कला

र्‍याम्पमा पाइलैपिच्छे पैसा

काठमाडौं- र्‍याम्प सोलाई डिजाइनरले डिजाइन गरेको पहिरनलाई फेसन पारखीमाझ देखाउने माध्यमको रूपमा प्रयोग गरिन्छ। यस्तो सोमा डिजाइनरका विभिन्न थिमका पहिरन लगाएर मोडलले र्‍याम्प नाप्छन्। र्‍याम्प सोले डिजाइनरलाई त फाइदा हुन्छ नै, र्‍याम्प नापेवापत मोडलहरूले पनि राम्रै पारिश्रमिक लिने गरेका छन्।

कुनै समय रहरले फेसन शोमा र्‍याम्पमा नाप्ने मोडलहरूले बिस्तारै यसबाट कमाइ गर्न थालेका छन्। फिल्म वा संगीत झैं फेसन शोमा मोडलिङ गर्ने मोडलले पनि विभिन्न प्रकारका शोबाट पुग्दो आम्दानी गर्न थालेका छन्।

काठमाडौं सामाखुशीकी मोडल सबिता कार्कीले र्‍याम्प नापेको तीन वर्ष भयो। यो अवधिमा ३० वटा फेशन शोमा र्‍याम्प नापेकी सबिताले त्यसवापत कमाइ पनि राम्रै गरेकी छन्। 'मैले पहिलोपटक र्‍याम्प नाप्दा नै ५ हजार पारिश्रमिक लिएकी थिएँ। त्यो बेला सात हजारसम्म पारिश्रमिक लिन्थें,' सबिताले भनिन्, 'अहिले फेसनसँगै मेरो पारिश्रमिक पनि फेरिएको छ। अहिले म न्यूनतम १० हजारदेखि अधिकतम ५० हजारसम्म लिन्छु। उपत्यकाबाहिर अधिकतम २५ हजारसम्म लिएकी छु।'

राजधानीमा वर्षेनी भइरहने 'टिजिआइएफ फेसन विक'मा उनले दुई वर्ष र्‍याम्प नापिन्। जसबाट ४० देखि ५० हजारसम्म पारिश्रमिक बुझिन्। 'शोका लागि कति समय दिने भन्ने कुराले पनि हाम्रो मूल्य निर्धारण। जति समय दिनुपर्ने हुन्छ त्यही अनुसार डिमान्ड गछर्ौं,' कार्कीले भनिन्, 'छोटो समय कोरियोग्राफी गरेर र्‍याम्प नाप्नुपर्ने हो भने पारिश्रमिक कम हुन्छ तर तीनचार दिनकै प्रशिक्षण लिएर र्‍याम्पमा देखिनुपर्ने हो भने थोरैले पुग्दैन।'

आयोजकसँगको सीधा सम्पर्कमार्फत काम गर्दा उचित पारिश्रमिक पाइने उनको अनुभव छ। मोडलिङ एजेन्सीबाट काम गर्दा पारिश्रमिक कम पाइने उनले बताइन्। हालसम्म सशुल्क र्‍याम्पमा हिँडेकी सबिताले सामाजिक कामका लागि आफू बिनाशुल्क पनि काम गर्न तयार भएको खुलाइन्।

फिल्म 'रोमियो'बाट अभिनयमा डेब्यु गर्नु अघि नायिका ओशिमा बानुको पहिचान मोडलको मात्र छैन। उनी मोडल उत्पादन गर्ने 'हाउस अफ फेसन' संस्थाकी प्रमुख पनि हुन्। उनले आफ्नो पारिश्रमिक नबताए पनि राम्रो ब्रान्डलाई प्राथमिकता दिने जनाइन्। 'इभेन्टमा आयोजकसँग पैसा बाहिर नखुलाउने सम्झौता हुन्छ। त्यसकारण पारिश्रमिकको बारेमा केही खुलाउन मिल्दैन,' ओशिमाले भनिन्, 'म राम्रो ब्रान्डलाई मात्र प्राथमिकता दिन्छु। पार्टी प्यालेस वा सामान्य ठाउँमा हुने शोमा म हिँड्दिन।'

उनले स्वदेशी तथा विदेशी ब्रान्ड हेरेर त्यहीअनुसार पारिश्रमिक निर्धारण हुने खुलाइन्। ६ वर्ष अघिबाट मोडलिङमा छिरेकी उनले नेपाल फेसन विक, क्लासिक डाइमन्डलगायत गरी ५० बढी फेशन शोमा आफ्नो पाइला चालिसकेकी छन्। सन् २०१२ मा भएको 'फेस अफ क्लासिक डायमन्ड २०१२'को विजेतासमेत रहेकी ओशिमा दुईवटा म्युजिक भिडियोमा पनि देखिएकी छन्। सबिता र ओसिमा जस्तै अल्का राई, सिर्जना रेग्मी, परमितालगायतका मोडल पनि राम्रै पारिश्रमिक लिएर र्‍याम्प नाप्ने गर्छन।

र्‍याम्प मोडलिङमा महिला झैं पुरुष मोडलहरू पनि सक्रिय छन्। विशेषतः अग्ला कद भएका उनीहरू राजधानीमा हुने फेसन शोमा र्‍याम्पमा झुल्किन्छन्। पाँच वर्षअघि मोडलिङमा छिरेका दीपक घिमिरे अन्तर्राष्ट्रिय फेसन मोडलका रूपमा परिचित छन्। न्युनतम २५ हजारदेखि अधिकतम ४० हजारसम्म पारिश्रमिक लिने दीपक कार्यक्रमको लोकेसन अनुसार पारिश्रमिक निर्धारण हुने बताउँछन्। 'शोका विविध कुरा बुझेपछि मात्र र्‍याम्पमा जाने वा नजाने भन्ने निर्णय गर्छु,' दीपक भन्छन्, 'पाँचतारे होटलमा हुने कार्यक्रमको पारिश्रमिक बढी हुन्छ। काठमाडौंमा हुने फेसन शोहरू व्यावसायिक हुने भएकाले त्यहीअनुसार पारिश्रमिक तय हुने गर्दछ।'

फेसन सोमा राम्रो पैसासँगै आफ्नो एक्सपोज पनि हुने उनको बुझाइ छ। अमेरिकाको न्युयोर्कको फेसन शोमा पनि पाइला चालिसकेका दीपकले विदेशमा पैसाभन्दा पनि देशको प्रतिनिधित्व गरिने भएकाले पारिश्रमिक निर्धारण नहुने बताए। 'नेपालमा हुँदा डिजाइनरका डिजाइन देखाइन्छ भने विदेशमा चाहिँ देशको संस्कृति देखाउन पाइन्छ,' उनले भने। दीपक चाँडै 'हर्के राजा' शीर्षकको फिल्ममार्फत् पर्दामा पनि देखिँदैछन्।

सन् २०११ का 'म्यानहन्ट इन्टरनेशनल' विजेता बनेपछि मोडलिङलाई करियर बनाएका मोडल तथा अभिनेता निर्जन थापाले यसअवधिमा झण्डै ३० वटा फेसन शोमा आफूलाई प्रस्तुत गरिसकेका छन्। र्‍याम्पमा हिँडेर न्यूनतम ५ हजारदेखि अधिकतम १० हजारसम्म पारिश्रमिक बुझिसकेका निर्जनले कतिपल्ट निःशुल्क पनि र्‍याम्पमा क्याटवाक गरेका छन्। 'कहिलेकाहीँ सम्बन्धका कारणले पनि काम गर्नुपर्ने हुन्छ। त्यो बेला मलाई यति पैसा दिनु भनेर भन्न पनि मिल्दैन,' केही समय अघि रिलिज फिल्म 'लालटिन'मा देखिएका निर्जन भन्छन्, 'म अफर आउन साथ र्‍याम्पमा हिँड्न तयार हुन्न। कुन प्रयोजनका लागि कस्तो डिजाइनमा कहाँ कार्यक्रम हुन लागेका हो, त्यो बुझ्छु। हामी जस्ता मोडलका लागि पाँचतारे होटलका फेसन सो आर्थिक रूपले फाइदाजनक हुन्छन्।'

उनले कतिपय फेशन शो घाटामा गएपछि आयोजकबाट पैसा नलिएको पनि बताए। म्यानहन्टको प्रतिनिधित्व गरेर थाइल्यान्ड र कोरियासमेत पुगिसकेका उनले 'टिजिआइएफ फेसन सो', 'क्रिएटिभ फेसन सो'लगायतका सोमा आफूलाई प्रस्तुत गरेका छन्। झन्डै ३५ वटा जति भिडियोमा मोडलिङ गरिसकेका निर्जन यतिबेला आफू अभिनित पछिल्लो फिल्म 'चर्खा'को पर्खाइमा छन्।

मोडलका लागि पैसा र एक्सपोज दुवै परिपूरक हुन्। फेसन सोमा र्‍याम्प नाप्दा आउने पैसाले उनीहरूको गोजी रामै्र भरिन्छ नै। धेरै प्रायोजक खोजेर फेसन सोको आयोजना गर्ने आयोजकसँगै आफ्नो डिजाइनका पहिरन देखाउन प्लेटफर्म खोजिरहेका डिजाइनरको अनुहारमा पनि 'सफलता'को चमक प्रस्टै देखिन्छ। समग्रमा मौलाउँदै गएको फेसन सो मोडलका लागि कमाइ गर्ने भरपर्दो माध्यमका रूपमा विकसित हुँदै गएका छन्।

प्रकाशित: २२ श्रावण २०७४ ०६:४६ आइतबार

र्‍याम्पमा पाइलैपिच्छे पैसा