श्रीओम श्रेष्ठ ‘रोदन’ सम्पादित समकालीन नेपाली निबन्ध लोकार्पणबाट ओझेलिनुपर्यो। वयोवृद्ध हुनु त छँदै थियो। जेष्ठ नागरिक अर्वाचीन। वयोवृद्ध पारम्परिक। कुलायन तन्त्रमूलक। मध्यस्थ पन्थी रहें। परम्पराले आधुनिक। अर्वाचीन आधुनिकता प्रजनन गर्दाे सृष्टिको सृजना। वयोवृद्ध जेष्ठ नागरिक रहनु तन्त्रमय रहनु। सृजनशील मनमय नागरिक जीवन बाँच्नु सृष्टिकै पूजक बन्नु। मतदान तन्त्रका चलखेलमा होमिन्छु यतै। ‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत, धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे’ गीता महात्म्य झकझक्याउँछ मनलाई। मन मेरो यतै लहसिन्छ। लहसिनु आत्मपरक चिन्तन!
‘समकालीन नेपाली निबन्ध सङ्ग्रह’का ४५ निबन्धका प्रसङ्ग। ती सबै आत्मपरक कोटिमा दरिएका रहेछन्। सबै निबन्धका शीर्षक, रचनाकारका नामावली पारायण गरें। सबैभन्दा पुछारमा ‘शब्द हराएको साँझ’ निबन्ध पाएँ। अनिता न्यौपाने श्रव्य। सबैका जन्ममिति-उमेर उल्लेख छन्। अनिता अर्याल मात्र छुटेकी। लक्ष्मणप्रसाद गौतमलाई सम्झेँ झल्याँस्स। ‘दाइ ! यस सँगालोले हजुरबुबा पुस्तादेखि नातिनातिना सबै समाहित गरेको छ।’ अनिता अर्याल नातिना पुस्तेनी भएरै निचोडमा परेकी होलिन्। मनको अठोट सिद्धियो। जेष्ठ नागरिक अठोट ठिकै साबितिए। सानातिना कुराले पनि मन हल्लाउँदो ताजा अनुभूति बन्यो।
आत्मपरकता स्वच्छन्द हुन्छ। स्वच्छन्दता निर्बन्ध। निर्बन्धताको स्वभाव स्वरूप विचरण गर्नु। विचरण गर्ने मन मस्तिष्क उडान भर्छ आफै रोकतोकविहीन। मन मस्तिष्कले सोचे चाहेजस्तै! सर्जक-स्रष्टा, कलाकार उन्मुक्त चिन्तनचैतन्य चेत अँगाल्दै सृजनशील रहन्छ। सृजनशीलताको अन्तर्य उन्मुक्ति बन्छ। बनेकै हुन्छ। सृजनाको महिमामय मन्त्र गायनको गोपनीयता यतैकतै उद्यत रहन्छ। तब त उनीहरू स्रष्टा सर्जक बन्छ, हुन्छ, रहन्छ नै। हेर्ने देख्ने बाह्य अंग-अवयव त आँखा। वास्तविक वस्तुको मूलभूतस्वरूप अवलोकन गर्ने अन्तरदृष्टि। दिव्य दृष्टि भन्छौं त्यसलाई। दिव्यदृष्टिलाई अन्तरदृष्टि भन्छौं। अन्तरदृष्टि नखुली दिव्य दृष्टि बन्दैन। त्यसैले नै हो सर्जकका सृजनालाई युग युगान्तर सजीव बनाउँछ। कालजयी बनाउँछ। लक्षण कालजयी सृजनाको मृत्युञ्जयी मुहुर्त यस्तै, यस्तै उस्तै !
४५ आत्मपरक निबन्धका आआफ्नै अभिव्यञ्जना रहेबनेका छन्। पाठकवृन्दका चिन्तनचेतअनुरूप। कुनैमा निबन्धात्मक अभिव्यञ्जनामा सांस्कृतिक संचेता भरेका छन्। कसैले पुस्तकैमा विणाका ध्वनि घामको झुल्कैमा झङ्कृत सुमधुर गुञ्जन पाउँछन्। लाग्छ यिनै प्राप्ति आत्मपरकताका विलक्षण चमत्कार। कोही मन मस्तिष्कलाई भावुकताको तरेलीमा मस्तमस्त तरंगिएर तरंगित रहन्छ। आत्मपरकताको अन्तरात्मा यतै फक्रिएको भेट्टाउँछु। आत्मपरकता नभन्न कहाँ पाइन्छ मनमनै कथ्छु। आफैसित अनवरत। थाम्नै नसकी। आत्मपरकताका आफ्नै आयामिक आयाम! आत्मपरकताका आयाम आफ्नै नहुँदा हुन् प्रत्येक सर्जक स्रष्टाका अभिव्यक्ति व्यक्तिपरक नहुँदा हुन्...! सबै मैसित रूपाकृत कहाँ हुन्छन् र छन्? एकैखाले लिङ्गीबीच सम भावनाभूति पाइएका छन्? जन्मजात जुम्ल्याहाबीच समाचरण छन्? के आत्मपरकताका अर्थ विन्यास व्यक्तिपरक रहेका छैनन्? सृष्टिका सार्थकता आत्मपरकता भन्छु। शिखरवर्ती जीवनवृत्तका चेत पनि मानवाग्नी झलमलाउँदा कर्मठ रहन्छन्। तिनैले आफ्ना मार्ग नैरन्तर्यमा उजागर गर्दै गर्छन्। पर्लकिन्छु आफ्नै अभियान-आचरणमा।
आत्मपरक निबन्धभित्रका ४५ वटै निबन्ध परात्मपरक भेटिन्छन्। एक निबन्ध अर्का सर्जकसित मेल खान्न। मेल खाँदा हुन् त आत्मपरक हुनै सक्दैनन्। अनुकरण-पिछलग्गुवादी हुन्छ। निर्विवाद सत्य यो। निरीह अवस्थामा साना सन्तति पिछलग्गु हुन्छन्। प्राकृतिक–स्वाभाविक अवस्था भन्नैपर्छ। हुर्केपछि तिमीहरू मातापिताका मायालु काख छाडी दौंतरी साथगाथ लाग्छन्। प्राकृतिक विधान यस्तै। विमुखिनु प्रकृतिको शाश्वत लीला यस्तै यस्तै। ‘प्रकृति विरुद्धम् नाचर नियम’ पूर्वीय जीवन दर्शनबोधक छन् दिशा। लोक मान्य तिलक टीको निधारै माँझको। माउ चल्ला अण्डा कोरल्छन्। २१ दिनपछि चल्ला काढ्छन्। चल्ला माउको न्यानो मायालु रापिलो छहारीमा हुर्कन्छन्। प्राकृतिक पर्यावरणमा ओजस्वी छहारी उपभोग गर्छन्। प्रकृतिको लीला। लीलामय प्रकृति। यसमै छ संस्कृति। संस्कृतिका आत्मपरकता। आत्मपरक निबन्धका निर्बन्ध निर्बन्धकारिता।
आत्मपरकता अनमोल स्रोत पैत्रिक-मात्रिक वंशानुगत रहन्छ। रहेकै छ। सन्ततिका नाम मातापिताका स्नेह सरिताद्वारा अनुरञ्जित रहन्छ। हुन्छ भैरहेकै छ। आत्मपरकता अनुराग वंशज विभूति। विभूति मन मस्तिष्क दिव्य धाम दुर दृष्टिका संगम संयोजन बिन्दु निधारैमा लगाइन्छ। सबै मूर्त रूपमा देखेका आत्मपरक अनुभूति रहेका छन्, बनेका छन्। प्रत्यक्ष देखिनु हेरिनु मूर्त रूप। स्पष्ट हेरिनु देखिनु, देखे हेरिएकाभित्रका व्याख्या विवेचना अन्तरनिहीत आफ्ना तर्क, विश्लेषण अमूर्तताभित्रका आत्मपरकता। आत्मपरक निबन्धको क्षितिज उघ्रँदै जान्छ। दिशा बोधगम्य विश्लेषण कुनै श्रव्य दृश्य साधन आत्मपरकता ! चेतन चिन्तनधारी मानव योगी योगिनीले यस धारणालाई रुचीकर, दुर्बोध पत्थर हान्नु मान्नु आत्मपरकता ! आत्मपरकता घामको किरण नि बन्छ। रातको अन्धकार नि...! दृष्टि गोचर बिन्दु बिन्दुमा आत्मपरकता खुल्छ, फुल्छ। आत्मपरकता स्रोत-मुहान प्रत्येक स्रष्टा, पाठक, विश्लेषक, समीक्षक, समालोचक बृन्दका आआफ्नै अन्तराल !
२०१० माघ फागुनतिर महाकवि गुरु लक्ष्मीप्रसाद देवकोटाका मैतीदेवी फाँट। उन्मुक्त खुल्ला खेतबीच। कविकुञ्ज निवासमा अवसर जुर्यो। प्रवेशिका परीक्षा ताजगीकरण शिक्षा निमित्त। निबन्ध रचनाका मुहान मेरो। रमरम रमाउँदै सिकें जानें। प्रतिफल त्यसको वर्तमान मेरो। ठान्छु कृतज्ञतापूर्वक ! कृतज्ञता धर्म निष्ठा ! मानव समुदायकै। अकृतज्ञ बन्नु बैगुण-मनुष्यताकै अपवाद! लाजमर्दाे कलंक। कलियुगे दुच्छरपना। त्यो बेला यौवन अवस्थाको लहलह बालीनालीको मौसम। छाती फुलेको लहसिएर रमझम। मनमा उमङ्ग। बैंशालु तरङ्ग। यस्तैमा महाकवि गुरुको बौद्धिक छहारी। वर्तमानको बीजारोपण त्यसै बेलाको। फसल लागिरहेको नौदशक उन्मुख घाम। तैपनि घामकै मधुरतम न्यानो ताप्ने रहरका लहर लहराइरहन्छन्। जीवनजगत्प्रतिको मादक मोहको महक।
त्यसताका हाम्रा साहित्यिक मित्र मण्डलीहरू जुटेर २०१३ भदौमा बृहत् साहित्य कार्यक्रम चलाएथ्यौं। कार्यक्रम दत्तात्रय मन्दिर प्राङ्गण। काष्ठ कारिगरीका ढुकुटी मठहरू संगमस्थल। मध्यकालका काष्ठ कारिगरीका बेजोड भण्डार! शाह, राजा, प्रजातन्त्र, पञ्चायत गणतन्त्र, लोकतन्त्रको भोगाइ। यी विविध विरुदावलीका कच्चाघानहरूबीचका भुक्तमानले ४५ आत्मपरक निबन्धहरू नेपाली वाङ्मय बटुल्न सकून्। सबैको सौभाग्य बनेको छ। कति आत्मपरक निबन्धकारहरू छुटेका हुन सक्दा हुन्। असम्भव सम्भाव्य रहेको ठान्छु। निराशावादी नबनौं सम्भावनै सम्भावनाका सागरबीच। भवतु सर्व मंगलम!
प्रकाशित: १० मंसिर २०७९ ०३:१९ शनिबार