कला

नारी दिवस

लघुकथा

अन्जु शर्मा

-आस्था, आज नारी दिवसको छुट्टी छ। सबै छोरी र ज्वाइँहरू आउने कुरा छ। पुलाउ र मासु तयार पार्नु। बाबुलाई रामेश्वरबाट मिठाई पनि ल्याउन भन्नू। छोरीहरूलाई औधी मनपर्छ। म कार्यक्रम सकाएर सकेसम्म छिटो आउँछु।

आस्थाले तुरुन्तै जवाफ लगाइन्,‘मेरो पनि बल्ल छुट्टी भाछ। एक्ली आमालाई नभेटेको धेरै दिन भयो। म पनि आज माइत जान्छु। हजुरका छोरीहरूलाई हजुरले नै हेरे हुन्न र आमा?’

रिनाले मुख रातो पार्दै भनिन्, ‘हन,कस्ताकी छोरी हो! नन्द-आमाजूको त नामै लिनै हुन्न। उबेला यी लभ गरेका थाङ्नेबाट व्यवहार गर्न गाह्रो हुन्छ भन्दा छोराले मानेन।’

‘बेमतलब मलाई किन गाली गर्नुहुन्छ? नारी अधिकारकर्मी भनेर आफूलाई चिनाउँदा अनि नारी हकहितका बहस गर्दैगर्दा किन छोरी र बुहारीमा समानता देख्नु हुन्न? बुहारी पनि कसैकी छोरी हो भन्ने कुरा अधिकारकर्मीको सोचमा पर्दैन भने नारी दिवस मनाउनुको के औचित्य छ!

सासू र बुहारीको चर्काचर्की सुनेर भित्रबाट रोहन झर्किदै थियो, ‘एउटै घरमा दुई महिला मिल्न नसक्ने अनि सारा दोष जति पुरुषलाई दिने!’

प्रकाशित: १२ फाल्गुन २०७९ ०७:१७ शुक्रबार

अक्षर