कला

कमाइको मूल्य

लघुकथा

अनु विज्ञाति

जतिबेला मान्छे हिंडेर सबै ठाउँ पुग्थे, त्यतिबेला ऊ साइकलबिना हिंड्दैन थियो। जब मान्छे साइकलमा हिंड्न थाले तब उसले बाबुको मोटरसाइकल नहुँइक्याई एक पाइला चालेन।

उसँगै काठमाडौं पढ्न गएका गाउँका अरू साथीहरू नाइट बसमा लखतरान भएर घर फर्कदा ऊ भने चट्ट परेर प्लेनमा आउँथ्यो।

अरू चोकबाट हिंड्दैहिंड्दै घर पुग्दा ऊ टक्क रिजर्भ अट्टोबाट घरको आँगनमा झर्थ्यो।

उनीहरूको घरको आर्थिक अवस्था औसतभन्दा कम हुँदा त ऊ त्यस्तो थियो भने अब त झन् आफैं जागीरे भएको थियो। पक्का पनि रिजर्भ कार लिएर आउँदो होला।

मनमा कुरा खेलाउँदै मैले बाटाछेउ उभिएर आएका राम्रा कारहरू हेर्न थालें।

उसले चोक आइपुगें भनेर फोन गरेर पनि निकैबेर भइसकेको थियो तर ऊ आइपुगेको थिएन।

आएका राम्राराम्रा कार त्यहाँ नरोकिई हुँइकिरहेपछि मनमा शंका लाग्यो, ‘कतै घर कटेर त गएन!’

मैले फेरि फोन गरें। उसले नजिकैको चौतारामा आइपुगेको बतायो।

‘ए त्यहीं हुनुपर्छ।’ मैले आउँदै गरेको चिल्लो कार नियालें तर होइन रहेछ। त्यसपछिका दुईतीन कार पनि त्यहाँ नरोकी हुइकिएपछि म अचम्ममा परें। चौताराबाट यहाँसम्म आउन यतिबेर लाग्छ र!

त्यतिबेलै अलि पर मैले देखें, ऊ त सकीनसकी ठूलो ब्याग बोकेर पसीना चुहाउँदै लुखुरलुखुर हिंडेर पो आउँदै रहेछ।

प्रकाशित: ७ फाल्गुन २०७९ ०७:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App