आचार्य प्रभा
अलमलिएको यात्रीको झैं यो मन दोधार भा’छ,
मनभरि वेदनाको वज्रप्रहार भा’छ।
हो सक्षम हुँदा सबै नै आउँछन् साथ दिनलाई,
भर दिने लौरो नै यतिखेर तरवार भा’छ।
भोको पेट सडकभरि यत्रतत्र ढलेका छन्,
हुनेलाई सम्पत्ति नै वसन्त बहार भा’छ।
रित्तिएका सपनाहरू ढली राछन् गरीबको,
हुनेहरूको सपना मात्र भनेसम्म साकार भा’छ।
लेख्न खोज्यो आफ्नो भाग्य परिश्रमको मसीले,
तर,आजसम्म पनि दुख मात्र साभार भा’छ।
प्रकाशित: २७ फाल्गुन २०७९ ०५:१७ शनिबार