कला

तीजको मौलिकता हराएकामा चिन्ता

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१४ का ६६ वर्षीया तेजीकला पाध्याय तीजको समयमा गाइने नारी वेदनाका गीत अझै पनि गुनगुनाउँछिन्। पहिलेपहिले दिदीबहिनी माइतिघरको पिँढीमा जम्मा भएर गाउने गीत उनको मनसपटलमा अझै ताजै छन्।  हिजोआज यस्ता गीत गाउन साथी भेट्नै मुस्किल परेको पाध्यायले सुनाइन्।

उनी भन्छिन्, ‘अहिले वेदनाका गीत गाउन खोजे पनि साथी भेटिंदैनन्, सबै पार्टी प्यालेस र होटल जान्छन्, कसलाई वास्ता छैन यस्ता गीतको, मलाई त यो संस्कार नै हराउने हो कि भन्ने पीर लाग्छ।’

तीज नजिकिंदै गर्दा पहिलेपहिले गाउँघर, चौतारामा महिला दिदीबहिनी दुःखसुखका गीत गाउँदै रमाउने गरेको उनी सम्झिन्छिन्।

आधुनिकतासँगै यो संस्कार पनि हराउन थालेको छ। त्यसका कारण आजभोलिको तीज खल्लो लाग्ने गरेको गैंडाकोटकी रीता कँडेलले बताइन्। साँझ परेपछि पालै पालो छिमेकीको घरमा जम्मा भएर गीत गाउने गरेको सम्झना कँडेललाई अस्ति भर्खर जस्तै लाग्छ। हिजोआज यस्तो रमाइलो नपाउने गरेको उनको भनाइ छ।

‘गीतलाई आधुनिकताले छपक्कै छोपेको छ, देखासिकी बढेको छ, तीज दुःख बिर्साउने होइन खर्च बढाउने चाँड जस्तै बनेको छ, जो मलाई राम्रो लागेको छैन’, उनले भनिन्। ‘स्पिकर’मा बज्ने गीतले रमाइलो गराए पनि आनन्द भने दिँदैन भन्छिन् अर्का स्थानीय सरिता घिमिरे।

विगतका दिनमा गाउँघरमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको अनुभव उनीसँग छ तर पछिल्लो समय यसमा आएको परिर्वतन उनलाई राम्रो लागेको छैन।

‘पहिलेका गीतमा नारी वेदना हुन्थ्यो, खाना सादा हुन्थ्यो, स्वस्थ हुन्थ्यो, रमाइलो र आनन्द त्यसमा पो थियो’, उनले भनिन्, ‘अहिलेको तडकभडकमा के नै रमाइलो छ र, मात्र देखावटीपन छ, पहिले खानामा गुन्द्रुक, तामाको तरकारी हुन्थ्यो, अहिले त्यो स्वाद कहाँ हरायो।’

तीज नेपाली नारीको महान् चाड हो। यसको अर्को विशेषता नारी वेदना समेटेर गाइने गीत हो। पहिलेपहिले तीज आएँसगै गाउँघरका दिदी बहिनी एकै ठाउँमा बसेर दुःख र वेदनाका गीत गाउँथे। पछिल्लो समय यस्तो चलन कम हुँदै गएको छ।

उनी भन्छिन्, ‘एक दशकअघि प्रत्येक घरका पिँढीमा दिदीबहिनी भेला हुन्थे, सुखदुःखका गीत गाउँथे, रमाइलो गर्थे, गाउँघरमा रमाइलो छाउँथ्यो, पीडा र वेदनका गीत पनि गाउँथे, समाजका विकृति र विसङ्गति पनि गीत मार्फत गाउँथे, पर्व एउटा सकारात्मक परिवर्तनका लागि आवाज उठाउने जस्तो थियो, पिँढीमा हुने रमाइलो अहिले पार्टी प्यालेसमा सरेको छ, दुःखसुखका गीतबाट दिदीबहिनी हिन्दी गीतमा पुगिसकेका छन्।’

यो सांस्कृतिक विरासतको ओरालो यात्रा भएको कतिपयको धारणा छ। नेपाली महिलाहरूले तीजलाई पवित्र पर्वका रूपमा मनाउँदै आए पनि पछिल्लो समय तीज मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको महिलाहरूले नै गुनासो गरेका छन्। तीजमा गाइने गीत र मनाउने शैलीमा आएको तडकभडकका कारण तिजको मौलिकता हराउँदै गएको छ।

तीज आउनुभन्दा एक महिना अगाडिबाटै दर खाने प्रचलन बढेको छ। कुनै समय एउटा घरमा जम्मा भएर दर खाने दिदीबहिनी आज भोलि होटल र पार्टी प्यालेसमा भेटिने गरेका कँडेल बताउँछिन्। उनका अनुसार वेदनाका गीतमा नाच्ने महिला अहिले बजारमा आएका रत्यौली गीतमा रमाउँछन्।

दिन प्रतिदिन परम्परागत संस्कृति र संस्कार अनुसारको नेपाली मौलिकपन हराउँदै गएकामा नयाँ पिँढीका महिला पनि चिन्तित छन्। तर तिजको समयमा यसको मौलिकता बचाउन विभिन्न सङ्घसंस्थाले राख्ने प्रतियोगिताले भने यसको संरक्षणमा थोरै भए पनि टेवा पुर्‍याएको गैंडाकोटकी सरिता सापकोटाको भनाइ छ।

‘प्रतियोगिता नै सही यसरी विभिन्न सङ्घसंस्थाले राखेको कार्यक्रमले हराउन लागेको संस्कारलाई बचाउने काम गरेको छ’, उनले भनिन्। महिला दिदीबहिनीले आफ्नै वेशभूषामा सजिएर तीज पर्व मनाउन सके संस्कृतिको संरक्षण हुने अग्रजहरूको सुझाव छ।  

प्रकाशित: २७ भाद्र २०८० ०८:०० बुधबार

अक्षर