कला

ओम मूर्तिको ‘जीवन्त सम्बन्ध’ लोकार्पण

मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ प्रकाशनमा आएको छ। उक्त पुस्तकको आवरण पृष्ठ शुक्रबार सञ्चारकर्मीमाझ लेखक, छोरी मनिषा र आरभले संयुक्त रूपमा अनावरण गरे।

पुस्तकमा मृत्युको पूर्वाभ्यास, जीवन सम्बन्ध, संस्कार, संस्कृति, संघर्ष, ससाना खुसी, रोग, पीडा लगायतका विषयमाथिमा आफ्ना अनुभवलाई संस्मरणात्मक शैलीमा प्रस्तुत गरिएको छ। पुस्तकमा व्यक्तिको कर्तव्य, सोच र दायित्व लगायतका विषयलाई केन्द्रमा राखी सकारात्मक सन्देश दिइएको लेखकको भनाइ छ। २४० पृष्ठको पुस्तकमा ५३ वटा जीवन उपयोगी खण्डलाई समेटिएको छ।

लोकार्पण कार्यक्रममा कलाकार हरिवंश आचार्यले जीवन, मृत्यु, पे्रम, कर्तव्य, विज्ञान, अध्यात्म, समाज र पेसाका सन्दर्भ पुस्तकमा सान्दर्भिक रूपमा आएकाले पुस्तक पठनीय रहेको टिप्पणी गरे।

लोकार्पण कार्यक्रममा लेखक ओम मूर्तिले आजको मानव आफ्नो भविष्य बनाउने भन्दै वर्तमानलाई गुमाएको थाहा नपाएको र पुस्तकमा यस्तै विषयमा सचेतना दिइएको बताए।

‘आफ्नो उद्देश्य र पारिवारिक सामाजिक सम्बन्धबिचको सन्तुलनले मात्र जीवन सार्थक बन्छ,’ पुस्तकका बारेमा बोल्दै लेखक ओम मूर्तिले भने, ‘उद्देश्य जीवनको एउटा पाटो मात्र हो, सम्पूर्ण चिज होइन तर मानिसले उद्देश्यलाई जीवन ठानेको हुन्छ। यही भूलले मानिसले धेरै कुरा गुमाएको हुन्छ। पुस्तकमा यस्तै जीवनदर्शन देखाउने प्रयास गरेको छु।’  

प्रकाशित: ३० भाद्र २०८० ०२:४५ शनिबार

अक्षर