अक्षराधाम प्रकाशन प्रालिले छापेकाे म्यामराज राईको ‘हाम्रो बाटो’ लघुकथासंग्रहमा ६१ वटा समसमायिक लघुकथा सङगृहीत छ। ११८ पृष्ठ रहेको यस संग्रहमा हाम्रो लघुकथा पाठशालाका लता केसी र नमस्ते लघुकथा मञ्चका घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ को शुभकामनाका शब्दहरू पनि समेटेको छ। पिता जोगबहादुर राई र आमा आशबुङ राईबाट २०४४ साल असार १२ गते जन्मिएका म्यामराज राईले आफ्नो संग्रह मातापितामा समर्पित गरेका छन्।
यस संग्रहअघि उनको ‘सोम्तुक आन्चो’ बोलको बान्तवा राई भाषाको गीत २०७७ मा प्रकाशित छ। उनले प्रथम ऐतिहासिक टुक्का प्रतियोगिता-२०७८ मा प्रथम, प्रदेश एक स्तरीय लघुकथा प्रतियोगिता- २०७८ मा द्वित्तीय र साहित्यपोस्टको साप्ताहिक लघुकथा प्रतियोगिताअन्तर्गत पच्चीसौं हप्ता-२०७८ मा उत्कृष्ट तीनमध्ये एक हुन सफल भएका छन्।
उनको संलग्नता नमस्ते लघुकथा मञ्चको व्यवस्थापकको रूपमा र आदिवासी जनजाति लेखक/साहित्यकार महासंघ, जापान शाखाको सचिवको रूपमा रहेको छ।
अक्षराधाम प्रकाशन प्रालिले छापेकाे म्यामराज राईको ‘हाम्रो बाटो’ लघुकथासंग्रहमा ६१ वटा समसमायिक लघुकथा सङगृहीत छ।
दीपक लोहनीको सटीक र संक्षिप्त भनाइसँगै हाम्रो लघुकथा पाठशालाका व्यवस्थापक डा. शेखरकुमार श्रेष्ठको भूमिकाले संग्रहको विस्तृत चिरफार गरेको छ। लेखकले संग्रहका कथाहरूको रचनागर्भको व्याख्या गरेका छन्। साहित्यकार ध्रुव मधिकर्मीको लघुकथालाई घाउसँग तुलना गर्दै त्यसले मनमस्तिष्कमा पार्ने तरङ जस्तै म्यामराज राईका विभिन्न जीवन र जगतका वरपर मानवीय संवेदनालाई समेटेर लेखिएका लघुकथाहरूले मनमस्तिष्कलाई तरंगित र संवेदित तुल्याउँछ भन्ने भाव व्यक्त गरेका छन्।
हरेक कथा चित्रसहित पस्केका छन्। यस अर्थमा यो लघुकथा संग्रहले नवीन अवधारणाको प्रयोग गरेको छ, जसले पाठकलाई कथाको सार ‘चित्र आफैं बोल्छ’ को भावमा बुझ्न मद्दत गर्दछ।
कथाको पात्र र परिवेश
धेरैजसो कथाका पात्रहरू देशप्रेमी हुन्छन्। त्यति हुँदाहुँदै पनि वर्तमान परिवेशले बिदेसिन बाध्य पारिएका युवा मनहरूले सम्झेको देश र देखाएको देशप्रतिको चिन्ता धेरै कथामा मुखरित छ। जापानमा रहेका कथाकारले धेरै कथामा जापान र नेपालको विकासको स्थिति, मानिसहरूमा भएको सोच र भविष्यप्रतिको चिन्ता भाव अनि समग्र विकासको दिगो र दीर्घकालीन सोचको भिन्नतालाई आफ्नो कथामा व्यक्त गरेका छन्।
धेरैजसो कथाका पात्रहरू देशप्रेमी हुन्छन्। त्यति हुँदाहुँदै पनि वर्तमान परिवेशले बिदेसिन बाध्य पारिएका युवा मनहरूले सम्झेको देश र देखाएको देशप्रतिको चिन्ता धेरै कथामा मुखरित छ।
उनले कतिपय कथामा चतुर पात्रहरूलाई अघि सारेका छन्। ती पात्रहरू आफ्नो चतु¥याइँ देखाउँछन्। सोझा र आम नागरिकलाई छक्क्याउँछन् र आफ्नो स्वार्थ पूर्ति गर्छन्।
केही कथाको चिरफार
कथाकारले कथाहरूमार्फत खास गरी देशप्रेमको भावना, राजनैतिक चेतना र संस्कारको अभाव, मानिसहरूमा बढेको निकृष्ट सोच, मनोसामाजिक विकृति, विसंगतिपूर्ण परिवेश जस्ता विषयवस्तुलाई पस्कँदै सकारात्मक सोच राखेर परिश्रम गर्न पछि हट्नु हुन्न भन्ने सन्देश-प्रवाह गर्न खोजेको जस्तो देखिन्छ।
उनले ‘आशीर्वाद’ कथामा निस्वार्थ र सेवाभावले कर्म गरे सकारात्मक प्रतिफल स्वत प्राप्त हुन्छ। ‘म्यानेजर’ मा उनले देखेको सपनामा नेपालमा पनि जापानमा जस्तै असल म्यानेजर देखापरेका छन् र नेपालको विकासले फड्का मारेको छ। ‘इन्टरनेट सपिङ’ आफैंले सिक्ने प्रयास गर्नुपर्ने भन्ने पाठ सिकाउने राम्रो लघुकथा बनेको छ।
‘हाम्रो बाटो’ कथाले हाम्रो देश, हाम्रो बस्ती, हाम्रो सडक अनि हाम्रो जिम्मेवारी भन्ने सोच राखेमा मात्र सडक मात्र होइन, देश र समाजमा सुधार देख्न सकिन्छ। आफ्नो वरपर र आफ्नो बाटो सफा गर्न पैसा लिने र ठेक्कामा पाए मात्र सफा गर्ने होइन। हाम्रो बाटो सफा गर्ने जिम्मा हामी आफैंको हो भन्ने भावना जाग्यो भने बाटोघाटो सफा रहन्छ। अरूको मुख ताक्ने र जुन कुरामा पनि अर्थोपार्जनको लालसा देख्नु हुन्न भन्ने सन्देश यस कथामा छ।
‘बिर्खे’ कथामा बिर्खेले पनि सपना देखेको हुन्छ र त्यो सकारात्मक सपना, प्रगतिको सपना र जागरूकताको सपना हुन्छ।
आफ्नो वरपर र आफ्नो बाटो सफा गर्न पैसा लिने र ठेक्कामा पाए मात्र सफा गर्ने होइन। हाम्रो बाटो सफा गर्ने जिम्मा हामी आफैंको हो भन्ने भावना जाग्यो भने बाटोघाटो सफा रहन्छ। अरूको मुख ताक्ने र जुन कुरामा पनि अर्थोपार्जनको लालसा देख्नु हुन्न भन्ने सन्देश यस कथामा छ।
‘सफलता’ कथाले कोरोनाको प्रताडनामा परेको समयमा कोरोनाको खोप पत्ता लाग्नु र मानिसहरूले लगाउनु पनि एउटा उत्सव जस्तो बनेको सम्झना गरेको छ। ‘सिकाइ’, ‘बुवाको जन्म-दिन’ र ‘अनुकरण’ कथाहरूले पहिलो पुस्ताले दोस्रो पुस्तालाई सिकाएको कुरा सिक्ने हो, कुरा मात्र होइन कामले सिकाउने हो। फजुल खर्च गरेर जन्मदिन मनाउनुभन्दा सो खर्च बराबरको रकम सामाजिक भलाइ र अति आवश्यक पक्षलाई पुर्याउनु राम्रो भन्ने प्रसंगहरू उल्लेख गरिएको छ।
‘जिम्मेवारी’ कथाले जिम्मेवारीबोध सबैभन्दा ठूलो कुरो हो, त्यसले अन्तत पुरस्कारको भागीदार बनाउँछ भन्ने सकारात्मक सन्देश सम्प्रेषण गरेको छ। त्यस्तै ‘व्यवस्थापन’ ले मितव्ययी चाडबाड मान्ने काइदा सुझाएको छ।
विसंगत समाजको प्रतिविम्बित गर्ने कथाहरू धोका, आदत, पीडा, अभावको दशैं, जीविकोपार्जन, न्याय, बिचौलिया, गुरुदक्षिणा, पुरुष, फस्ट डेटिङ, संयोग, पार्टी, छुनुमुनु, सर्जक, घडेरी, आरोप, प्रवृत्ति, विश्वासघात पस्केका छन्। चार-चार वर्षमा दोहोरिने निर्वाचनले सोझासिधा जनतालाई आश्वासन देखाएर माथि चढ्ने भयाङ बनाउँछ र आफ्नो स्वार्थ सिद्ध गर्छ अनि धोखा दिन्छ।
‘जिम्मेवारी’ कथाले जिम्मेवारीबोध सबैभन्दा ठुलो कुरो हो, त्यसले अन्तत पुरस्कारको भागीदार बनाउँछ भन्ने सकारात्मक सन्देश सम्प्रेषण गरेको छ।
मानिसको कुरा दोचार्ने आदत, दशैको रौनकले बालक मनमा पारेको उल्लाससँगै परदेशी बाबुको मनमा परेको पीडा र ऋण काढेर दशैं मनाउने आमाको सकस, जीविकोपार्जनको सरल उपाय नारा लगाउने पेशा अँगाल्नुपर्ने अवस्था, अन्धो कानुनले न्यायको नाममा भएको मोलमोलाइ, लोभी मन र टर्रो व्यवहार, बिचौलियाको चंगुल समय र परिस्थिति अनि प्रकारान्तरले ठगिनु परेका प्रसंग समेट्दै ‘किनारको मेहनत’, ‘खड्ग ठाडा मगर’, ‘पार्टी’, ‘परिस्थिति’ जस्ता कथाहरूले नदी किनारको परिश्रममा भेल-बाढी र पहिरोले दिएको दुख झेल्दा झेल्दै मेहनत पनि खेर जाने र ज्यान पनि जोखिममा पर्ने, सन्तान नहुनुमा पुरुषकै शारीरिक कमजोरी पनि हुन सक्छ।
समाजमा रहेको अन्धविश्वासलाई बढावा दिने खालको ‘संयोग’ कथा, अरूलाई ‘दोष’ थोपर्ने बानी अनि ‘प्रवृत्ति’, आफू भलो त जगतको भलो भन्ने खालको पात्रहरूको उजागर गरेका ‘स्वभाव’, ‘घरबेटी’, ‘पञ्चे बाजा’ तथा ‘आरोप’ शीर्षकका कथाहरू समेटेको छ।
‘पुन्टे’ र ‘मन’ कथाहरूले मानिसको मनोविज्ञानमा आधारित कथा पस्केको छ। ‘फस्ट डेटिङ’ र ‘अनुहार’ जस्ता कथाले विवाहेत्तर सम्बन्धको जालो र त्यस्तो सम्बन्धले निम्त्याएको सामाजिक र पारिवारिक समस्याको उजागर गरेको छ।
समाजमा रहेको अन्धविश्वासलाई बढावा दिने खालको ‘संयोग’ कथा, अरूलाई ‘दोष’ थोपर्ने बानी अनि ‘प्रवृत्ति’, आफू भलो त जगतको भलो भन्ने खालको पात्रहरूको उजागर गरेका ‘स्वभाव’, ‘घरबेटी’, ‘पञ्चे बाजा’ तथा ‘आरोप’ शीर्षकका कथाहरू समेटेको छ।
इच्छा, आमा, उत्कृष्ट शिक्षक, राष्ट्रियता, भाइटिका र परिस्थिति कथाहरूले आमाको इच्छा छोराछोरीले पूरा गर्दा रहेछन्, सीमामा बस्ने नागरिकको पीडा बोकेको छ, मानिसको स्वार्थी आचरण अरू प्राणीलाई दुख दिएर आफू रमाउन सक्ने प्राणीको रूपमा चित्रण गरेको छ, जसले काम गर्दैन उसैलाई पुरस्कार दिइने र उत्कृष्ट शिक्षक घोषणा हुने परिपाटी दर्शाएको छ।
जनगायक कथामा जनताका गीत गाउनेहरूप्रति समर्पित यो कथाले अहिलेको समाजमा व्याप्त आडम्बर र अपचलनको उजागर गरेका छन्। जिउँदो छँदा कलाकारहरूको उपेक्षा गर्ने र उनले उठाएका संस्कार र परिवर्तनको मागलाई बेवास्ता गर्नेहरू मृत्युपछि तँछाडमछाड गर्ने प्रवृतिप्रति तिखो व्यंग्य गरेका छन्।
अन्त्यमा,
कथाकारले विविध खाले कथालाई लहरै उभ्याएका छन्। एकातिर आफूले भोगेको सामाजिक परिवेश अनि समाजको यथार्थ चित्रण छ, समाज यस्तो बनोस् भन्ने मनको प्रस्फुटन छ। कथाकारको मन अर्कातर्फ आफूले परदेशमा भोगेको, बुझेको अनि आहा भन्ने लागेको पक्षप्रतिको लगाव आशक्त छ। यस संग्रहको मूल कथा ‘हाम्रो बाटो’ मा उनले जापानी वृद्धको हाम्रो बाटो हामीले नै सफा गर्नुपर्छ भन्ने भावना पोखेका छन्। नेपाली चालचलन, रहनसहन, रीतिरिवाज, संस्कार र संस्कृतिप्रतिको उनको मोह विभिन्न कथामा छरपष्ट छ।
त्यसै गरी उनले राष्ट्रिय भावना र राष्ट्रप्रतिको प्रेम व्यक्त गरेका छन्। उनले अर्कोतर्फ सामाजिक सौहार्द, सकारात्मक पक्ष र आपसी मेलमिलापलाई पनि अघि सारेका छन् र उनले धेरै कथामा परिस्थितिले ठगिएका, एक अर्काको रिसइबी, धोखाधडी, बेइमानी, अन्धविश्वास जस्ता विषयलाई समेटेका छन्।
कथाकारले विविध खाले कथालाई लहरै उभ्याएका छन्। एकातिर आफूले भोगेको सामाजिक परिवेश अनि समाजको यथार्थ चित्रण छ, समाज यस्तो बनोस् भन्ने मनको प्रस्फुटन छ।
त्यस्तै उनका केही कथामा उनले आधुनिक प्रविधि, वैश्विक विकास र उन्नयनप्रतिको मोह पनि प्रकट गरेका छन्। ‘म्यानेजर’, ‘इन्टरनेट सपिङ’, ‘फर्स्ट डेटिङ’, ‘पोजिटिभ’ जस्ता कथाले त्यो बोलेको छ।
त्यस्तै ‘हिंड्न’ जस्ता शब्दको प्रयोगले नेपाली भाषाको उचित प्रयोगमा सन्देह ल्याएको छ। कतिपय कथामा परिष्कृत लेखनको माग गर्दछ। शब्दहरू थपिंदा र कतै छुट्दा वाक्यको अर्थ फरक परेको भान हुन्छ। कतिपय कथामा सांकेतिक भनाइहरूले प्रसंगलाई समाल्न गाह्रो परेको महसुस हुन्छ। कतिपय कथा यो संग्रहमा नपरे पनि हुन्थ्यो कि भन्ने लाग्छ।
प्रकाशित: २८ वैशाख २०८० ०७:१९ बिहीबार