मुनाल पोखरेल
रत्ने आफू हिंड्ने बाटो सधैं चम्किलो देख्थ्यो। बढ्दो महँगीमा सामान्य कमाइ भएकाहरूका लागि बजार शब्द तर्साउने ‘त्र’ झैं थियो। बजारभाउ हरेक दिन उकालोतर्फ लाग्थ्यो। पत्रिकाका समाचारमा महँगीले नै प्रमुखता पाउँथ्यो।
जीवनमा एकचोटि तुल/ब्यानर पक्रने अनि आफूमा विचारको गहिराइमा डुबुल्की मार्न सफल भएको अनुभव हुने उमेर आउँदो रहेछ। त्यस उमेरमा रत्नेले प्रवेश गरेको थियो।
लेखु सधैं भन्ने गर्थे, ‘समाजमा परिवर्तन ल्याउन जड मानसिकतालाई त्याग्न सक्नुपर्छ। उचनीच मन्द विष हो। यसले समाजलाई भष्म बनाउँछ।’
उसको हरेक पाइलामा लेखुले साथ दिन्थे। दुवैको विचार मिल्थ्यो। रत्नेलाई मन्दिर प्रवेशमा रोक थियो। लेखुको मद्दतबाट हट्यो। उसले अलग्गै बसेर खान नपर्ने भयो। सामाजिक न्यायले अब गति लिने भयो। विभेद हटेको स्वयम रत्नेले शहीद गेटबाट सम्बोधन गरे। गाउँगाउँमा रत्ने -लेखु चर्चाको विषय भए।
अन्ततः चुनाउ आयो। लेखु प्रधानमन्त्री भए। राष्ट्रपतिको चुनावको लागि दौडधूप शुरू भयो। जनताद्वारा जनताका लागि बन्ने देशको सर्वमान्य पद छनोटमा लेखुको निर्णायक मत थियो। आफू भविष्यको राष्ट्रपति हुने तथा शहीद गेट अगाडि सार्वजनिक रूपले शपथ लिने कुरामा रत्ने विश्वस्त थिए।
रत्ने झण्डा फहराउँदै सलाम ठोक्दै लेखुलाई भेट्न गए अनि आफूलाई उक्त पदका लागि चयन गर्ने आग्रह गरे।
‘के सोचेको, कहाँ हुन्छ साथी यो पद! अब तिमीसँग दशैंमा टिकाको आशिष थाप्नुपर्ने दिन आयो? अहँ, हुन्न।’ सहजै लेखुले उत्तर दिए।
प्रकाशित: २१ फाल्गुन २०७९ ०६:३५ आइतबार