कला

विपीको ‘जेल डायरी’ लोकार्पण

विश्वेश्वरप्रसाद कोइरालाको ‘जेल डायरी’ शनिबार सार्वजनिक भएको छ। पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिपीको विचारलाई मूर्तिझैं पूजा गर्ने प्रवृत्तिले उनीमाथि ठूलो अन्याय भएको बताए।

बिपीलाई महामानव भन्दै गर्दा महामानवको आवरणभित्र गुम्सिएका महाविचारहरू ओझेलमा परेको चर्चा उनले गरे। ‘महामानव भनेर बिपीको विचारमा छलफल नै गर्नु नहुने र बिपीको विचारलाई मूर्तिलाई जस्तो पूजा गर्ने प्रवृत्तिले उहाँमाथि ठूलो अन्याय हुन्छ,’ थापाले भने।

बिपीको विचारलाई निष्ठाको अर्थमा बुझ्न उनले आग्रह गरे। बिपीले भनेको निष्ठा छोडेर उनलाई महामानव बनाउनु अन्याय हुने धारणा राख्दै थापाले यसको प्रायश्चितमा नेपाली कांग्रेसले यसपटक बिपी महोत्सव कार्यक्रम गरेको बुझाएको बताए।

सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री भए पनि नैतिक शक्ति छ कि छैन भन्ने प्रश्न खडा भएको थापाले चर्चा गरे। उक्त पुस्तकको सम्पादन शंकर तिवारीले गरेका हुन्।

प्रकाशित: ३१ भाद्र २०८० ०१:३८ आइतबार

अक्षर