सिर्जना अभियान समाजले कथाकार सूर्यप्रसाद लाकोजूको सत्याग्रह कथासंग्रहमाथि विमर्श कार्यक्रम गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि एवं कथाकार बाबा न्यौपानेले लामो समयदेखि सूर्य लाकोजूलाई आफूले साहित्य साधकका रूपमा चिन्दै आएको र आजै मात्र साक्षात्कार भएको बताउँदै उनी कथाहरूमा सामाजिक समस्या प्रभावकारी रूपमा प्रस्तुत गर्न सफल भएको बताइन्।
कार्यक्रममा पुस्तकको विमर्श गर्दै कथाकार ध्रुव मधिकर्मीले संस्कृति र काव्य क्षेत्रमा स्थापित स्रष्टा एवं अक्षरमार्गका सम्पादक सूर्यप्रसाद लाकोजूले समाजका विविध समस्यामा कथाहरू लेखेको बताए। साथै उनले राजनीतिप्रति समाजको दृष्टिकोण र राजनीतिमा इमानदारी उपेक्षित बनेको, वैदेशिक रोजगारीमा जानेहरूप्रति राज्यले चासो नदिंदा नेपालीहरूले दुःख पाएको, विकासको नाममा आम मानिसले भोग्नुपरेको समस्या लगायतका विषयलाई कथाकार लाकोजूले प्रभावकारी रूपमा उठाएको बताए।
कथाकार लाकोजूले कतिपय विषय कवितामा व्यक्त गर्न नसकिने भएकाले कथाको रूपमा प्रस्तुत गरेको बताए।
समाजका अध्यक्ष धनमान श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा स्रष्टाहरू सुवासचन्द्र ढुंगेल, रत्न कोजू, विमल भौकाजी, त्रिरत्न शाक्य, त्रिविक्रम पाण्डे, ध्रुवकृष्ण ताम्राकार, राममणि ढुंगेल, निर्मला बराल, इन्दिरा चापागाई, हरिगोविन्द भोमी, श्याम आशा, सुरेन्द्रलाल भुजू, ध्रुवनारायण जोन्छें, सानुराजा अन्जान, विनोद ढुंगेल, दिलकुमारी डंगोल, राजेशमान केसी, हिमलाल श्रेष्ठ, जितेन्द्र रसिक, राजेन्द्र चित्रकार लगायत विविध विधाका स्रष्टाहरूको उपस्थिति थियो।
ट्रान्स-वर्ल्ड पब्लिकेसनबाट प्रकाशित सत्याग्रहमा विविध विषयमा लेखिएका समसामयिक एघार कथा छन्।
प्रकाशित: २४ वैशाख २०८० ०५:५८ आइतबार