माहिली मुखिनीको स्वभाव अलि कडै खालको हो।
मुख्यौली अर्मपर्म,सघाउ,बेटी आदि चलिआएका चलन थिए। एक दिनको कुरा हो। विष्टको धान कुट्न भनी माकुरी मुखिनी बज्यैको घरमा आइन्। आज जस्तो आधुनिक यन्त्रको जमाना थिएन। पुरानै प्रविधि ढिकी-जाँतोको चलन। माकुरीले कुट्ने मुखिनीले लुडी लाउने काम यसरी नै अगाडि बढ्थ्यो। कुरै कुरामा सुरबेसुर केमा हो माकुरीले मुखिनीका छोरासँग आफ्नी छोरीको विहेको प्रस्ताव राखिन्। माकुरीका कुराले मुखिनीले दिउँसै तारा देखिन्।
उनले डाँकोले टिपिन्,‘हैन के भन्छे यो!’
‘के नहुनी भनेकी चु र! हउरका छोरा र मेरी छोरीको बिया अरम भनेको!’
मुखिनीले राता आँखा पार्दै भनिन्,‘तँ त बौलाएकी त छैनस्!’
काम सकीवरी माकुरी घरतिर लागिन्। साँझपख मुखिया बाजेको सवारी भयो। मुखिनी बज्यैले दिउँसोको नालीबेली सुनाइन्। कम बोल्ने, छिटो प्रतिक्रिया नदिने मुखिया बाजेको स्वभाव अचम्मको। उनी टाउको मात्र हल्लाई केही जवाफ दिएनन्।
‘भोलि सब ठिक हुन्छ।’ बस यत्ति वाणी छुट्यो।
राति उनले ढिकीको खाँबोमुनि गाडेर राखेको पैसाको पोको अन्यत्र सारिदिए। यसको सुइँको कसैले पाएन।
भोलिपल्ट माकुरी नियमित काममै मुखिनीकोमा आइन्। हिजोको बाँकी धान कुट्नुपर्ने। ढिकी कुट्दै गर्दा मुखिनीले हिजोको प्रसंग उठाइन्। यसपटक भने माकुरीले सर्मिन्दाले मुख छोपिन्।
-त्यसो भनेको भए माफ अर्नु। घरिघरि मेरो बुद्धि के हुन्छ कुन्नि! शिवशिव, कहाँको घुरी कहाँको बलेनी!
त्यतिबेला मुखिनी बज्यै खुसी देखिइन् तर माकुरीमा परिवर्तन कसरी आयो उनलाई पत्तै भएन।
प्रकाशित: २० फाल्गुन २०७९ ०६:१७ शनिबार