कला

काठमाडौं वरपरका कथा

पुस्तक

लेखकले आफ्ना पाठकको ध्यान सिर्जनातर्फ खिच्न सामथ्र्य राख्नुपर्छ। आफ्ना वरिपरिका यात्रा, देखाइ, भोगाइलाई अक्षरमा अनुवाद गर्ने कुरा कम्ती गाह्रो छैन। यस्तै सामर्थ्य राखेर ‘चोभार ब्लुज’ मार्फत् नेपाली कथा साहित्यमा आएका छन् बिक्रमभक्त जोशी। कृतिले उत्सुकता, आशा र उत्साह अनि कौतूहल जगाउँछ पाठकमा।

‘चोभार ब्लुज’मा लखरलखर यात्रु बनेर यात्रा भरेका छन्। यात्रामा बटुलेका छन् प्रशस्तै पात्र र तिनका चरित्र। कतै कल्पनाको गगनमा उडेका छन्। वास्तवमै मान्छेको जीवन सोचेजस्तो सहज छैन भन्ने अनुभूति पोखेका छन्। झर्रा स्थानीय शब्दहरूको प्रचुर प्रयोग, स्थानीय संवाद अनि उपत्यका आसपासको सेरोफेरोलाई कथाको लोकेसन बनाएका छन् कथाकारले।

दैनिकीका विविध रङ छन् यहाँ। स्रष्टाभित्रको सचेतना देख्न सकिन्छ कृतिभित्र। उनले हेरेको तिखो हेराइ, उनले चालेका हर पाइलासँगै फेलापरेका पात्रहरू आम प्रवृत्तिका छन्। उनको वाग्मती आसपासको सूक्ष्म अवलोकनले त्यहाँका आम पात्रको चरित्र र तिनका उज्याला–अँध्यारा पक्षहरू उजागर गरेका छन्।

काठमाडौं वरपर काँठका बारेमा जानकारी लिन चाहनेहरूका लागि पनि कृति उपयुक्त छ। मुस्कुराइरहेको काँठ, त्यहाँको दिनचर्या, त्यहाँका अभाव, दुःख र छटपटी छ ‘चोभार ब्लुज’ मा। स्थानीय यथार्थ घटना–परिघटनालाई कृतिमा उनेका छन्। अभावको जिन्दगी बाँचेका मान्छेका प्रतिनिधित्व गर्ने पात्र छन् त्यहाँ। वाग्मती आसपासका आम मान्छेका विभिन्न आरोह–अवरोहको यथार्थ प्रस्तुति लाग्छ।

उनका कथा कहीं नियात्रा लाग्छन्, कहीं कथा लाग्छन्, कहीं स्वैरकल्पनाको आभास पाइन्छ। सायद यसैले उनले आफ्ना कथालाई निकथा भनेको हुनुपर्छ। पात्रका दुःखसुख एवम् स्थानीय परिवेशप्रति लेखकको इमान्दार चासो देखिएको छ। सहरको कोलाहलबाट अलिक पर सुन्दर प्रकृतिको सन्निकटका कुरा यसमा छन्। सामाजिक यथार्थको सुन्दर प्रस्तुतीकरण, ग्रामीण जीवनको सत्यचित्र, निम्नमध्यमवर्गीय जनजीवनका आसपास बगेका छन् सबैजसो सिर्जना। उनमा सामाजिक दृष्टिचेत व्यापक छ।

‘बाली बैजनी’ कथामा बालीको यात्रा–संस्मरण जस्तो भान पर्छ, जसमा काडेक र निलुको प्रेमकथा छ। अधिकांश कथामा सिङ्गै काँठबाट काठमाडौंको दृश्य नियालिएको छ।

सटिक पात्र चयन, कथ्यको सुन्दर प्रस्तुति, स्थानीय भाषा र कथानक छ। विभिन्न धार्मिक मिथक कथामा समावेश गरिएका छन्। प्रायः कथा सामाजिक विकृति र विसङ्गतिका वरिपरि सिर्जना गरिएका छन्। नेपाल भाषाको लवजको प्रयोग, विषयगत विविधताले भरिपूर्ण, सूत्रात्मक रूपमा फरक फरक शैलीको प्रयुक्ति कथाका विशेषता लाग्छन्।

‘सुनको पोको’मा काठमाडौं वरपरको गाउँ जहाँ बडेमानका डोजरले विकासको खेती खन्दै गरेको कथा छ। प्राकृतिक दोहनका कुरा छन्। असारे दर्के भेलले बस्ती डुबाएको कथा छ। सामाजिक विभेदको यथार्थ देखाउने कथा ‘पर्खाल’मा फरक क्षमताका किशोरको एकतर्फी मायाको कथा छ। छोराछोरीबीचको विभेदको कथा ‘यात्राका अनुत्तरित प्रश्नहरू’मा देखिन्छ।

काठमाडौंबाट अलिक पर लमजुङतिरको यात्रा गर्दा टिपिएको यो कथा नियात्राझैं लाग्छ। ‘बिर्सिएको त्यो इमेल’मा आफ्नै बिरामी आमालाई पात्र बनाएका छन्। ‘यो जात्रा र अनि त्यो जात्रा’मा फरक अवस्थाको व्यक्तिले भोग्नुपरेको पीडा ओकलेको छ। पात्र मैंचाले आम फरक शारीरिक अवस्था भएका मान्छेको प्रतिनिधित्व गर्छिन्। ‘ख्याक, मान्छे र कुकुर’ ले परम्परा र प्राचीन संस्कृतिलाई उजागर गरेको छ। ‘सम्झी बस्छु कता कता’ प्रेम र रोमान्समा बुनिएको कथा हो, जसमा प्रेम र कर्तव्यबीचको खिचातानीको कथा छ। यो वियोगान्त कथा हो। राजनीतिको विकृत रूपप्रतिको प्रहार छ ‘म मोरिक्वल’मा। यसमा राजनीतिक यथार्थ छ, राजनीतिक प्रपञ्चको भेद खोलिएको छ।

कृतिको नामकरण गरिएको ‘चोभार ब्लुज’ प्रेमकथा हो। अतियथार्थवादमा बुनिएको कथाले एउटा पागलप्रेमीको मनोदशा देखाएको छ। काठमाडौं उपत्यकाको उत्पत्तिको स्वैरकल्पना प्रस्तुत गरिएको कथा हो ‘फ्लानर फेन्टासी’। ‘बोसन हाइट’ युवायुवती विभिन्न कारणले प्रवासमा पलायन हुँदा सहाराविहीन बनेका आमाबाबुको कथा हो। ‘धिर्बाको विदेश यात्रा’मा पनि सन्तान बिदेसिएपछिको यथार्थ भोगाइ पस्किएको देखिन्छ।

कुनै कथा कतै अनावश्यक लम्बेजस्तो लाग्छन्। केही कथाका शीर्षकमा अङ्ग्रेजी शब्दहरू राखेर कथाकारमा अङ्ग्रेजी साहित्यको प्रभाव परेजस्तो भान पाठकलाई पर्नसक्नेतर्फ कथाकार सचेत हुनु आवश्यक देखिन्छ। यसो हुँदाहुँदै पनि लेखनमा नवीनता, शैलीगत पृथकता र नौलो प्रयोगका कारण सबैखाले पाठकका निम्ति यो उपयुक्त अनि पठनीय कृति बन्न पुगेको छ। यात्रा रचनागर्भमा उनका निकथा अडिएका छन्।

कथाशिल्पका हिसाबले जीवन्त, यथार्थ, सरल, मिठासयुक्त, मार्मिक र खँदिलो कथाकारिताको आभास मिल्छ। कतैकतै आत्मपरक शैली पाइन्छ। एकाध अङ्ग्रेजी शीर्षक र शब्दचयनबाहेक भाषिक अभिव्यक्ति सरल र गतिशील छन्। विशेषतः काँठका निम्न मध्यमवर्गीय समस्या छोएका छन् कथाले। कुनै कुनै कथा स्वैरकल्पनाले छपक्क भिजेको देखिए तापनि कथानकका हिसाबले प्रायः कथा स्वाभाविक लाग्दा छन्। 

प्रकाशित: १६ असार २०८० ०४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App