार गयो एक छाक हुँदैन’

पछिल्लो सयम ‘साउण्ड सिस्टम’ प्रयोग गरेर तीजका गित गाउने प्रचलन रहिररहेका बेला कतिपय ठाउँमा महिलाहरू आफ्नो संस्कार र संस्कृति संरक्षणमा निरन्तर लागिरहेका छन्। उनीहरू भड्किलो तरीकाले नाचगान गर्नेभन्दा पनि आफ्नै समाजका भोगाइ गीतमार्फत प्रस्तुत गरिरहेका छन्। शिक्षाविद् रमाकान्त सापकोटा तीजका गीतमा सधै समाजको यथार्थ झल्कने गरेको बताउँछन्।

‘कुनै बेला श्रीमान मरेपछि सती जाने परम्परा रहेको समाजमा त्यही खालको गीत गाइने गरेको थियो’, उनले भने, ‘देउरानीजेठानी र सासूबुहारीका कथा हुँदै अहिले वैदेशिक रोजगारीका कुरासम्म तीजका गीतमा आउने गरेका छन्।’

उनले महिलाहरूले सधैं सामाजिक मुद्धा उठाउने गरेको भन्दै त्यसले समाजको यथार्थ चित्रण गर्ने गरेको अनुभव बताए।

‘देशमा राजनीतिक परिवर्तन भएपछि सामाजिक रूपमा पनि ठूलो परिवर्तनको अपेक्षा नागरिकमा थियो, त्यो परिवर्तन नदेखिएपछि युवा पुस्ता विदेश लागे, यहाँ बस्नेहरूले विछोडको गीत गाउनु स्वाभाविक हो’, उनले भने।’

भ्रष्टाचार र समाजको व्यतिथिका विरुद्ध तीज गीतमार्फत महिलाहरूले सधै आवाज उठाउनुपर्ने सापकोटा बताउँछन्।

प्रकाशित: १ आश्विन २०८० ०६:४२ सोमबार

अक्षर