विवेक दुलाल क्षेत्री’दमक’
के सोच्दो हो
प्रणय दिवस भनेर
पसलले आफ्नो पसलअघि
बोटबाट छुट्याएर बेच्न राखेको
गुलाबको फूल?
कस्तो अनुभूतिमा
मनमनै गोता खाँदो हो
आफ्नै हाँगाबाट फूल टिपेपछि
बाँकी फूलको बोट?
अथवा बहुराष्ट्रिय कम्पनीको
उत्पादनमुखी सुपर मार्केटमा
सजाएर राखेका प्लास्टिकका गुलाबका गुच्छाहरू
पैले पसलेले अनि
किनिसकेछ पोस्टमोर्डन युवायुवतीका हातले
सो कहलित ‘भ्यालेन्टाइन डे’ भनेर छुइँदा
निर्जीवताको पराकाष्ठाको
अझ कति बढाउँदा हुन् आयतन?
म यस्तै सिलिङबिलिङ मनोदशामा
रुमलिरहेको बेला
शहरको बिच भागमा
तिम्रो उपस्थिति भयो मेरोसामु
सहषा तिमी मुस्कुरायौ
म पनि मुस्कुराएँ
तर, तिमीसित ‘भ्यालेन्टाइन डे’को
अपेक्षा थिएन मसित
मसित पनि तिमीलाई दिन भनेर
कुनै फूल थिएन
गुच्छा थिएन
खालि मनको सामीप्यबाहेक!
मैले तिमीलाई सायदै
तिमी छ/सात वर्ष हुँदादेखिकै
चिनेजानेको हो
एउटा महँगो फूलले सायद
हाम्रो परिचय अझ बढाउँदैन होला
तिमीले पनि मलाई
विद्यालय पढ्दैदेखि बोलेकी हौ
र, ‘ह्याप्पी भ्यालेन्टाइन डे’ नभनेकै भरमा
हाम्रो आपसी सद्भावको जरा
हल्लाउँदैन पनि होला
प्रेम देखिने चलचित्र होइन
अनि प्रेम कुनै चटकीको जादु पनि होइन
जीवनको उत्सर्गता समर्पण हो
सहअस्तित्व र संघर्ष
अनि सामूहिक बुझाइ हो
वर्षमा एकदिन आउने प्रणयदिवस
हाम्रो उच्च प्रेमको मानक कसरी होला
मेरी ग्रामीणवाला तिमी नै भन त!
पैसाको चास्नीमा रुमलिनु
उचनिचको सोचमा तैरिरहनु
सोसोयल मिडिया र प्रविधिमा
रातदिन अभ्यस्त हुनु
प्रेमको पर्याय हुँदैन र हुँदैन पनि प्रिया!
बरु ‘क ’ देखि ‘ज्ञ ’ सम्म छन्
रोमियो-जुलियटहरू
‘ए ’ देखि ‘जेट ’सम्म छन्
मुनामदनहरू
तर, प्रेमको बिचमा व्यापार आउनु हुन्न
गाउँ र शहरको भेद रहनु हुन्न
हेर मलाई ‘भ्यालेन्टाइन डे’ को
अभिनय गर्न आएन भनेर अप्ठेरो
नमान है
साँच्चि,
विवेकशील कोपिला!
तिम्रो रित्तो सिउँदोमा
मैले राखिदिएको एक पसर धुलो पनि
तिमीले ठान्नु
मैले तिमीलाई
आफ्नो जिन्दगी सुम्पिएको बाचा हो भनेर
चोकमा निर्निमेष कति हेरिरहनु
अनि कति मुस्कुराई मात्र रहनु
प्रेमको अन्तर्यमा
‘भ्यालेन्टाइन डे’ र गुलाबबेगर पनि
अनुभूति हुँदोरहेछ
होइन र मेरी हृदयेश्वरी!
साँच्चै भन त
मेरी शाहा ज्यादी!
बहुराष्ट्रिय बजारको सुपरमार्केटअघि
गुलाबका फूल किन्न भनेर
उभिएका युवायुवतीहरू
‘ह्याप्पी भ्यालेन्टाइन डे’ भन्नुअघि
प्लास्टिकका गुच्छाहरू देख्दा के सोच्दा हुन्?
प्रकाशित: ३ फाल्गुन २०७९ ०४:३५ बुधबार