कला

मंगलबार खुशी फाट्दा

‘पोहोर साल खुशी फाट्दा, जतन गरी मनले टालें
त्यही साल माया फाट्दा, त्यसलाई पनि मनले टालें
यसपाली त मनै फाट्यो, केले सिउने केले टाल्ने हो’

नेपालमा कुनै पनि गीत सिर्जना पछाडिका कथा विरलै सुनिन्छ । तर माथिको  गीत यस्तो थियो जुन गीत सिर्जनाका कथाहरू लामो समय सुनिन्थ्यो सुनाइन्थ्यो । ती कथामध्ये सबैभन्दा बढी प्रचलित थियो– यो गीत अरुणा लामाले एक वर्षकै अन्तरालमा पति शरण प्रधान र छोरा गुमाएपछि गीतकारसँग गीत लेख्न अनुरोध गरिन् र गाइन् अनि संयोगवश यही गीत उनको जीवनको सर्वाधिक चर्चित गीत बन्यो ।


तर मंगलबार गीतका रचनाकार राजेन्द्र थापाले यसका संगीतकारलाई श्रद्धाञ्जली दिँइरहँदा गीत रेकर्डका बेला मात्र नभइ हिट भएर अरुणाको वाहवाही भइसक्दा समेत उनीसँग भेट नभएको बताए । पहिले ‘नौ लाख तारा’ र पछि राष्ट्रगानका कारण नेपालीमाझ श्रद्धेय बनेका अम्बर गुरुङले नै यो गीतमा पनि संगीत भरेका थिए भन्ने हेक्का कतिपयलाई नहुन पनि सक्छ । तर हिट गीतको एक्लो श्रेय अरुणाले पाएकी थिइन् र यही गीत उनको स्वरको पहिचान बनेको थियो । गायिकापछि मात्र गीतकार राजेन्द्र र संगीतकार अम्बरले श्रेय पाएका थिए ।


थापा र अम्बरको पहिलो भेट २०३१ सालमा पोखरामा भएको थियो । अम्बर राजा वीरेन्द्रसँग गएको संगीत टोलीको नेतृत्व गरेर पोखरा पुगेका थिए भने त्यसबेला नेपाली सेनाका कप्तान थापा पनि राजाकै सवारीका लागि त्यहाँ तैनाथ थिए ।
‘समय र परिवेश त सम्झना छैन, तर मैले आफ्नो परिचय दिँदा उहाँले मेरा कविता पढेको र तुलसी दिवससँग चर्चा गर्ने गरेको बताउनु भएको थियो । उहाँले कुनै गीत भए दिनुस्न भनेर माग्नु भएको थियो,’ थापाले पुराना दिन सम्झँदै भने, ‘त्यसपछि फेरि हाम्रो भेट भएन । म पछि अमलेखगन्ज गएँ । एकदिनका लागि काठमाडौं आएका बेला एउटा साथीले अम्बरको संगीतमा हरिभक्त कटुवालको गीत रेडियो नेपालमा रेकर्ड भइरहेको बताएपछि उहाँसँग भेट गर्न रेडियो नेपाल गएँ । त्यहाँ पोखिएर घामको झुल्का भन्ने गीत नारायण गोपालको स्वरमा रेकर्ड भइरहेको थियो । त्यहीं मैले पोखरामा भएको कुराकानी स्मरण गर्दै गीत ल्याएको बताएँ । उहाँले दुईपल्ट पढ्न लगाउनु भयो । मैले पढेपछि उहाँले एक शब्द नबोलि कागज थुतेर लानुभयो । नारायण गोपालसँगै हुनुहुन्थ्यो । उहाँ पनि अम्बरको पछिपछि जानुभयो । म अलमल्ल परेर फर्केँ ।’


त्यसपछि थापा फेरि अमलेखगञ्ज फर्के । अम्बरको प्रतिक्रिया थाहा पाउन मन लागे पनि प्रतिक्षा गर्नुबाहेक अर्को विकल्प थिएन उनीसँग । फेरि राजधानी आएको मौका छोपेर उनी अम्बरको घर हान्निए । त्यहाँ अम्बरसँग भेटेपछि बल्ल उनको छटपटी शान्त भयो । अम्बरले त्यसदिन केही नभनी हिँड्नुको कारण बताए, ‘तिमीले गीत सुनाउँदा सुनाउँदै त्यसको संगीत फु¥यो । त्यही भएर नबोली घर हिँडेको थिएँ । संगीत तयार पारेँ । त्यसमा चित्त बुझेन र २२ वटा संगीत तयार पारेँ । तर अन्त्यमा पहिलो नै चित्त बुझ्यो र रेकर्ड गर्न ठिक्क पारेको छु । नारायणले गाउँछु भनेको छ ।’


गीत रेकर्ड हुने कुराले थापा फुरुंग परे । उनी अमलेखगन्ज फर्के । केही समयपछि काठमाडौं आउँदा त उनको गीतले तहल्का पिटीरहेको रहेछ । तर गीतमा स्वर भने नारायण गोपाल नभएर अरुणा लामाको रहेछ । थापाले अम्बरसँग जिज्ञासा राखे, ‘नारायण गोपालले गाउने गीत अरुणाको स्वरमा कसरी आयो ?’ अम्बरले दुःखी हुँदै उत्तर दिएछन्, ‘तिम्रो गीतले नारायण र मेरो झगडा गरायो नी !’


कुनै पनि गीतलाई आफ्नो स्वर नदिन भनेर बसेकी अरुणालाई एक दिन अम्बरले थापाको गीत सुनाएछन् । अरुणालाई गीत यत्तिधेरै मनपरेछ कि यही गीत गाउने जिद्दी गरेर एक दिन सबेरै पाँच बजे अम्बरको घर पुगिछन् । ‘माया लागेर अम्बर दाइले गीत अरुणालाई गाउन दिनु भएछ । उता नारायण दाइ आगो । गोपाल योञ्जनसँग मनमुटाव भएर नारायण दाइ अम्बर दाइनजिक हुनुभएको थियो । यो गीतले अम्बर दाइसँग पनि फाटो ल्यायो,’ थापाले मंगलबार सुनाए । उनले गीत रेकर्ड हुनुअघि नारायण गोपालले गाउने थाहा पाएका थिए । ‘तर पछि गीतमा अरुणाको स्वर सुन्दा छक्क परेँ,’ थापाले गीतको रचनागर्भ खोतल्दै भने ।


यसरी थापाको पहिलो गीत धेरै चर्चित भए पनि अम्बरले थापाका जम्माजम्मी ४ वटा गीतमा मात्र संगीत भरेको जानकारी दिए । तीमध्ये पनि दुईटा कहिल्यै सार्वजनिक भएनन् । सार्वजनिक भएको गीत ‘तारा खसेछ’ भने प्रेमध्वज प्रधानका चर्चित गीतमध्ये एउटा भयो ।


दुई गीत ‘फेरेको सास बिरानो लाग्छ’ र ‘उडेर आए’ भने अम्बरले आफ्नै स्वरमा रेकर्ड गराएका थिए । तर आफ्नो स्वर आफैंलाई मन नपरेको भन्दै उनले ती गीत सार्वजनिक नगरेको थापाले बताए । सार्वजनिक नभए पनि गीत ‘उडेर आए सलहका हूल’ २०३६ सालमा  फिलिपिन्समा आयोजित युनेस्को सम्मेलनमा ‘टप टेन’ भित्र प¥यो । त्यो गीत पछि ‘सङ्स अफ एसिया’ एल्बममा पनि समेटियो ।


अम्बरको सांगीतिक यात्राको समीक्षा गर्दा थापा अम्बरको क्षमताको अधिकतम उपयोग हुन नसकेको बताउँछन् । ‘उहाँलाई पश्चिमी संगीतको राम्रो ज्ञान थियो र उहाँको संगीतमा रविन्द्र संगीतको प्रभाव देखिन्थ्यो । तर छोटो समयमा पनि गोपाल योञ्जनले नेपाली संगीतमा जति योगदान छ त्यसको तुलनामा क्षमताका आधारमा उहाँको योगदान थोरै हो भन्ने मेरो ठम्याइ छ,’ थापाले भने । थापाले नेपाली सुगम संगीतमा तीन धार रहेको र अम्बरले दोस्रो धारको नेतृत्व गरेको बताए ।


‘अरुले जे सुकै भने पनि म सुगम संगीत २००७ साल पछि सुरु भएको मान्छु– खासगरी रेडियो नेपालको स्थापना भएपछि । त्यसबेला नेपाली गीत जनमानसमा लोकप्रिय बनाउन नातिकाजीको ठूलो योगदान छ । उहाँले संगीतमा नेपाली झ्याउरे लय घोलेर जनमानसबीच गीतको लत बसाइदिनु भयो । त्यसैले पहिलो धारा नातिकाजीलाई मान्छु । दोस्रो धारा अम्बर दाइको भयो र तेस्रो धारा गोपाल योञ्जनको जसमा पूर्वपश्चिम सबैको मिश्रण पाइन्छ,’ थापाले भने । उनले अम्बर गुरुङलाई अरुले गायक, संगीतकार र गीतकारको त्रिवेणी भने पनि आफू भने अम्बरको संगीतकार छविसँग मात्र सन्तुष्ट हुन सकेको बताए ।

 

प्रकाशित: २६ जेष्ठ २०७३ १०:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App