कला

‘कोटेश्वरको केटो’ को अन्तिम बिदाइ

मंगलबार बिहान निधन भएका साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको सोही दिन दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो।

राजनीतिक एवम् सामाजिक विसंगतिप्रति आलोचकीय दृष्टिकोणका कथाहरू पस्कने पराजुलीको कथासंग्रह ‘जन्तरमन्तर’ गत साउनमा प्रकाशनमा आएको थियो।

देशको राजनीति, दशक लामो सशस्त्र द्वन्द्व, अन्तद्र्वन्द्वका सामाजिक–आर्थिक र राजनीतिक प्रभावजस्ता विषयलाई मिहिन ढंगमा उठाउँदै उनले ‘जन्तरमन्तर’मार्फत सामाजिक विद्रूपता, विभेद, जनताका अधुरा सपना र सीमान्तकृत नागरिकका पीडालाई दृश्यमा उतारेका छन्।

उनका ‘अघोरी’, ‘कोटेश्वरको केटो’, ‘शुक्रराज शास्त्रीको चस्मा’, ‘अनायिका’, ‘सपनामा मार्क्स  ’, ‘जाडोमा भोक’, ‘भ्रष्ट संवेदना’, ‘विकल्प यात्रा’लगायत कृति प्रकाशित छन्। ‘शुक्रराज शास्त्रीको चस्मा’ २०७३ सालको मदन पुरस्कारको संक्षिप्त सूचीमा परेको थियो। ‘कोटेश्वरको केटो’ले उनलाई नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्जाबाट सन् २०२० मा एक लाख राशिको उत्कृष्ट साहित्यिक कृति पुरस्कार दिलाएको थियो। नयाँ सन्देश साप्ताहिकमा ‘श्रद्धाञ्जली’ शीर्षकको पहिलो कथा प्रकाशन गरेका पराजुलीले कविता विधामार्फत नेपाली साहित्यमा प्रवेश गरेका थिए।

‘प्रिय लेखक राजेन्द्र, जीवनको अवसानमा तिमी मेरो अघि लागेको सुन्नुपर्ला भन्ने मेरो मनको कुनै कुनामा थिएन,’ लेखक खगेन्द्र संग्रौलाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘जे होस्, आफ्ना जीवन्त शब्दहरूमा हाम्रो स्मृतिमा तिम्रो सदैव बास हुनेछ। शोकाकुल परिवारजनमा हार्दिक समवेदना !’

काठमाडौं क्षेत्र नं.२ बाट निर्वाचित सांसद सोविता गौतमले लेखक पराजुलीको निधनले स्तब्ध भएको प्रतिक्रिया दिइन्। ‘कोटेश्वरको केटो र अघोरीलगायत पुस्तकका लेखक तथा पत्रकार आदरणीय दाइ राजेन्द्र पराजुलीको असामयिक निधनले स्तब्ध बनाएको छ।

काठमाडौं क्षेत्र नं २ का बासिन्दा हुनुभएकाले उहाँले मलाई निरन्तर समर्थन र खबरदारी गरिरहनुहुन्थ्यो। उहाँको कमी सदा महसुस हुनेछ। उहाँको आत्माको शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु,’ उनले भनिन्। उनले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको दौरान लेखक पराजुलीले दिएका सुझावहरूलाई लिएर संसद्मा खबरदारी गरिरहेको बताइन्।

‘राजेन्द्र पराजुली सधैं संघर्षरत पत्रकार, जहिल्यै जुझारु लेखक। नयाँ कथासंग्रह ‘जन्तरमन्तर’ घोषणा गरेर हामी सबैलाई छक्याएर सधैंका लागि बिदा भएको पत्याउन मन छैन। धेरै लेख्ने धोको बाँकी राखेर त्यसरी हिँड्न कहाँ पाइन्छ, मित्र ? हार्दिक सम्झना !,’ पत्रकार नारायण वाग्लेले ट्विट गरेका थिए।

डा. विप्लव ढकालले फेसबुकमा लेखेका छन्, ‘प्रिय राजेन्द्र! फेरि साँझ परेको छ। म विचारशून्य बनेको छु। तिमी धुवाँ बनेर भर्खरै महाशून्यमा प्रस्थान गर्याै। म आर्यघाटबाट भरखरै घरमा आइपुगेको छु। बाहिर झरी परिरहेको छ। म भित्रभित्रै निथ्रुक्क भिजिरहेको छु।’

‘प्रिय मित्र! कफीसपमा बसेर हामीले नेपाली वाङ्मयबारे केही गम्भीर सहकार्य गर्ने योजना बनाएका थियौं। म तिनलाई पूरा गर्ने कोसिस गर्नेछु। तिम्रो अमर आत्माले शान्ति प्राप्त गरोस्! तिम्रो महाप्रस्थान सहज र सुखमय बनोस् !’ भन्दै नयनराज पाण्डेले फेसबुक पेजबाटै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्। नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाका सदस्य समेत रहेका पराजुलीलाई महासंघले मंगलबारै विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ। लेखक पराजुलीकी श्रीमती, एक छोरी र एक छोरा छन्।

प्रकाशित: २७ भाद्र २०८० ०१:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App