कला

ईश्वरमणिको ‘सम्बोधिका’ सार्वजनिक

साहित्यकार ईश्वरमणि अधिकारीको मुक्तकसङ्ग्रह ‘सम्बोधिका’ लोकार्पण भएको छ। पोखरामा आयोजित कार्यक्रममा साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले संयुक्त रूपमा कृतिको विमोचन गरे।

पुस्तक लोकार्पण गर्दै साहित्यकार सरुभक्तले नेपाली मुक्तक संसारमा अधिकारीको उपस्थिति उल्लेख्य रहेको बताए। साहित्यका विविध विधामा संरचनागत विवाद हुने गरेकोप्रति लक्षित गर्दै उनले संरचनाभन्दा पनि कृतिको गहनतातर्फ लेखकले बढी ध्यान दिनुपर्नेमा उनले जोड दिए।

शुभकामना मन्तव्य व्यक्त गर्दै कवि तीर्थ श्रेष्ठले मुक्तक लेखनमा एक सशक्त उपस्थिति देखाउँदै अधिकारीले नयाँ कृति पस्केको बताए। वर्तमानमा लेखकहरू संरचनाको पछाडि दौडने चलन संस्कृति नै बन्दै गएको उनले बताए। यसले साहित्य क्षेत्रलाई असर पार्दै गएको बताउँदै उनले लेखकले साधना गर्नतिर ध्यान दिनुपर्ने बताए।

समीक्षक सञ्जीव पौडेलले कृतिमा प्रेम, राजनीतिक विकृति, सामाजिक विसङ्गति, समयको महात्म्य, जीवनमूल्य, न्याय, मातृभक्ति, प्रकृतिप्रेमलगायतका विषयमा केन्द्रित मुक्तक समावेश भएको बताए।

कार्यक्रममा लोकगायिका हरिदेवी कोइराला, रमेश श्रेष्ठ, सरस्वती प्रतीक्षा, दीपक समीप, रीता अधिकारी ‘ऋतु’, जीवनसागर भण्डारीलगायतले मन्तव्य राखेका थिए। पोखरेली युवा सांस्कृतिक परिवार प्रकाशक रहेको सङ्ग्रहमा कुल १११ थान मुक्तक समेटिएका छन्।

प्रकाशित: १६ भाद्र २०८० ०४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App