कला

साहित्यकार शर्मा सम्मानित

पर्साका साहित्यकार डा. विश्वम्भर शर्मालाई रौतहटमा सम्मान गरिएको छ। रौतहटको चन्द्रनिगाहपुरमा एक कार्यक्रमबीच डा. शर्मालाई शिव-सावित्री सम्मान २०७९ प्रदान गरिएको हो।

बज्जिका भाषाभाषी क्षेत्र सर्लाहीमा जन्मिए पनि डा. शर्मा नेपाली र भोजपुरीमा कलम चलाउँदै आएका छन्। वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा नेपाली विषय अध्यापनरत डा. शर्मालाई दोसल्ला ओढाएर सम्मानपत्रसहित ११ हजार १११ रूपैयाँले सम्मान गरिएको हो।

सम्मान ग्रहण गर्दै डा. शर्माले आफू सम्मानित हुँदा भाषा र साहित्यको जिम्मेवारी आफूमाथि थपिएको अनुभूति भएको बताएका छन्। हास्यव्यंग्यप्रधान फित्कौली डट कमका प्रधान सम्पादक नरनाथ लुइँटेलले डा. शर्मालाई सम्मान गर्दै साहित्यलाई अभिव्यक्तिको माध्यम बनाउन उपस्थित सबैलाई आग्रह गरेका छन्।

शिव-सावित्री प्रतिष्ठान नेपाल र बुढ्यौली साहित्य समाज रौतहट–सर्लाहीको संयुक्त आयोजनामा भएको कार्यक्रममा मकवानपुर, रौतहट, सर्लाही, रूपन्देही, चितवन, खोटङ, महोत्तरी, बारालगायतका जिल्लाका साहित्यकारको सहभागिता रहेको थियो।

प्रकाशित: १५ फाल्गुन २०७९ ०२:५७ सोमबार

अक्षर