कला

पोखरामा पहिलोपटक लघुकथा लेखन प्रशिक्षण

साहित्यिक राजधानी पोखरामा पहिलोपटक एक दिने लघुकथा लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। गण्डकी प्रज्ञाप्रतिष्ठान र पोखरा प्रतिष्ठानको सहकार्य तथा लघुकथा प्रतिष्ठान पोखराको आयोजनामा सो प्रशिक्षण कार्यक्रम गरिएको हो।

छोटो हुँदैमा लघुकथा हुँदैन, यसको लेखन विधिविधान बेग्लै छ। प्रतीकात्मक र व्यंग्यात्मक यसको मूल पक्ष हो। त्यसैले लेखनशैली त्यति सजिलो छैन, अथक मेहनत र साधानापछि गहिराइले हरेक व्यक्तिको जीवनशैलीमै यसले प्रभाव पार्दछ।

प्रमुख अतिथि तथा गण्डकी प्रज्ञाप्रतिष्ठानको कुलपति सूर्य खडका बिखर्चीले संगीत, नाट्य र कविता जस्ता विषयभन्दा आख्यान क्षेत्रको एक गहना लघुकथा भएको हुँदा आगामी दिनमा पनि पोखरामा हुने यस्ता प्रशिक्षण कार्यक्रमलाई आफूले सक्दो सहयोग गर्न प्रतिबद्ध रहेको बताए।

पोखरा प्रज्ञाप्रतिष्ठानका कुलपति पद्मराज ढकालले लघुकथा प्रशिक्षणमा सिकेको सीपले व्यवहारमा उतार्न आग्रह गरे। उनले भने, ‘हामीले प्रशिक्षणमा सिकेको कुरा व्यवहारमा उतार्नुपर्छ। थोरैमा धेरै कुरा भन्न सकिने सामर्थ्य भएकाले लघुकथाको लोकप्रियता बढ्दै गएको छ।’

पोखरा प्रज्ञाप्रतिष्ठानका कुलपति पद्मराज ढकालले लघुकथा प्रशिक्षणमा सिकेको सीपले व्यवहारमा उतार्न आग्रह गरे। छोटो विषयवस्तुले धेरै कुरा समेट्ने हुँदा यसको लोकप्रियता बढ्नुकोे कारण यसमा थोरैमा धेरै कुरा भन्न सामाथ्र्य लघुकथामा हुन्छ, ढकालले थपे।

अर्का अतिथि साहित्यककार सरुभक्तले पोखरामा आख्यानसम्बन्धी यस्ता प्रशिक्षण कार्यक्रमले लेखकहरूलाई ऊर्जाशील बनाइराख्ने बताए।

‘लघुकथा कुंदिएको ढुंगाको मूर्तिजस्तै हो, जति सीप लगाइन्छ, मूर्तिले त्यति नै आार्षक हुन्छ। लघुकथा त्यस्तै हुन्छ।’ प्रमुख प्रशिक्षक श्रीओम श्रेष्ठ रोदनले भने।

लघुकथाका सैद्धान्तिक पक्षलाई ध्यान दिएर लेखिएका कथाहरू बढी चोटिला हुन्छन, श्रेष्ठले बताए। नेपालमा २००७ सालदेखि पूणर्प्रसाद ब्राह्मणले लघुकथा लेख्ने प्रचलन चलाएपछि हालको दिनमा विद्युतीय माध्यममा पनि लघुकथा पाठशाला, आधुनिक लघुकथा, लघुकथा जस्ता संस्था सक्रिय रहेका छन्।

अल्पविराम पोखरेलीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रशिक्षक प्राडा भवानीप्रसाद पाण्डेले आजका लघुकथा र चुनौतीबारे प्रशिक्षण गराए भने लघुकथाकार कल्याण पन्तको लघुकथा लेखनशैलीबारे प्रस्तुति रहेको थियो।

सहभागीका तर्फबाट प्रशिक्षार्थी संगीता गौतम तिमिल्सिना र शिवु ढकालले मन्तव्य राखेको थिए भने लघुकथा प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मण थापाले संस्थाका गतिविधिका बारेमा जानकारी दिएका थिए। त्यस अवसरमा प्रशिक्षार्थीहरूले लघुकथा वाचन समेत गरेका थिए। पोखरामा आख्यान विधा पछि परेको सर्वत्र महसुस भएपछि २०७४ साल चैत्रदेखि लघुकथा प्रतिष्ठानले नियमित रुपमा हरेक महिनाको पहिलो शनिवार लघुकथा वाचन गर्दै आइरहेको छ।

प्रकाशित: १५ फाल्गुन २०७९ ०५:५० सोमबार

अक्षर