कला

सौन्दर्यको व्यञ्जन

निबन्ध

धन्य प्रकृति तिमी। डढेलो लाग्ने घाममा पनि, बाढीले बगाउने याममा पनि सौन्दर्यको व्यञ्जन पस्केर बसेका हुन्छौ। त्यो मिठो, चखिलो र स्वादिष्ट व्यञ्जन चाख्न, चर्न आउनेहरू धेरै हुन्छन्। तिनका अनेक चाहना, अनेक भावना। उनीहरू सबैलाई सन्तुष्ट पार्नु नै तिम्रो सफलता। तिम्रो वैंस, तिम्रो तारुण्य तामझाममा झुम्मिनेहरूको भोक मेटाउँछौ तिमी। कहिले उनीहरूको झोंक पनि सहन्छौ तिमी।

आफ्नो वैंसालु रूप–सौन्दर्य जोगाइराख्न गाह्रो छ तिमीलाई पनि। मन पराउनेहरू कति कति। हेर्ने, भेट्ने र मनमा सजाएर राख्नेहरू झन् बढी। तिमी एक प्रिय प्रेमी प्रतिरूप। सधैं सौन्दर्यको व्यञ्जनले वशीभूत। दर्शकलाई आकर्षित पार्ने दृश्यहरूले खचाखच तिमी।

हावाको एक झोक्कामा पनि प्रणय–निवेदन। वेगबतासको प्रवाहमा पनि प्रेमको प्रकम्पन। कति अथाह अनुभूतिको भूतल ! कति गहिरो मायाको आभास ! साक्षात् प्रकृति तिमी नै ।अनेकौं प्रेमिल अनुभूतिको मिठो सङ्गम तिमी ।स्वादे जिब्रोका लागि प्रकृतिले चौरासी व्यञ्जन नै पस्किरहेछ तर त्यो व्यञ्जन चाख्नेहरू कमै पुग्छन् यस्तो धराधाममा।

अधिकांश याम एकलास, एक्लै चुपचाप सुन्दरताको बिस्कुन फिँजाएर बसिरहेछ प्रकृति। प्राकृतिक सौन्दर्यको व्यञ्जन अनुपम स्वाद, सन्तुष्टि र प्राप्ति हो यात्रीको, तर यस्तो व्यञ्जन चाख्नेहरू कमै पुग्छन् यस्तो धराधाममा। अधिकांश याम घामले सुकाएर सौन्दर्यको अवसान हुन्छ। पानीले पखालेर लैजान्छ। सुन्दरताको बिल्लीबाठ, बिजोगै हुन्छ। बेचैन, बिचल्लीमा बरा प्रकृति तैपनि मुस्कान पस्किरहेकै हुन्छ।

साँच्चै तिमीलाई पनि आफ्नो बैंस जोगाउन मुस्किल छ। आफ्नो सौन्दर्य बचाइ राख्न कठिन छ। सुन्दरतामाथि सबैको ‘चोर आँखा’ परिहाल्छ तर त्यो हेराइ पवित्र मायाको रूपमा भइदिँदा राम्रै हुन्छ। ‘गिद्धे दृष्टि’ भयो भने सुन्दर व्यञ्जनको हत्या नै हुन्छ।

हार्दैन आफूसँग आफैं हाँसिरहेकै रूप-लावण्य। मन्द मुस्कान अनि मृदु रूप-संरचना उसको। कत्ति पनि हरेश नखाने, नथाक्ने अविचलित प्राकृत संरचना! हरदम जागरुकता, हरपल गतिशीलता।

कुनै समय हिउँले ढाकिन्छ र पनि खुसीले नै बाँच्छ। थाहा छैन चिसोले कति कठ्याङ्ग्रिन्छ, कति कक्रिन्छ, अररिन्छ र ऐंठनले इन्तु न चिन्तु हुन्छ। अचानोको चोट खुकुरीलाई के थाहा?

कहिले हुस्सुले सर्वत्र ढाक्छ। बाढीले बगाउँछ। बतासले उडाउँछ। कहिले त सुख्खा खडेरीले धाँजा फाटेर धरती रोदन र क्रन्दनको छट्पटीमा हुन्छ। तैपनि सौन्दर्य सम्प्रेषित गरिरहेकै हुन्छ।

कठै प्रकृति तिमीलाई सुख र शान्ति छैन। अरूलाई अलग्ग दृश्यको दर्शन गराउन तिमी आफू सकसपूर्ण सास्तीलाई उछिनेर अघि बढेका छौ।

कुनै समय हिउँले ढाकिन्छ र पनि खुसीले नै बाँच्छ। थाहा छैन चिसोले कति कठ्याङ्ग्रिन्छ, कति कक्रिन्छ, अररिन्छ र ऐंठनले इन्तु न चिन्तु हुन्छ। अचानोको चोट खुकुरीलाई के थाहा?

हो, प्रकृति तिम्रो सौन्दर्यपानमा लट्ठ हुन आउनेहरू कतिले तिम्रो मर्म बुझेका छन्। कतिले तिमीलाई मार्नसमेत बाँकी राखेका छैनन्। साँच्चै तिमीलाई पनि आफ्नो बैंस जोगाउन मुस्किल छ। आफ्नो सौन्दर्य बचाइ राख्न कठिन छ। सुन्दरतामाथि सबैको ‘चोर आँखा’ परिहाल्छ तर त्यो हेराइ पवित्र मायाको रूपमा भइदिँदा राम्रै हुन्छ। ‘गिद्धे दृष्टि’ भयो भने सुन्दर व्यञ्जनको हत्या नै हुन्छ। यसो भएपछि के देख्नु, के चाख्न पाउनु दर्शकले। दर्शकको पनि मन रुन्छ। नमज्जा लाग्छ ।

वास्तवमा हर्लक्क हुर्किएको कुमारी सौन्दर्य सुरक्षित राख्न हम्मे हम्मे नै छ। हैरानी उत्तिकै छ तिमीलाई।

माया गर्नेहरूले कोमल हातको स्पर्शले सुम्सुम्याउँछन्। र, तिनले मायालु आभासको असीमित आनन्द आस्वादन गर्छन्। मन पराउनेहरूले माया त देखाउँछन् तर कस्तो दुर्भाग्य किचिमिची पारेर सौन्दर्यको अवसानै गराउँछन्।

यसरी सौन्दर्य र सुगन्धको अन्त्य भएको कसले देख्ने? प्रकृतिको आँसु कसले पुछ्ने? अरूलाई खुसी बाँडेर आफू भने दुःखी! आखिर सबैजना बलेको आगो न ताप्ने हुन्।

कतिपय हिँडाइहरू ठेस लागे पनि मनमाफिकको हुन्छ। काफी मजाको हुन्छ। नहिँडेर सुखै पाइँदैन। हिँडिरहूँ लाग्छ। आँखै नझिम्क्याई हेरिरहूँ देखिरहूँ जस्तो लाग्छ, लागिरहन्छ। दृश्यहरू मनबाट बिछोडिन मान्दैनन्। दृश्यहरू आँखाबाट ओझेलिन चाहँदैनन्। प्रकृतिमै विलीन हुन चाहन्छन्।

माया गर्नेहरूले कोमल हातको स्पर्शले सुम्सुम्याउँछन्। र, तिनले मायालु आभासको असीमित आनन्द आस्वादन गर्छन्। मन पराउनेहरूले माया त देखाउँछन् तर कस्तो दुर्भाग्य किचिमिची पारेर सौन्दर्यको अवसानै गराउँछन्।

आहा! बादल नाचिरहेको आकाश। चराले गीत गाइरहेको धरती। बोटवनस्पतिले मगमग बासना बाँडिरहेको भूमि। फूलहरूले रङहरूको बिस्कुन लगाएको। कलिला मुनामुन्टाहरूले लहराउँदै, समाउँदै, सहारा र साथ खोज्दै। हर्लक्क हुर्किंदै माथि माथि उकालो उचाइ–यात्रामा तिनीहरू पनि अग्रसर। जीवनको जीवन्त लय पक्रँदै क्रमशः यात्रामा अविरल।

आखिर जो कोही पनि अगाडि नबडे, नहिँडे प्राप्ति हुँदैन केही। खोलाखहरे, झरनाहरू, पहाडी तरेली र हिमाली लस्करहरूले हार्दिकताको मुस्कान पस्किरहेको। मनमोहक प्राकृतिक परिवेशको विहङ्गम दृश्यको विशाल क्यानभास।

कति हिँडाइ चाहिँ ठेस नलागे पनि कतै, कहीं ठक्कर नखाए तापनि निकै पिरोल्नुको हुन्छ। धेरै सास्तीको हुन्छ। मन रमाउन थालेपछि आँखाले हिउँदको पारिलो घाम पाए जस्तै अक्करे भिर पनि सजिलै लाग्छ पाइला हिँडाउन। चाहे ढुङ्गामा दर्फरिएर रगताम्मे होस्, चाहे लडेर ज्यान जोखिममा परी भड्खालोमै जाकियोस्। हिँड्नुको प्यास प्याकप्याक्ती नै परिरहन्छ। हिँड्नुको आनन्द अविस्मरणीय भइरहन्छ।

आखिर जो कोही पनि अगाडि नबडे, नहिँडे प्राप्ति हुँदैन केही। खोलाखहरे, झरनाहरू, पहाडी तरेली र हिमाली लस्करहरूले हार्दिकताको मुस्कान पस्किरहेको। मनमोहक प्राकृतिक परिवेशको विहङ्गम दृश्यको विशाल क्यानभास।

यायावरी नसा कति धेरै। मादक मन चुपचाप कहाँ बस्न सक्नु ! पैताला चिलाइहाल्छ। बसिरहन सक्दैन। नहिँडेपछि छटपटी सुरु भइहाल्छ। हेर्न हतारिन्छन् आँखा। नौलो परिवेश मनैदेखि देख्न र हेर्न उत्सुक रहिरहन्छ। कति हेर्नुपर्ने हो यो लोभी आँखालाई। कति डुल्नुपर्ने हो यो डुलुवालाई।

हिँडेर नगल्ने। घुमेर नअघाउने। नथाक्ने कहिल्यै। नगल्ने जति हिँडे पनि। पुग्ने लक्ष्यले हिँडेको ठाउँ पुगिसक्दा पनि फेरि अर्को ठाउँले हिँडाइहाल्ने। जति हिँडे पनि हिँड्नुको दुरी नघट्ने बरु अझ बढ्ने।

चाहनाहरूको खातैखात। जति हिँड्यो मेटिँदैन तिर्सना। जति पाइला टेके पनि थाक्दैन पैताला। गन्तव्य पुगे पनि फेरि बाँकी नै रहिरहने अर्काे गन्तव्यकोे क्षितिज। यात्राले चकित र थकित मन। आराम गर्न नपाई यात्राले विश्रामको महसुस गर्दा नगर्दै अर्को यात्राको शुभारम्भ भइहाल्छ। जर्‍याकजुरुक पाइला लम्किहाल्छ। हिँडिहाल्छ अर्को नयाँ गन्तव्यतिर। तत्कालै आलै आरम्भ भइहाल्छ यात्राको शुभसाइत।

यौटा कठिन नेटो काटेर थकाइ मार्दा नमार्दै, रमाएर मदहोस हुन नपाउँदै, खुल्छ अर्काे अनौठो दृश्यको दैलो आँखामा। प्रफुल्लित हुँदै हृदय बुर्कुसी मार्न अग्रसर हुन्छ त्यतै । ठेस लागोस्, ठेला उठोस्, पानी प्यासले प्याकप्याक्ती होस् तथापि अहँ, फिटिक्कै होस आउँदैन। यायावरी नसा घट्दैन। बाटो अप्ठ्यारो र कठिन पनि लाग्दैन। हिँड्न सधैंं उत्सुक। पाइला चाल्न मरिहत्ते मन। सुख र सुविधा केही चाहिएन। आँखाले देख्न पाएको दृश्यमा मुग्ध, मन्त्रमुग्ध हुन पाए पुग्यो।

जति हेरे पनि आँखा टट्याउँदैन। जति भेटे पनि भेट्ने प्यास मेटिँदैन। कति अट्न सकेको हो दृश्यका उरुङखातको भारी यो मनमा? मन त सानै हो सायद तर कति सागरसंसारै अट्न सकेको। कुनै कुनै घोचाघारा, तिखा ढुङ्गाले पनि नबिझाउने। पर्खाल वा अन्य तगाराले पनि नरोक्ने। उराठ भूमि, उजाड फाँटले पनि मन रमाउने। हिमाली सुन्दरता र सुगन्धले त मन तृप्त परितृप्तै हुने। कति पिउनु तनतनी कि घटघटी सौन्दर्यको रस ! कलकली कति प्यास मेटाउनु? पिएर आँखाभरि सर्वाेत्तम सौन्दर्यका काकाकुल क्षणहरू।

जति हेरे पनि आँखा टट्याउँदैन। जति भेटे पनि भेट्ने प्यास मेटिँदैन। कति अट्न सकेको हो दृश्यका उरुङखातको भारी यो मनमा?

अग्लिएर उचाइ छोएका चुलीहरू। पग्लिएर नसकिएका हिउँहरू। बगेर नरोकिएका नदीनाला। झरेर नसिद्धिएका झरना, छाँगा। सुवास छरेर नरित्तिएका सुगन्धहरू। जता हेरे पनि जहाँ पुगे पनि सौन्दर्यको व्यञ्जन।

कति प्रिय मायालु आभास। कति प्रेमिल प्राकृतिक छटाहरू। बेग्लै मनोभावना जगाउने, सुकोमल अनुभूति गराउने, विरलै देख्न पाइने प्राकृतिक दृश्यले आँखा लट्ठिने। कस्तो स्वच्छ र स्निग्ध धरती। कति सफा वनस्पति। स्वादिष्ट वातावरण। उन्मुक्त मुस्कान पस्केर रमाइरहेको मौसम। रोगभोक, शोक हटाएर यौटा बेग्लै फुर्तीफार्ती उपस्थित गराउने।

प्राकृतिक सौन्दर्यको व्यञ्जनले शुभ दिन, शुभपलकै सन्देश दिन्छ। त्यो मान्छेको मनसम्म पुग्छ र घुम्न, हेर्न, रम्न, रमाउन आमन्त्रित गर्छ। चराचुरुङ्गी, कीटपतङ्ग यही व्यञ्जन चाख्दै चचहुई गर्छन्। चिर्बिराउँदै रनबन डुल्दै वातावरणमा अझ ‘सुनमा सुगन्ध’ थप्छन्।

यस्तो भएपछि मानसिकता मैलिँदैन। सोचाइ बिथोलिँदैन। हराभरा प्रकृतिजस्तै मन रमाइरहन्छ। उत्सुक भइरहन्छ हिँड्न, बोल्न, हेर्न, घुम्न। चुपचाप कहाँ बसिरहन्छ र मन।

प्राकृतिक सौन्दर्यको व्यञ्जनले शुभदिन, शुभपलकै सन्देश दिन्छ। त्यो मान्छेको मनसम्म पुग्छ र घुम्न, हेर्न, रम्न, रमाउन आमन्त्रित गर्छ। चराचुरुङ्गी, कीटपतङ्ग यही व्यञ्जन चाख्दै चचहुई गर्छन्। चिर्बिराउँदै रनबन डुल्दै वातावरणमा अझ ‘सुनमा सुगन्ध’ थप्छन्।

मन इन्द्रेणी रङहरूको दहमा डुबुल्किँदै मस्त मस्त ! मन सुन्दरताका खानीहरूमा चोबलिँदै क्रमशः तृप्त तृप्त। कति पिउनु अमृत, कति खानु मायाको म्वाइँ! यौटा अलग्ग दिव्य दृश्य प्रेरणापुञ्ज र यात्राको पृथक मिठास।

प्रकाशित: २ असार २०८० ०२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App