कला

बाह्रखरी कथा लेखन प्रतिस्पर्धाका लागि रचना माग

पाँचौं ‘डिस होम बाह्रखरी कथा लेखन प्रतियोगिता २०८०’ का लागि कथा आह्वान गरिएको छ। बाह्रखरी मिडियाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको नयाँ संस्करणको घोषणा गरेर रचनाकारहरूबाट कथा आह्वान गरेको हो।

नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठुलो पुरस्कार राशि रहेको दाबी गरिएको यस प्रतियोगितामा सहभागी हुन इच्छुकले असोज ३० गतेसम्ममा कथा पठाउन सकिनेछ। संसारभरिबाटै नेपाली भाषामा कथा पठाउन सकिनेछ। प्राप्त सबै कथा पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वको आन्तरिक समूहले छाँट्ने काम गर्नेछ र ५० वटा निर्णायक समूहलाई उपलब्ध गराउनेछ।

निर्णायक समूहले प्रथम, द्वितीय र तृतीयका साथै ‘उत्कृष्ट कथा, २०८०’ पुस्तकका लागि थप २२ कथा छनोट गर्नेछ। निर्णायक समूहको निर्णय नै अन्तिम मानिने आयोजकले जनाएको छ। आयोजकका अनुसार प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान पाउने कथालाई क्रमशः १ लाख, ६० हजार र ४० हजार रूपैयाँ नगद राशिसहित पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ। अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक (कथासंग्रह) प्रकाशन गरिनेछ। संग्रहमा प्रकाशित बाँकी २२ कथाका रचनाकारलाई जनही ५हजार रूपैयाँ सम्मानस्वरूप प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

आयोजकका अनुसार कथा नेपाली भाषाका मौलिक हुनुका साथै अघिल्ला प्रतियोगिताहरूका लागि नपठाइएका हुनुपर्नेछ। कथा अप्रकाशित र अप्रसारित हुनुपर्ने पनि जनाइएको छ। नतिजा सार्वजनिक नहुन्जेल प्रतियोगितामा पठाइएको कथा कतै पनि प्रकाशन वा प्रसारण गर्न नपाइने सर्त राखिएको छ।

प्रतियोगिताका लागि पठाइएका कथा कम्तीमा १५ सयदेखि बढीमा ४ हजार शब्दसम्मको हुनुपर्नेछ। प्रतियोगीले कथासँगै आफ्नो छोटो परिचय, सम्पर्क नम्बर र हालसालै खिचिएको फोटो पनि अनिवार्य रूपमा पठाउनुपर्ने आयोजकको भनाइ छ।

प्रकाशित: १ आश्विन २०८० ०१:५७ सोमबार

अक्षर