इन्दिरा चापागाईं
‘म नेपाली हुँ। मसँग नेपाली नागरिकता छ; जग्गाधनी पुर्जा छ।’ अरविन्द पागलजस्तै चिच्यायो।
धेरै परको सीमास्तम्भ धेरै वर सारिएको थियो। जसले गर्दा हिजो राति आफ्नै घरमा सुतेको ऊ बिहान बिउँझिंदा पारिको भैसकेको थियो।
‘चूप रहो हम सब व्यवस्था कर्देंगे’ सरकारी पोशाकधारी सुरक्षाकर्मी उसलाई लोभ्याउँदै थिए।
‘तिमीहरूले सीमास्तम्भ सार्दैमा हुन्छ? यो नेपालको जमीन हो।’ खलखल पसीना पार्दै सीमास्तम्भ उखेल्न थाल्यो। सुरक्षाकर्मी रिसले चूर भएर उसमाथि लाठी बर्साउन थाले।
‘मेरो ज्यान जाओस् तर तिमीहरूको ज्यादतिविरुद्ध लडिरहन्छु। कुनै पनि हालतमा हाम्रो जमिन अरूलाई दिन्न। जतिसुकै सुविधा र सम्पन्नता देऊ न म तिम्रो नागरिक हुन सक्दिनँ।’
ऊ सुरक्षाकर्मीसँग जाइलाग्दै सक्दो प्रतिकार गर्यो। अझ बढी त आफ्नो सरकारमाथि आशा र भरोसा गर्यो।
सुरक्षाकर्मीले उसलाई पक्रेर नियन्त्रणमा लिए र‘इसे मारो’ भन्दै बन्दुकको निसाना लगाउँदै थिए।
उता सिंहदरबारमा वार्षिक नीति कार्यक्रम पेश भैरहेको थियो। अघिल्ला थुप्रै वर्षमा जस्तै यसपटक पनि उही वक्तव्य आयो, ‘सीमा सुरक्षामा कडाइ गरिनेछ। सीमास्तम्भ व्यवस्थित गरिनेछ।’
प्रकाशित: ८ फाल्गुन २०७९ ०३:४९ सोमबार