कला

'लाल जोडी'मा कमेडियनको भीड

काठमाडौं- कमेडी फिल्म 'लाल जोडी'को पहिलो झलक सार्वजनिक भएको छ। नक्कली बाबुराम भट्टराईका रुपमा दर्शकमाझ चिनिएका कलाकार ज्योति काफ्लेको प्रमुख भूमिका फिल्ममा हेर्न पाइनेछ। उनले नक्कली बाबुरामको गेटअपलाई निरन्तरता त दिएकै छन्, त्यसबाहेक 'हिरो'को अवतार पनि धारण गरेका छन्।

पत्रकार लक्ष्मण सुवेदीद्वारा निर्देशित 'लाल जोडी'को सवा तीन मिनेट लामो ट्रेलर शुक्रबार रिलिज गरिएको छ। ट्रेलरमा नेपाली टेलिभिजन दुनियाँमा चम्केका हास्य कलाकारहरुको भीडभाड देखिन्छ। बुद्धि तामाङ (हैट), किशोर भण्डारी (डिट्ठा साब), रेश्मा तिमल्सिना (बुनु मैचा)लगायतका ठट्यौली मिश्रित ट्रेलरमा अभिनेत्री रजनी केसीको लट्काझट्का पनि समावेश छ।

'परदेशी गर्ल'को पहिचान बनाएकी रजनीका लागि आगामी भदौ १७ दुवै हातमा लड्डु साबित भएको छ। उक्त दिन रजनी अभिनित 'लाल जोडी' र 'ब्रासलेट' नामक दुई फिल्म एकसाथ रिलिज हुँदैछन्। उनले अभिनय गरेका अघिल्ला मुख्य फिल्ममा 'लोफर' र 'परदेशी' मानिन्छन्।

निर्देशक सुवेदीकै लेखन तथा निर्माण रहेको 'लाल जोडी'मा रामेश्वर कार्कीको छायांकन, नवीन निरौलाको सम्पादन, रामजी लामिछानेको नृत्य, अष्ट महर्जनको फाइट हेर्न पाइन्छ। फिल्ममा आयुष्मा कार्की, पुरन थापा, गोविन्द कोइराला, मधुसुदन पाठक, सिपी पौडेल, यादव पुडासैनी, ज्याक श्रेष्ठ, सुशील पँगेनी, दयाराम अग्रवाल र राजकुमार शाहले समेत अभिनय गरेका छन्।

प्रकाशित: १७ श्रावण २०७३ ०३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App