कला

गायक सपूतको ‘जाले रुमाल फाट्यो’ सार्वजनिक

गायक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ। उक्त गीत दुई वर्षअघि तीज पर्वमा सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भाग हो।

गायक सपूतको शब्द/संगीत रहेको उक्त गीतमा गायिका समीक्षा अधिकारीले स्वर दिएकी छन्। गीतको म्युजिक भिडियोमा नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, अभिनेता गौरव पहारी, विशाल पहारी र स्वयं सपूतको अभिनय रहेको छ।

आरन प्रोडक्सनले प्रस्तुत गरेको सो गीत गायक सपूतको आफ्नै युट्युब च्यानलबाट गए राति सार्वजनिक गरिएको हो। महिलामा हुने विभेद अन्त्यका लागि कानुन प्रभावकारी हुनुपर्ने सन्देश गीतले दिन खोजेको गायक सपूतले बताए।

नेपाली समाजको संवेदनशील र महत्वपूर्ण कथालाई तीज गीतका माध्यमबाट बाहिर ल्याएको उनको भनाइ छ। विषय, प्रस्तुति र निर्देशनका हिसाबले आफ्ना लागि पनि यो गीत विशेष रहेको सपूतले बताए।

दुई वर्षअघि सार्वजनिक गीत ‘कुरा बुझ्न पर्च’मा सपूतले महिलाको सोच र आत्मविश्वासलाई प्रस्तुत गरेका थिए। लैंगिक समानताको विषयलाई गीतले समेटेको थियो। सो गीतमा पनि नायिका स्वस्तिमा खड्का र आँचल शर्माको अभिनय छ।

बागलुङको काठेखोला गाउँपालिका-३ धम्जामा जन्मिएका गायक सपूतका यसअघि ‘पिर’, ‘गलबन्दी’, ‘बोलमाया’, ‘सकम्बरी’, ‘दमाइ महाराज’लगायत गीत सार्वजनिक भइसकेका छन्। ‘गलबन्दी’ उनको सबैभन्दा बढी रुचाइएको गीत हो।

प्रकाशित: २४ भाद्र २०८० ०५:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App