वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठूलो रकम ठगी गर्ने एक भारतीय नागरिकसहित ५ जनाको गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।
भारतको जोगबनी (विराटनगरसँग सीमा जोडिएको) का २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका–३ का २२ वर्षीय रोहितकुमार पासवान, ३० वर्षीय बुद्धनारायण मलाह, पथरीशनिश्चरे नगरपालिका–५ का २५ वर्षीय वोधराज राजवंशी र विराटनगर महानगरपालिका–८ का २३ वर्षीय करण भनिने अमित रायलाई ठगी गरेको आरोपमा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
उनका अनुसार विराटनगरका बाबुछोरालाई पक्राउ परेकाहरुले विभिन्न देशको विज्ञापन देखाएर राम्रो काम मिलाइ दिनेभन्दै लाखौं रुपैयाँ ठगी गरेको खुलेको छ।
विराटनगर–११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरीलाई क्यानडा पठाइदिने भनेर विभिन्न समयमा अनलाइनमार्फत ६६ लाख ६७ हजार रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। यसरी बाबुछोरा ठगिएपछि उनीहरुले दिएको जाहेरीका आधारमा उनीहरु पक्राउ परेका हुन्।
पक्राउ परेकामध्ये भारतीय नागरिक ठगी गर्ने योजनाका मुख्य योजनाकार रहेको बताउँदै, डिएसपी जोशीले भने, ‘पक्राउ परेको गिरोहले वाट्सएप, टेलिग्राम, भाइबरसमेतका सामाजिक सञ्जालमा विज्ञापन गरेर युरोप, अमेरिका, कुबेत, दुबईसमेतका देश पठाउने भन्दै रकम ठगी गर्ने गरेको पाइएको छ। यिनीहरुले एक बाबुछोरालाई क्यानाडा पठाइ दिने भन्दै अनलाइनमार्फत विभिन्न समयमा ६६ लाख ६७ हजार रुपैयाँ ठगी गरेका रहेछन्।’
पक्राउ परेकाहरुले विदेशी मोबाइल नम्बरबाट खोलिएको वाट्सएपबाट ‘कल’ गरेर भिसाका लागि भनेर आवश्यक कागजातसमेत पठाएर भ्रम एवं प्रलोभनमा पार्ने गरेको डिएसपी जोशीले बताए।
रकम पठाउन विभिन्न व्यक्तिहरुको बैंक खाता, ई–सेवा, खल्तीजस्ता डिजिटल वालेट र बैंकमा खाता प्रयोग गरेको पाइएको छ। यादवले पैसाको प्रलोभन देखाएर पक्राउ परेकाहरुलाई प्रयोग गरेको र सबै प्रकारका खाताको युजर र पासवड यादवले नै चलाउने गरेको अनुसन्धानबाट खुलेको बताइएको छ।
माघ ८ गते ५ जनालाई पक्राउ गरी उनीहरुविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको डिएसपी जोशीले बताए।
प्रकाशित: १५ माघ २०८१ २०:५७ मंगलबार