कृष्णानन्द जोशी
ओजको आस रोजको बास पत्यार दिलायो,
जुनेली राग थुमेली भाग अमृत पिलायो।
बोलीमा लोली समय तोली पापको छायामा,
पजनी कलि रजनी बलि प्रमाद कायामा।
प्राणको टेका कालको छेका निर्वाण रथमा,
आसुरी रूप बाँसुरी धुप चैतन्य पथमा।
टपुवा फाली पटुवा मालि केतकी फुलेका,
पोती गलाकी मोति पलाँकी नयन झुलेका।
आँटिलो मन गाँठिलो धन भेदले छर्दिन्छ,
खै जन्मदाता न क्षेत्रमाता बाचाले भर्दिन्छ।
गोधूलि छाया माधुरी माया बचन जिउँदा,
कर्मको फल धर्मको बल सोमर्सी पिउँदा।
प्रकाशित: १९ चैत्र २०७९ ०६:४३ आइतबार