सान फ्रान्सिस्को– स्मार्टफोन र ल्यापटपका लागि प्रसिद्ध अमेरिकी कम्पनी एप्पलले अक्टोबरदेखि 'स्मार्टवाच' बजारमा उतार्ने भएको छ।
स्मार्टवाचका पार्टपूर्जा आपूर्तिकर्ता र उत्पादनबारे जानकारलाई उद्धृत गर्दै जापानको इन्डेक्स निक्केईले जनाएअनुसार सुरुमा ३० लाखदेखि ५० लाख स्मार्टवाच मासिक उत्पादन गर्ने योजना एप्पलको छ। यसको अन्तिम स्वरूप र आकार तयार पारिने क्रममा रहेको पनि उसले जनाएको छ। कर्भ्ड वाचमा ओएलइडी (अर्गानिक लाइट एमिटिङ डायड) डिस्प्ले हुने अनुमान छ। साथै वाचले ब्लड ग्लुकोज, क्यालोरी कन्जप्सनलगायत सूचना दिनेछ। निदाएका बेलाको स्वास्थ्य गतिविधि पनि अनुगमन गर्नेछ।
कोरियाली कम्पनी सामसङले ग्यालेक्सी गियर वाच बजारमा ल्याएपछि एप्पलले पनि स्मार्टवाच उतार्ने अनुमान लामो समयदेखि गरिएको थियो। तर एप्पलले भने यसबारे केही पनि बताएको छैन। एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले पनि सन् २०१४ मा नयाँ उत्पादन ल्याउने वाचा गरेका थिए।
प्रकाशित: २६ जेष्ठ २०७१ ०८:०७ सोमबार