कला

वेदकुमारी न्यौपानेका कृतिहरूको परिचर्चा

साहित्यिक पत्रकार संघको आयोजनामा आज यहाँ भएको साहित्यकार वेदकुमारी न्यौपानेका कविता र नाट्यकृतिहरूको परिचर्चा कार्यक्रममा वक्ताहरूले उनको योगदानको प्रशंसा गर्दै साहित्यको इतिहास लेख्नेहरूबाट धेरै साहित्यकार उपेक्षित रहेको उल्लेख गरे।

कार्यक्रमका प्रमुख अतिथि हिरण्यकुमारी पाठकले साहित्यकार न्यौपानेको साहित्यिक यात्राको आफू साक्षी रहेको जनाउँदै भनिन्,‘बिचमा लामो समयसम्म नदेखिए पनि र चर्चा नभए पनि उनी निरन्तर साधनारत रहेकी छिन्।’

वरिष्ठ समालोचक प्रमोद प्रधानले वेदकुमारी न्यौपानेका कवितामा सरल शब्दमा जीवनका भोगाइ र अनुभूति समेटिएको बताउँदै उनका कविताभन्दा गीत र मुक्तक अझ प्रभावकारी भएको बताए।

त्यस्तै समालोचक डा. शान्तिमाया गिरीले न्यौपानेका नाट्यकृतिहरूमा सामाजिक विषयवस्तुलाई सरल भाषाशैलीमा प्रस्तुत गरिएको बताइन्।

कार्यक्रमको अध्यक्ष एवं साहित्यिक पत्रकार संघका सभापति राधेश्याम लेकालीले काठमाडौं,अमेरिका र अस्ट्रेलियामा बस्दै आएकी स्रष्टाबाट पाठकले अब डायस्पोरिक लेखनको आशा गरेको बताए।

कार्यक्रममा सांसद् रेखा यादव, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ  रोदन र प्राडा गोविन्दमानसिंह कार्कीले साहित्यकार न्यौपानेको लेखनको प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना दिएका थिए।

कार्यक्रममा साहित्यकार युवराज नयाँघरेले स्वागत मन्तव्यमा नेपाली गीति नाटक र गीति कथा लेखनमा गतिशील चरित्र रहेको बताए।

कार्यक्रममा साहित्यकारहरू किशोर पहाडी, शंकर भारती,  विनोद नेपाल, विमल भौकाजी, प्रद्यम्न जोशी, मन्जिला अनिल, कमला रिसाल, सीता विष्ट कार्की, ममता मृदुल, रन्जना निरौला, तारा सुवेदी, नीता श्रेष्ठ, रेनु भट्टराई, शारदा वाग्ले, सीता नेउपाने, पुरुषोत्तम नेउपाने लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २६ जेष्ठ २०८० ०२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App