कला

मातृभूमिबाट प्राडा जगमान गुरुङ र डा. विदुर चालिसे सम्मानित हुने

मातृभूमि साहित्य समाज मकवानपुरले प्रत्येक दुई वर्षमा व्यक्ति/ संघसंस्थालाई दिइँदै आएको ‘मातृभूमि राष्ट्रिय सम्मान-२०८०’ यस वर्ष वरिष्ठ संस्कृतिविद् , प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा जगमान गुरुङलाई प्रदान गर्ने भएको छ।

नेपाली संस्कृति क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएकाले गुरुङलाई नगद २५,००१/- राशिको उक्त पुरस्कार प्रदान गर्न लागिएको मातृभूमि साहित्य समाजले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति प्राडा जगमान गुरुङ नेपाली इतिहास एवं संस्कृति क्षेत्रका गहन अध्येता हुन्। विभिन्न प्रतिष्ठान तथा विश्वविद्यालयको महत्वपूर्ण जिम्मेवारी सम्हालेका गुरुङको शोधपत्र लेखन एवं अनुसन्धान कार्यमा गहन भूमिका छ।

त्यसैगरी संस्थाका कार्यसमिति सदस्य किशन पौडेलले स्थापना गरेको नगद ११,१११/- रुपैयाँ राशिको ‘मातृभूमि लघुकथा रत्न सम्मान-२०७९’  ‘लघुकथालय’ का सर्जक वरिष्ठ लघुकथाकार डा.विदुर चालिसेलाई समर्पण गर्ने निर्णय गरेको छ।

डा.विदुर चालिसेले लामो समयदेखि लघुकथाको क्षेत्रमा  महत्त्वपूर्ण काम गर्दै आएका छन्।

प्राध्यापनबाट सेवा निवृत्त जीवन बिताइरहेका डा.चालिसेका नेपाली भाषामा प्रकाशित विभिन्न लघुकथासंग्रह, कविता, भाषा, अनुसन्धान र समालोचनाका पुस्तकहरू प्रकाशित छन्।

उक्त पुरस्कार असोज ६ गते मातृभूमि साहित्य समाज पच्चीसौं वर्ष प्रवेश गरेको पुनीत अवसरमा समर्पण गरिने निर्णय समाजका अध्यक्षले हस्ताक्षर गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ।

साथै उक्त कार्यक्रममा महाकाव्यकार मुना अर्यालको दोस्रो महाकाव्य ‘महाकाश’ को  पनि लोकार्पण गर्ने  कार्यक्रम रहेको छ।

संस्था स्थापनाको रजत वर्षमा प्रवेश गरेको पुनीत अवसरमा यो वर्षभरि विविध साहित्यिक कार्यक्रम गरेर रजत जयन्ती मनाउने  निर्णय गरेका उक्त प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ११ भाद्र २०८० ०३:३२ सोमबार

अक्षर