कला

चार स्रष्टालाई राष्ट्रिय प्रज्ञा पुरस्कार

काठमाडौं- संगीत, नृत्य, लोकगायन र नाट्य विधामा आबद्ध चार स्रष्टालाई राजधानीमा बुधबार पुरस्कृत गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई 'नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७३'बाट नगद १ लाख रुपैयाँ र ताम्रपत्रसहित पुरस्कृत गरेकी हुन्।

पुरस्कृत हुनेमा संगीत विधाबाट गायक रायन(नारायणभक्त श्रेष्ठ), नृत्य विधातर्फ नृत्य निर्देशक राधेश्याम प्रधान, लोक संगीत र नाट्य विधातर्फ गायिका चन्द्रकला शाह र नाट्य विधातर्फ रंगकर्मी अशेष मल्ल छन्। पुरस्कार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले स्थापना गरेको हो।

राष्ट्रपति भण्डारीले अहिलेको समयमा कविता, साहित्य, संगीत र नाट्य विधालाई राष्ट्रिय भावशैलीको बनाउन आवश्यक रहेकेा औल्याउँदै त्यसमा प्रतिष्ठानले विशेष अभियान चाल्नुपर्ने बताइन्। 'प्रतिष्ठानले संगीत, कविता, साहित्य, नाटकजस्ता विधाको विकासका लागि चालेको प्रादेशिक अभियानले पक्कै पनि एउटा नयाँ आयाम थप्नेछ,' उनले भनिन्, 'निजी भौतिक संरचनाको अभावमा पनि भाडाको घरमा बसेर कला क्षेत्रको विकासमा प्रतिष्ठान लाग्नु आफैमा गर्वको कुरा हो।'

प्रतिष्ठानका कुलपति सरुभक्तले देशको मौलिक संस्कृतिको संरक्षण गर्नका लागि राष्ट्रिय सांस्कृतिक नीति निर्माणको आवश्यकता औंल्याए। ' यो नीति निर्माणका लागि प्रतिष्ठानले आफ्नो तर्फबाट सहयोग गर्नेछ,' उनले भने।

उपकुलपति शम्भुजित बास्कोटाले प्रतिष्ठानका लागि सरकारले १५ रोपनी जग्गा उपलब्ध गराए पनि त्यसको स्वामित्व प्रतिष्ठानले हालसम्म लिन नसकेको जनाए। प्रतिष्ठानले विगत तीन वर्षदेखि स्रष्टालाई पुरस्कार दिँदै आएको छ।

प्रकाशित: २२ वैशाख २०७४ ०४:२२ शुक्रबार

स्रष्टालाई राष्ट्रिय प्रज्ञा पुरस्कार