कला

‘पुरानो डुंगा’को पहिलो झलक सार्वजनिक

काठमाडौं– ‘कबड्डी’ समूहको तेस्रो फिल्म ‘पुरानो डुंगा’को पहिलो झलक शुक्रबार सार्वजनिक भएको छ। रामबाबु गुरुङद्वारा निर्देशित ‘पुरानो डुंगा’लाई केही समयदेखि नै प्रतीक्षित फिल्मको सूचीमा राखिएको छ। फिल्म मंसिर १० मा नेपालभर रिलिज हुँदैछ।

शुक्रबार फिल्मको पोस्टर, केही दृश्य र गीतको अंश रिलिज गरिएको छ। कालीप्रसाद बास्कोटाद्वारा कम्पोज गरिएको गीतमा दयाहाङ राई र प्रियंका कार्कीका रोमान्टिक दृश्यहरु हेर्न पाइन्छ। सबै दृश्य पोखराका छन्।

फिल्मले पोखराको बेगनास तालवरपरका दुई भाइबीचको सम्बन्धलाई कथा बनाएको छ। दाइको भूमिकामा पोखरेली रंगकर्मी तथा गुरुङ फिल्मका स्थापित नाम माओत्से गुरुङले अभिनय गरेका छन् भने दयाहाङ भाइ बनेका छन् । फिल्ममा माओत्सेको नै मुख्य लगानी रहेको छ । रौनकविक्रम कँडेल, ओमचन्द रौनियार र घनबहादुर गुरुङले माओत्सेलाई निर्माण कार्यमा सघाएका छन्।

‘कबड्डी’का दुई शृंखलाझैं ‘पुरानो डुंगा’ पनि निर्देशक रामबाबुले कवि उपेन्द्र सुब्बासँग मिलेर लेखेका हुन्। शैलेन्द्र डि कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन रहेको फिल्ममा मेनुका प्रधान, डिबी गुरुङ, बुद्धि तामाङ, पुष्कर गुरुङ, मणिराम पोखरेललगायतले पनि अभिनय गरेका छन्।

 

प्रकाशित: ३१ असार २०७३ १०:३६ शुक्रबार

पुरानो डुंगाको पहिलो झलक सार्वजनिक